+
+
Shares
रिपोर्ट :

एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै

नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति तथा आफन्तबाट बलात्कार हुने जोखिम रहेको उनीहरूको बुझाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ भदौ ८ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जितपुर सिमरा–१ मा ३ वर्षीया बालिका २ भदौ साँझ भक्तिनगरको खाली घरमा मृत फेला परेपछि प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरी बलात्कारपछि हत्या स्वीकार गराएको छ।
  • प्रहरीका अनुसार ती किशोर र चालक प्रोग्रेस चौधरी पीडित बालिकासँग पूर्वचिनजानमा थिए, र हालसम्म ८ जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ।
  • प्रहरी तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा प्रत्येक वर्ष औसत २५० भन्दा बढी १० वर्षमुनिका बालिका बलात्कृत भएका छन्, र अधिकांश पीडक चिनेजानेकै व्यक्ति छन्।

८ भदौ, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानरपालिका–१ दशधुरे सुकुमवासी बस्तीबाट ३१ साउन बिहान ८ बजेतिर ३ वर्षीया बालिका बेपत्ता भइन् । बिहान ८ बजेसम्म सँगै रहेकी बालिका बेपत्ता भएपछि परिवारले करिब ३ घण्टासम्म खोजी गर्‍यो । तर बालिका कत्तै भेटिइनन् ।

त्यसपछि उनीहरू पथलैया र सिमरा प्रहरी कार्यालय पुगे । प्रहरीले पनि बालिकाको अवस्था पत्ता लगाउन सकेन । तर हराएको दुई दिनपछि २ भदौ साँझ पौने ६ बजेतिर एकाएक बेपत्ता बालिकाको शव जितपुर सिमरा उपमहानरपालिका–१ भक्तिनगरमा भेटियो ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेद्वारा हस्तारक्षित विज्ञप्तिमा उल्लेख भएअनुसार भक्तिनगरमा रहेको वीरबहादुर रोकाको टायलले छाएको एक तले खाली घरको कोठाभित्र ती बालिकाको शव भेटिएको हो ।

शव भेटिएपछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलिप क्षेत्रीको कमान्डको सोको (क्राइम सिन अफिसर)सहितको टोली घटनास्थल पुग्यो । शवको प्रकृति देख्ने वित्तिकै हत्याको आशंका गरियो । जिल्लाबाट एसपी नरेन्द्र कुँवरको टोली पनि घटनास्थल पुग्यो ।

नेपाल प्रदेश प्रहरी कार्यालय पर्साबाट तालिमप्राप्त कुकर लगेर प्रहरीले अनुसन्धान सुरु गर्‍यो । कुकुरले संकेत गरेपछि घटनास्थलबाटै २ भदौमा समातिए १६ वर्षीय एक किशोर ।

जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका ती किशोरले ना१ज ७७५८ नम्बरको गाडीमा सहचालकको काम गर्ने गरेको पाइयो । प्रहरीको प्रारम्भिक सोधपुछमै उनले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकारे ।

चकलेट दिएर बालिकालाई फकाएर लगेको र बलात्कार गरेको, बेहोस भएपछि हत्या गरेको १६ वर्षीय किशोरले स्वीकारेका छन् । यो हत्या प्रकरणमा प्रहरीले उक्त गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरीलाई पनि पक्राउ गरेको छ । अहिलेसम्म पक्राउ परेका ८ जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी ओम अधिकारी तीन वर्षीया बालिका र बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोर पूर्वचिनजानकै व्यक्ति रहेको बताउँछन् ।

मृतक बालिका र चालक प्रोग्रेस चौधरीको घर नजिकै छ । प्रोग्रेसको घरमा ती बालिका गइरहन्थिन् । उता गाडीमा सहचालक काम गर्ने १६ वर्षीय किशोर पनि चालक प्रोग्रेसको घरमा गइरहन्थे । उनीहरूबीच चिनजान थियो । यही चिनजानको मौकालाई दुरुपयोग गर्दै चकलेट दिई फकाएर बलात्कारपछि हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

‘बालिका गइरहने प्रोग्रेसको घरमै बलात्कारपछि हत्या गरेर कपडाले बेरेर शव फालेको देखिएको छ,’ एक अनुसन्धान अधिकारी भन्छन् ।

तीन वर्षीया बालिकाको बलात्कार र हत्याको विषयले सडकदेखि सदनसम्म तात्यो । मृतक बालिकाका बाबुआमा काठमाडौं आएर गृहमन्त्री सुधन गरुङसँग सहमति गरी दाहसंस्कार गरेका छन् ।

०००

बाराको जस्तै घटना मोरङमा पनि भयो । मोरङमा एक बालिकालाई बलात्कार गरेको आरोपमा समातिएका सुनवर्षी नगरपालिकामा कार्यरत वडासचिव ३१ वर्षीय ईश्वरराज रेग्मी त कारागार नै चलान भएका थिए ।

