Comments Add Comment

किशोरी बलात्कारका अभियुक्त छाड्ने न्यायाधीश छानविनमा !

३० वैशाख, काठमाडौं । बालिका बलात्कारका आरोपीलाई थुनामुक्त गर्न आदेश दिने कास्की जिल्लाका न्यायाधीश लालकाजी श्रेष्ठमाथि न्यायपरिषदले छानविन गर्ने भएको छ ।

उनीविरुद्ध परिषद्मा उजुरी गरेको छ । प्रारम्भिक अध्ययनबाट न्यायाधीशको बद्नियत देखिएको परिषद स्रोतले जनाएको छ ।

न्यायाधीश श्रेष्ठको ४ वैशाखमा १६ वर्षीया किशोरी पोखरा असी (प्रहरीले अदालतमा पेश गरेको परिवर्तित नाम) लाई बलात्कार गरेको अभियोग लागेका सुन्दर कुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

फैसलामा विभिन्न तथ्य प्रमाण र बयानका आधारमा अभियुक्त सुन्दरकुमार श्रेष्ठ कसुदार होइनन् भन्न सकिने अवस्था नदेखिएको जनाएका छन् । तर, पछि प्रमाण बुझ्दैजाँदा ठहरेबमोजिम हुने भन्दै हाललाई मुलुकी फौजदारी कर्यविधी ऐन २०७४ को दफा ६८ अनुसार धरौटी लिई तारखेमा रिहा गर्न आदेश दिएका छन् ।

अदालतको अदेशपछि श्रेष्ठ थुनामुक्त भइसकेका छन् भने बलात्कृत किशोरी न्याय माग्दै न्यापरिषदसम्म पुगेकी छन् । स्रोतका अनुसार बलात्कार जस्तो संवेनदशील मुद्दामा तथ्य प्रमाण समेतले अभियुक्त देखिँदा पनि रिहा गरिनु युक्तिसंगत नदेखिएको भन्दै यो विषय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि जानकारी गराइएको छ ।

न्यायाधीश श्रेष्ठ यसअघि पनि दोलखामा हुँदा विवादमा परेपछि न्यायपरिषदमा तानिएका थिए ।

झ्यालमा भर्‍याङ राखेर छिर्थे

चितवन घर भएकी १६ वर्षीया किशोरी पोखराको बसुन्धरा पार्क नजिक एक महिलाको घरमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । साथै पोखराकै एक सरकारी विद्यालयमा कक्षा आठमा पढ्थिन् ।

उनी आफैंले हातले लेखेर प्रहरी समक्ष दिएको बयानमा आफूमाथि सुवास सुवेदी र सुन्दरकुमार श्रेष्ठले कसरी यौन दुव्र्यवहार गरे भन्ने उल्लेख गरेकी छन् । सुवास सुवेदी भन्ने व्यक्तिले दुई तीनपटक कोही नभएको बेलामा घरमा आएर छातीमा छुने र स्तन चुस्ने काम गरेको उनले बयानमा लेखेकी छन् । घर मालिकका आफन्त सुवेदीले बलात्कार नगरे पनि यौन दुर्व्यबहार गरेको पीडितको दाबी छ । उनलाई अदालतले ३ लाख धरौटीमा छाडेको छ ।

सुन्दर श्रेष्ठले भने कोठामा आएर जबर्जस्ती गरेकोे पीडित किशोरीले बयानमै लेखेकी छन् । यो क्रम असोजदेखि फागुनसम्म चलेको प्रहरीले जनाएको छ ।

बलात्कृत भएपछि उक्त घरमा बस्न मन नलागेको र जाँच सकिएलगत्तै साथीको घरमा गएर बसेको भनेकी छन् । स्कूलबाट घर नफर्की भागेर साथी कहाँ गएपछि उनको खोजी हुने क्रममा बलात्कारको भेद खुलेको थियो ।

बलात्कृत किशोरीले बयानमा लेखेकी छन्, ‘सुन्दर श्रेष्ठ भन्ने मान्छे मेरा कोठामा आएर बोलाउने, अनि पिसाब फेर्ने कुरा हातले चलाएर लखेट्थे । एकपटक मेरो कोठामा आएर मलाई जबर्जस्ती गर्नु पहिला कपडा खोलिदियो र एक चोटी जबर्जस्ती गरी आफूले टिस्यु ल्याएको रहेछ, टिस्युले पुछेको थियो । मेरो कोठामा बत्ति बले बित्तिकै मलाई बोलाएर देखाउँथ्यो ।’

यो घटना २०७५ असोज महिनाको थियो । पोखरा ७ स्थित कान्तिपुर होटलका साहु श्रेष्ठले पटक पटक जबर्जस्ती करणी गरेपछि सहन नसकी पीडित किशोरीले कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको न्यायपरिषदमा आएको उजुरीमा उल्लेख छ । श्रेष्ठ किशोरी काम गर्ने घरका छिमेकी हुन् ।

उनी भर्‍याङ राखेर किशोरी बस्ने कोठामा झ्यालबाट प्रवेश गरी जबर्जस्ती करणी गरिआएको देखिएको प्रहरीले समेत अदालतमा पेश गरेको कागजातमा उल्लेख छ ।
गम्भीर प्रकृतिको अपराधमा समेत जिल्ला न्यायाधीशले मानवीय विवेक र संवेदनालाई ख्याल नगरी थुनामा राखी मुद्दाको कारवाही अघि बढाउनुपर्नेमा ५० हजार धरौटीमा रिहा गर्न दिएको आदेश त्रुटीपूर्ण भएको परिषद्मा परेको उजुरीमा उल्लेख छ ।

निवेदकले त्रुटीपूर्ण आदेश बदर गरी त्यस्तो आदेश दिने न्यायाधीशलाई तत्काल निलम्बन गरि अभियुक्तलाई मिसिल झिकाएर थुनामा राखी कारवाही गराउन माग गरेका छन् । उजुरीसँगै निवेदकले पीडित पोखरा असीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफ्नै हस्ताक्षरले लेखी दिएको घटना विवरणसहित प्रमाण समेत पेश गरेको न्यायपरिषद स्रोतले जनाएको छ ।

अभियुक्त जोगाउन पोखरा पुगे बरिष्ठ वकिल

यो मुद्दाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार कमजोर आर्थिक अवस्थाकी किशोरीलाई अभियुक्त श्रेष्ठले असोजदेखि अन्तिमपटक फागुन २६ गते करणी गरेको पाइएको छ । यसबीचमा उनले एकपटक ५ सय रुपैया दिएको र फागुन २६ मा पनि जबर्जस्ती करणी गरेर हिड्ने बेला किशोरीले पैसा मागेपछि उनले कसैलाई भने मारिदिनेभन्दै पैसा नदिई हिँडेका थिए ।

त्यसपछि किशोरी डरले साथीको घरमा लुकेर बसेको र खोज्ने क्रममा घरधनी महिलाले भेटेपछि आफू सुन्दर श्रेष्ठबाट पटक पटक बलात्कृत भएको तथा उसले ज्यान मार्ने धम्की दिएकाले भागेको बताएकी थिइन् । घरधनी महिलाले नै यो प्रकरणलाई प्रहरीसम्म पुर्‍याएकी हुन् ।

पीडित किशोरीले एकपटक आफ्नी साथीलाई बलात्कार गर्ने व्यक्तिलाई मार्दा कानून लाग्छ कि लाग्दैन भनेर सोधेकी थिइन् । सबै घटनाक्रम, बयान र तथ्यहरुका आधारमा सुन्दर श्रेष्ठले डर त्रास र प्रलोभन देखाएर पटक पटक किशोरीमाथि जबर्जस्ति गरेको देखिन्छ । कानूनले १८ वर्षमुनीका किशोरीसँग यौन सम्बन्धलाई बलात्कार भन्छ ।

अभियुक्त श्रेष्ठ होटल ब्यवसायी भएको र उनीसँग पैसा खर्च गर्ने सामर्थ्य रहेकाले न्यायाधीशलाई प्रभावमा पारेर छुट्न सफल भएको आरोप पीडित पक्षले लगाएको छ । श्रेष्ठको पक्षमा बहस गर्न चर्चित वकिलहरु पोखरा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment