Comments Add Comment

श्रीलंकामा तनाव कायमै, रातिमा देशभर कर्फ्यु

३१ वैशाख, काठमाडौं । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । यद्यपि यस हिंसामा कोही हताहत भएको खबर छैन ।

श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ । यद्यपि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि नै हिंसात्मक घटना बढेका हुन् ।

शान्ति कायम गर्न अपिल

प्रधानमन्त्री रनिल विक्रमासिंघेले शान्ति कायम राख्न अपिल गरेका छन् र ताजा हिंसाका कारण श्रृंखलावद्ध आक्रमणको अनुसन्धान प्रभावित भएको बताएका छन् । स्थिति नियन्त्रणमा लिन रातिको बेला कर्फ्यू लगाइएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सुरक्षाकर्मीले उत्तरपश्चिमी शहर किनियाको एक तलाउ नजिकै हतियारको खोजीका लागि सर्च अभियान चलाएका थिए । प्रदर्शनकारीले भने सो तलाउ नजिकैको मस्जिदमा पनि खानतलासी गर्न माग गर्दै प्रदर्शन गरेका थिए । यसैबाट तनाव बढ्दै गएको हो ।

सामाजिक सन्जालमा प्रतिवन्ध
प्रहरीले भने चिला भन्ने एक ठाउँमा फेसबुकबाट सुरु भएको विवाद दंगामा बदलिएको बताएको छ । फेसबुकमा विवादित पोष्ट गरेको भन्दै प्रहरीले ३८ वर्षीय मस्लिम युवकलाई नियन्त्रणमा लिएको छ ।

हिंसा रोक्ने उद्देश्यले श्रीलंका सरकारले देशभर फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सन्जालहरुमा प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार ट्वीटरमा भने रोक लगाइएको छैन । प्रधानमन्त्री रनिल विक्रमासिंघेले ट्वीटरमा लेखेका छन्, ‘म नागरिकहरुलाई शान्त रहन र गलत जानकारीमा नभड्किन अपिल गर्दछु । सुरक्षाकर्मीहरु आतंकवादीहरुलाई नियन्त्रणमा लिन र देशमा सुरक्षाको प्रत्याभूति दिलाउन हरसम्भव प्रयास गरिरहेका छन् ।’

मिडिया रिपोर्टका अनुसार हेत्तीपोला शहरमा पनि हिंसा सुरु भएको छ । यहाँका कम्तिमा तीन वटा पसललाई निशाना बनाइएको छ । श्रीलंकामा करिब २ करोड २० लाख जनसंख्या छ । बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेका श्रीलंकामा मुस्लिम समुदायको जनसंख्या करिब १० प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment