Comments Add Comment

स्वर्गद्वारीको धर्मशाला निर्माण ५ वर्षदेखि अलपत्र

३१ वैशाख, प्यूठान । प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा थालिएको धर्मशालाको काम अलपत्र परेको छ ।

स्वर्गद्वारी आश्रम नजिकै धरमपानीमा ५ वर्षअघि थालिएको अत्याधुनिक भवनसहितको धर्मशाला निर्माण अलपत्र परेको हो । समयमा धर्मशाला निर्माण अघि नबढ्दा ३ वर्षमा सक्ने व्यहोरासहित टाँसिएको सूचना पाटी नै खुइलिएको छ ।

तत्कालीन जिल्ला विकास समिति प्यूठान र स्वर्गद्वारी आश्रमको संयुक्त लगानीमा दुई सय ५० शैयाको अत्याधुनिक धर्मशाला निर्माणका लागि पाँच करोड रुपैयाँ लागन अनुमान गरिएको थियो । तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ श्यामसुन्दर निर्माण सेवा, काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । तर, बजेट अभाव देखाउँदै उसले बाँकी काम गरेको छैन ।

निर्माण कम्पनीका प्रतिनिधि उमाकान्त शर्माले ३ करोडको काम सकिएपछि बजेटलगायतको समस्या देखापरेको बताए ।

भवन निर्माणका लागि रकम अभावपछि निर्माणको काम अलपत्र परेको स्वर्गद्वारी आश्रमका लेखापाल बासुदेव भट्टराई बताउँछन्

स्वर्गद्वारीमा दैनिक पर्यटकको संख्या बढ्दै गएकाले धर्मशाला निर्माण छिट्टै सक्नुपर्ने स्वर्गद्वारिका नगरप्रमुख नेत्रबहादुर रोकायाको भनाइ छ । उनले भवनको बाँकी काम सक्न केन्द्रको ध्यानाकर्षण गराउने तयारी गरिएको जानकारी दिए ।

स्वर्गद्वारीमा बर्सेनि करिव पाँच लाख पर्यटक आउने अनुमान छ ।  विदेशीसँगै आन्तरिक पर्यटकको आगमन पछिल्लो वर्ष बढेको स्वर्गद्धारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment