+
+
Shares
बहसमा प्रत्यक्ष कार्यकारी :

‘पहिले प्रचण्डलाई हेरेर रोकियो, अहिले अर्को अमूक पात्र देखाएर नरोकौं’

संसदीय प्रणालीका सबै मोडेलहरूको टेस्ट भए, अब प्रत्यक्ष निर्वाचित कार्यकारी नै विकल्प

 संसदीय प्रणालीका सबै मोडेल टेस्ट भइसक्यो । अब संसदीय प्रणाली होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी नै विकल्प हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाई स्थिरता र समृद्धिको उपाय मान्दै राजनीतिक बहस अनलाइनखबरले सुरु गरेको छ।
  • खिमलाल देवकोटाले संसदीय प्रणालीले राजनीतिक अस्थिरता मात्र सिर्जना गरेको र प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक भएको बताएका छन्।
  • प्रत्यक्ष निर्वाचित कार्यकारीलाई निरंकुश हुनबाट रोक्न राइट टु रिकल र महाभियोगको व्यवस्था आवश्यक रहेको देवकोटाले उल्लेख गरेका छन्।

विधान निर्माणका क्रममा छोडिएको एउटा राजनीतिक एजेन्डा जेनजी आन्दोलनको रापपछि फेरि एकपटक सतहमा आएको छ । त्यो हो- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली । 

विशेषगरी राजनीतिक अस्थिरताले थकित र वैकल्पिक उपाय खोजिरहेकाहरूले यसलाई स्थिरता र समृद्धिको अचूक उपाय ठानिरहेका छन्, तर अर्को पक्षले यसले शक्तिलाई एकै ठाउँमा केन्द्रित गरी नयाँ संकट वा निरङ्कुशताको प्रस्थानविन्दु बन्न सक्ने जोखिम औंल्याइरहेका छन्।

संसदीय लोकतन्त्रले जवाफदेहिता दिन नसकेको गुनासोबीच, नेपालजस्तो विविधतायुक्त र भूराजनीतिक संवेदनशील मुलुकका लागि कुन शासकीय स्वरूप सान्दर्भिक होला? बदल्नुपर्ने राजनीतिक संस्कृति हो कि शासकीय स्वरूप ? यही प्रश्नलाई गम्भीर र जिम्मेवार सार्वजनिक बहसमा रुपान्तरण गर्न अनलाइनखबरले ‘बहसमा प्रत्यक्ष कार्यकारी’ शृङ्खला सुरु गरेको छ, जहाँ दुवै पक्षका तर्क, विश्व अनुभव र संवैधानिक जटिलताहरू खोतलिनेछ ।  

यो बहसमा राजनीतिक दल, जेनजी अगुवा, विश्लेषक र विज्ञलगायतका दृष्टिकोणलाई समान ठाउँ दिइनेछ। बहसले केवल विकल्प प्रस्तुत गर्ने होइन, आशा र यथार्थबीचको दूरी नाप्ने प्रयास गर्नेछ । 

जेनजी आन्दोलनपछि शासकीय स्वरूप बदल्नुपर्ने विषय बहसमा छ । यसको सकारात्मक र नकारात्मक पक्षबाट तर्कहरू प्रस्तुत भइरहेका छन् । नेपालमा यस्तो बहस विगतमा पनि नभएको भने होइन । पहिलो संविधानसभामा प्रत्यक्ष कार्यकारीको पक्षमा बलियो मत थियो । दोस्रो संविधानसभासम्म पुग्दा अवाज मथ्थर भयो र संसदीय प्रणालीमै मुलुक अगाडि बढ्यो । विगत र वर्तमान दुवै बहसका एक बहसकर्ता हुन्- खिमलाल देवकोटा

संविधानसभामा प्रत्यक्ष कार्यकारीको पक्षमा किताब नै लेखेर बाँडेका देवकोटासँग राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै उपयुक्त विकल्प देख्छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निरंकुश भए के गर्ने ? यो प्रश्नमा उनी राइट टु रिकलको व्यवस्था र महाभियोगको हतियार झुन्ड्याउने र प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने तर्क गर्छन् ।

यसै सन्दर्भमा संविधानसभा सदस्यसमेत रहेका देवकोटासँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंश :

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा निरन्तर बहस भइरहेको छ । खासगरी संविधानसभामा ज्यादा छलफल भएको थियो । त्यसबेलाको अवस्थालाई कसरी सम्झनुहुन्छ ?

संविधानसभामा म पनि थिएँ । अरूले झैँ त्यसबेला मैले पनि यो विषयमा बहस गरेँ । अहिले पनि गर्दैछु । पहिलो संविधानसभामा नै मैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै किन ? भन्ने एउटा सानो बुकलेट लेखेर सबैलाई बाँडेको थिएँ । त्यो बुकलेट लेख्ने बेलामा मेरो दृढ विश्वास थियो- नेपालमा राजनीतिक स्थिरता चाहियो । राजनीतिक स्थिरताविना देश विकास नहुने भयो । अनि राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेको हुँ ।

संसदीय प्रणालीले स्थिरता दिन सक्दैन भन्ने कुरामा त्यतिबेला व्यापक बहस भयो । बहस भएपछि संसदीय व्यवस्थाले अस्थिरता सिर्जना गर्छ, त्यसकारण यसलाई फाल्नुपर्छ भन्ने तर्क निस्कियो । त्यसका कारणहरू छन् ।

पहिलो : नेपालको आफ्नै संसदीय अभ्यास ।

नेपालले अहिलेसम्म अबलम्वन गरेको भनेको संसदीय प्रणाली मात्रै हो । तर कहिल्यै स्थिरता भएन । उदाहरणको रूपमा हेर्दा भारत र नेपालमा अहिलेको मोडर्न डेमोक्रेसी लगभग सँगसँगै सुरु भएको हो ।

२००७ सालदेखि सँगसँगै सुरु भएको डेमोक्रेसीमा अहिलेसम्म भारतमा नरेन्द्र मोदी १८औँ प्रधानमन्त्री हुन् । हामीकहाँ अहिले सुशीला कार्की ५०औं प्रधानमन्त्री हुन् । केही दिन अगाडि शेरबहादुर देउवा भन्दै हुनुहुन्थ्यो- मलाई पाँच पटक प्रधानमन्त्री भयो भन्छन्, तर पाँच वर्ष पनि प्रधानमन्त्री हुन पाइनँ ।

यस्तो किन हुनुमा संसदीय प्रणाली प्रमुख कारण हो । यो प्रणलीमा केवल बहुमतको खेल हुने रहेछ । जसरी पनि बहुमत जुटाउने भन्ने हुँदो रहेछ ।

एकपटक केपी ओली प्रधानमन्त्री हुँदा कस्तो सरकार बन्यो ? त्यो हेर्दा पनि यसबारे धेरै भन्न सकिन्छ । ओली नेतृत्वको मन्त्रिपरिषद्मा गणतन्त्रविरोधी कमल थापा उपप्रधानमन्त्री थिए । संघीयताविरोधी चित्रबहादुर केसी उपप्रधानमन्त्री थिए । अरू थुप्रै मान्छे थिए । यो सबै किन र कसरी मिल्दो रहेछ ? यसको सिधा जवाफ हो- संसदीय अंकगणित । सरकार बनाउनका निम्ति र सत्ता स्वार्थका निम्ति संसदीय अंकगणित मिल्दो रहेछ ।

दोस्रो : गठबन्धन संस्कृति ।

संसदीय प्रणालीमा देखा परेको अस्थिरताको अर्को उदाहरण हो- गठबन्धन संस्कृति । गठबन्धन साधारणतया तीन प्रकारका हुने रहेछन् । एउटा  विचारधारामा आधारित , अर्को एजेन्डामा आधारित  र तेस्रो  शक्ति सन्तुलनमा आधारित ।

नेपालमा एजेन्डा र विचारधारामा आधारित गठबन्धन  लगभग-लगभग नेकपाको सरकार भएको बेला अभ्यास भएको थियो । तर त्यो टिकेन ।

एजेन्डा आधारित गठबन्धनको  पनि अभ्यास भयो । प्रतिनिधिसभा विघटन ठिक कि बेठिक भनेर  गठबन्धन  बन्यो । त्यो पनि टिकेन ।

पावर सेयरिङ बेस नेपाली कांग्रेस र नेकपा एमालेको कोलिसन चाहिँ मजासँग टिकिरहेको थियो । जेनजीले नफालेको भए फेरि पनि पावर सेयरिङ भइराख्थ्यो । गणितका निम्ति संसद्को सबैभन्दा ठूलो र दोस्रो दल नै मिलेर सरकार चलाइरहेका थिए । संसदीय प्रणलीमै यस्तो पनि गरिँदो रहेछ ।

अर्थात्, गणित मिलाउनका निम्ति त हुने-नहुने सबै कुरामा कम्प्रोमाइज गर्नुपर्ने रहेछ । यसकारण यो बदल्ने भनेको प्रणाली नै बदल्ने हो ।

तेस्रो : कमजोर प्रधानमन्त्री ।

संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई ‘अल इन अल’ भनिन्छ । तर व्यवहारमा प्रधानमन्त्रीले मेरो गणित के हुन्छ भन्ने कुरा विचार गरेर मात्रै काम गर्नुपर्ने हुँदो रहेछ । प्रधानमन्त्रीले एक जना मन्त्रीलाई हटाउन सक्दैन, एक जना मन्त्री नियुक्त गर्न पनि सक्दैन । यस्तो ठाउँमा पुग्दो रहेछ ।

यी तीन वटा सैद्धान्तिक तर्क हुन् । जसले जनताले सांसद चुन्ने र सांसदले प्रधानमन्त्री चुन्ने प्रणाली बदलेर सिधै जनताले कार्यकारी प्रमुख चुन्न पाउनुपर्ने विषय स्वतः स्थापित गर्छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारीलाई फुक्काफाल छोड्न भने सकिँदैन । यसमा दुईवटा चेक एन्ड ब्यालेन्सको व्यवस्था राख्नुपर्छ । एउटा, राइट टु रिकल । अर्को महाअभियोगको प्रावधान ।

अहिले फेरि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्नेतिर बहस गएको छ । अहिले उठेको पनि एकचोटि म्यान्डेट लिएपछि कम्प्रोमाइज गर्न नपरोस् भन्ने हो । गणितको खेलका निम्ति, सत्ता टिकाउनका निम्ति अथवा सत्ता प्राप्तिका निम्ति जे पनि गर्न तयार हुने अवस्था नबनोस् भन्ने हो ।

पहिलो र दोस्रो संविधानसभा दुवैमा यो तर्कले काम गरेन । विगतमा काम नगरेकै तर्कमा हुनुहुन्छ कि फेरिनुभयो ?

मेरो सुरुदेखिकै अहिलेसम्म म दृढ छु । यसका कारण छन् । नेपालमा संसदीय प्रणालीमा दुई तिहाइको सरकार बन्यो । त्यो पनि असफल (अस्थिर) भयो । बहुमतको सरकार पनि बन्यो, त्यो पनि अस्थिर रह्यो । अल्पमतको सरकार बन्यो, त्यो पनि अस्थिर भयो । अर्थात्, यो संसदीय प्रणालीका त सबै मोडेलहरूको टेस्ट भइसक्यो । यसकारण, अब संसदीय प्रणाली होइन, अब प्रत्यक्ष निर्वाचित कार्यकारी नै विकल्प हो । यो मेरो दृढ विश्वास हो ।

यदि यो बलियो तर्क हो भने संविधानमा लेखिन्थ्यो । किन लेखिएन ? यो विषय कसरी स्केप भयो त ?

प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा संविधानसभामा निकै ठूलो बहस भयो । पहिलो संविधानसभामा यो बहसको पक्षधरको ठूलै संख्या थियो। दोस्रो संविधानसभामा अलि कमजोर भएर पनि बहस भयो। सबै पार्टीभित्र दुई खालका मत भेटिन्थ्यो ।

२०६४ सालका राजनीतिक दलहरूका घोषणापत्र हेरियो भने नेकपा एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भनेको थियो । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेको हुनाले एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्यो ।

उपेन्द्र यादव नेतृत्वको पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनेको थियो । कांग्रेसभित्रका नरहरि आचार्य, गगन थापा लगायतले प्रत्यक्ष निर्वाचित कार्यकारी भनेका थिए । यसरी हेरियो भने पहिलो संविधानसभामा ८० प्रतिशत जति प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको पक्षमा देखिन्थ्यो ।

छलफलमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति कि प्रधानमन्त्री भन्ने जस्तो गरी विषय प्रस्तुत हुन्थ्यो । पछि एमालेले खुट्टा छोडिदियो । उसले भन्यो- हामी संसदीय प्रणालीमा जाने । एमालेले यस्तो भनिसकेपछि कांग्रेसभित्रको नरहरि आचार्यको टोलीले पनि अब संसदीय प्रणालीमै जाने, प्रत्यक्ष निर्वाचितमा जान सकिँदैन भन्यो । त्यसबेला उनीहरूको तर्क थियो- प्रचण्ड प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने ! यसो भयो भने निरंकुशता हुन्छ । त्यसलाई कन्ट्रोल गर्न सकिँदैन ।

संवैधानिक समितिमा प्रचण्डको नेतृत्वमा उच्चस्तरीय एउटा कमिटी थियो । त्यसको हामी सदस्य थियौँ । हामीले कम्प्रोमाइज गरेका थियौं- ल ठिकै छ प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री भनेर जाऔं । यसो गर्दा संसदीय प्रणाली भन्नेले संसद्बाट निर्वाचित प्रधानमन्त्री पायौँ भन्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति पनि हुने ।

यो मोडेलमा सहमति गरेका थियौं । तर त्यो सहमति पनि एमालेले र कांग्रेसले मानेनन् । सम्पूर्ण रूपमा संसदीय प्रणाली हुन्छ भने हुन्छ, हुन्न भने संविधान बन्दैन भन्नेतिर बहस लगे । माओवादीले संविधान जारी होस् भनेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको विषयमा फरकमत राख्यो । संविधान संसदीय प्रणालीअन्तर्गत जारी भयो ।

पहिले प्रचण्ड हेरियो, अहिले बालेन, रवि कोही हेरेर प्रत्यक्ष निर्वाचित भए निरंकुश हुन्छ, चेक एन्ड ब्यालेन्स हुँदैन कि भन्ने तर्क आइराखेको छ । यो कोणबाट हेर्दा ठिकै जस्तो लाग्दैन ?

ल ठिक छ, प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने निरंकुश हुन्छ भन्ने एउटा तर्क भयो । यसमा मेरो खण्डन के छ भने, केपी ओली प्रत्यक्ष निर्वाचित कार्यकारी होइनन् । उहाँ संसदीय प्रणालीभित्र कम्प्रोमाइज गरेरै प्रधानमन्त्री बन्नुभएको हो । किन निरंकुश हुनुभयो त ?

त्यो भन्दा पहिला गिरिजाप्रसाद कोइरालाको ३६ से को कथा छ । गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टीका ३६ सांसदलाई कारबाही गरेको प्रसंग सम्झौं । उहाँले ३६ जना सांसदलाई नै निकालिदिनुभयो । यो त संसदीय प्रणालीमै भएको हो । पछि शेरबहादुर देउवाले संसदीय प्रणालीबाटै के-के गर्नुभयो । भनेपछि प्रत्यक्ष निर्वाचित मात्रै निरंकुश हुन्छ भन्ने तर्क मिलेन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने खतरा हुन्छ, निरंकुश हुन्छ अथवा जेलेन्स्की जस्तो हुन्छ पनि भनेको सुन्छु । त्यो सबै हुनलाई त प्रत्यक्ष निर्वाचित कार्यकारी नचाहिँदो रहेछ नि । दुई तिहाइको प्रधानमन्त्री छँदै थियो, संसदीय व्यवस्था नै थियो । किन निरंकुश भए नेताहरू ? चेक एन्ड ब्यालेन्स किन हुन सकेन ? जेनजी आन्दोलन नै किन हुनुपर्‍यो ?

संसदीय प्रणालीका प्रधानमन्त्री त निरंकुश भए भने प्रत्यक्ष कार्यकारी हुँदा कहाँबाट हुन्छ चेक एन्ड ब्यालेन्स ? दलतन्त्र तोड्न गाह्रो भएको नेपाली समाजले कसरी रोक्छ कार्यकारी प्रमुखको रफ्तार ?

यसको समाधान छ । प्रत्यक्ष निर्वाचित कार्यकारीलाई फुक्काफाल छोड्न सकिँदैन । यसमा दुईवटा चेक एन्ड ब्यालेन्सको व्यवस्था राख्नुपर्छ । एउटा, राइट टु रिकल । अर्को महाअभियोगको प्रावधान । जनताको चाहनाविपरीत काम गरे, निरंकुश हुन थाले राइट टु रिकलको प्रयोग हुन्छ । महाअभियोगको विकल्प प्रयोग हुन सक्छ । यी दुई हतियार मजासँग ल्याउन सकिन्छ ।

नेपालको भूअवस्थितिलाई देखाएर पनि यसबारे बहस हुने गरेको छ नि ?

ये एउटा न एउटा कारण देखाएर प्रत्यक्ष कार्यकारीमा नजानु भनेको स्थायित्वतिर नजानु हो । किनभने, प्रत्यक्ष कार्यकारी भयो भने सरकार फेर्नै पाँच वर्ष कुर्नुपर्छ ।

भूराजनीतिको कुरा हाम्रोमा निकै आउँछ । २०६४ सालपछि पनि प्रत्यक्ष कार्यकारीको कुरा गर्दा भूराजनीतिलाई जोडेर तर्क गरिन्थ्यो । भूराजनीतिलाई कारण देखाएर राम्रो सिस्टम अबलम्वन नगर्नु ठिक होइन ।

प्रत्यक्ष कार्यकारीको अन्तर्राष्ट्रिय अभ्यास र अनुभव छन् । अमेरिकामा संसदीय प्रणालीमा जानुपर्छ कि भनेर बहस सुरु भएको छ । हामी कार्यकारीतिर गएर फेरि संसदीय प्रणालीमै फर्किनुपर्दैन भन्ने के ग्यारेन्टी ?

मैले इन्टरनेसनल लिट्रेचर पनि हेरेको छु । संसारभरि वान थर्ड, वान थर्ड, वान थर्ड मुलुकले त्यो सिस्टम अबलम्वन गरेका छन् । वान थर्डले प्रत्यक्ष निर्वाचित कार्यकारी, वान थर्ड पार्लियामेन्ट्री, वान थर्ड मिक्स छ । त्यो इक्वेसनमा अहिलेको पछिल्लो २० वर्षको अन्तरालमा पनि कुनै परिवर्तन भएको छैन ।

कुनै पनि मुलुक संसदीय प्रणालीबाट कार्यकारीतिर, कार्यकारीबाट संसदीयतिर गएको देखिँदैन। त्यसो भएको हुनाले यो सिद्धान्तको कुरा हो, मोडलको कुरा हो। यसमा अहिले भइरहेको राजनीतिले खासै असर गर्छ भन्ने मलाई लाग्दैन ।

जेनजी आन्दोलनपछि शासकीय स्वरूप बदल्नुपर्ने विषय बहसमा छ । यसको सकारात्मक र नकारात्मक पक्षबाट तर्कहरू प्रस्तुत भइरहेका छन् । नेपालमा यस्तो बहस विगतमा पनि नभएको भने होइन ।

बरु महत्वपूर्ण तीन-चारवटा कुरा बेलायतको पार्लियामेन्ट्री कमिटीले प्रस्ताव गरेको छ । जस्तो, फिक्स टर्म पार्लियामेन्ट एक्ट ल्यायो र संसद् विघटन प्रधानमन्त्रीले गर्दैन भन्ने ल्यायो । अनि हाउस अफ लर्डले सुप्रिम कोर्टको काम गर्थ्यो, अब हुँदैन, सेपरेट सुप्रिम कोर्ट चाहिन्छ भन्यो ।

अर्को, त्यो कमिटीले के प्रस्ताव गरेको थियो- यो संसदीय प्रणाली भनेको रेप्रेजेन्टेटिभ डेमोक्रेसी हो। यो २०औं शताब्दीको डेमोक्रेसी हो । २१औं शताब्दीको डेमोक्रेसी भनेको डाइरेक्ट डेमोक्रेसी हो । त्यसकारण अब बेलायतले डाइरेक्ट डेमोक्रेसी अबलम्वन गर्नुपर्छ भन्ने प्रस्ताव पारित भएको छैन ।

यस्तो बहस हामीले संविधान निर्माण गर्दा गरेकै हौँ । संविधान निर्माण गर्दाको अवस्था र अहिलेको अवस्थामा निर्णायक तहमा परिवर्तन गर्नुपर्ने तात्विक फरक आएको छैन । त्यसो भएको हुनाले म त अहिले पनि यसमा दृढ विश्वास गर्छु, निकास भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी हो। स्थायित्व, विकास, जवाफदेहिता र पारदर्शिताको निम्ति पनि यो आवश्यक छ ।

पहिलो संविधानसभामा ठूलो संख्या प्रत्यक्ष कार्यकारीको पक्षमा हुँदा त भएन भने अब कसरी त्यसमा जान सकिन्छ त ?

जेनजीको आन्दोलनपछि एउटा अनौपचारिक पार्टी मिटिङ भएको थियो । त्यसमा अब त प्रत्यक्ष निर्वाचित कार्यकारीमै जाने हो, जान सकिन्छ भन्नेमा सबै सहमत देखिन्थे । संसद् विघटन नगरी कार्यकारी राष्ट्रपतिमा जाने गरी संविधा संशोधन गर्न सकिन्छ भन्ने कुरा थियो । यसमा कांग्रेस र एमाले पनि सहमत थिए । समय बित्दै गयो । सबैले बिर्सिए । समस्या यहाँनेर पनि छ ।

शासकीय स्वरूप बदल्न चुनावमा जानुपर्छ, चुनावबाट आउने संसद्बाट प्रत्यक्ष कार्यकारीमा जान पनि त सकिन्छ नि ?

चुनावपछि त खतरा छ । साँच्चै जेनजीहरूले भनेजस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीमै जाने हो भने, सहमतिमा संसद् पुनर्स्थापना गरौँ । संविधान संशोधन गरौँ । त्यसपछि अर्को निर्वाचन घोषणा भएपछि त यो संसद् स्वतः कोमामा गइहाल्छ । यति गर्‍यो भने हुन्छ । होइन भने २१ फागुनमा हुने निर्वाचनसम्म त प्रत्यक्ष कार्यकारीको सम्भावना छैन ।

यसकारण सबै दलहरूलाई मेरो सुझाव छ- हामी सिद्धान्तमा सहमत हौँ । प्रत्यक्ष कार्यकारीको सिद्धान्तले असल मान्छे ल्याउँछ भन्ने अनुमान गरौँ । को आउँछ भनेर अनुहार हेरेर निर्णय गर्ने कुरा बेठिक हुन्छ । हिजो प्रचण्डको अनुहार देखेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा गइएन र २० वर्ष मुलुकले दु:ख पायो । अहिले पनि कसैको चेहेरा हेरेर निर्णय लिन हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?