गत मंसिरमा उनले एक बालिकालाई बलात्कार गरेको आरोप थियो । त्यसपछि उनी २१ मंसिरमा पक्राउ परेका थिए ।

साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्केकी ती बालिका घर फर्किनन् । परिवारले खोजबिन गर्दै प्रहरीसम्म गुहारेको थियो । त्यसपछि बल्ल बालिका भेटिएकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बताएपछि वडासचिवलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।

०००

बारा र मोरङको घटना जस्तै रोल्पामा पनि भएको थियो । गत चैत तेस्रो साता १२ वर्षीया बालिका रोल्पामा बलात्कृत भइन् । बालिका बलात्कारको सूचना आएपछि प्रहरीले अनुसन्धान गर्‍यो । सो क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्का पक्राउ परे ।

शिक्षक खड्काले नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर एकान्तमा बोलाएर बलात्कार गरेको आरोप थियो ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्ले

बालिका बलात्कारका यी तीन घटना प्रतिनिधिमूलक मात्रै हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षले उपलब्ध गराउने दैनिक बुलेटिनमा यस्ता बलात्कारका समाचार प्रायजसो छुट्दैनन् ।

‘प्रहरीमा आएका घटनाहरूलाई हामीले सार्वजनिक गर्ने गरेका छौं । ताकि, यस्ता घटना नदोहोरिउन्, मान्छेहरू सचेत होउन् भन्ने उद्देश्य एकातिर छ भने अर्कोतर्फ यस्तो अपराध गर्नेहरू कानुनको दायरामा आउँछन्/आइरहेका छन् भन्ने सन्देश पनि जान्छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन् ।

१ वर्षमा १० वर्षमुनिका २५० बालिका बलात्कृत

प्रहरी प्रधान कार्यालयको तथ्यांक केलाउने हो भने १० वर्ष मुनिका बालिका बलात्कृत हुने दर झिनो मात्रामा घट्दो देखिन्छ । तर घट्दो दर र बलात्कृत हुनेको संख्या हेर्‍यो भने अवस्था डरलाग्दो छ ।

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक केलाउँदा सरदर एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा १० वर्ष मुनिका २६८ बालिका बलात्कृत भएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा यो संख्यामा थोरै कमी आएर २५९ मा झरेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा पनि थोरै कमी हुँदै २५२ मा झरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा २१७ जना १० वर्ष मुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष २०८२/८३ मा भने यो संख्या बढेर फेरि २२१ पुगेको छ ।

प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको विवरण मात्रै प्रहरीको रेकर्डमा रहन्छन् । तर बलात्कारका केही घटना त सार्वजनिक नै नगरी गुपचुप रूपमा दुई पक्षबीच मिलापत्र गराउने प्रवृत्ति पनि देखिन्छ । यी सबै घटनाहरू सार्वजनिक हुने हो भने बलात्कारको दर अझै बढी हुने देखिन्छ ।

बलात्कारबाट पीडित १० वर्षमुनिका बालिकाको संख्या वार्षिक सरदर २५० हुँदा १० वर्ष मुनिका पीडक बालकको संख्या भने न्यून देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा बलात्कार आरोपमा ७ जना १० वर्षमुनिका बालक पक्राउ परेर मुद्दा चलेको प्रहरीको तथ्यांक छ ।

२०८१/०८२ मा भने जम्मा २ जना १० वर्षमुनिका बालकविरुद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्ड छ । त्यस्तै, २०८०/८१ मा १६ जना, २०७९/८० मा २ जना, २०७८/७९ मा ३ जना १० वर्ष मुनिका बालकविरुद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको तथ्यांक छ ।

बारा घटनाले एउटा पाठ सिकाएको अपराधशास्त्रमा स्नात्तकोत्तर गरेका नेपाल प्रहरीका पूर्वएसएसपी दिनेशराज मैनाली बताउँछन् ।

पीडितमात्रै नभएर अपराध गर्ने व्यक्ति पनि नाबालक रहेकोले उनको हुर्काइदेखि संगतबारे समेत परिवार सचेत नभएको बुझाइ उनको छ ।

‘हाम्रा बच्चालाई लालनपालन कसरी भइरहेको छ । समाज कसरी गाइडेड भएको छ । बच्चाले सही दिशा लिएको छ कि छैन । यसको विशेष ख्याल परिवारले गर्नुपर्छ,’ मैनाली भन्छन्, ‘सेक्सुअल अग्र्यान सम्बन्धीको शिक्षा अलि खुलेरै अध्ययन गराउनुपर्ने देखिन्छ । हामी धेरै कुरा लुकाउँदै बस्छौं । लुकाएर मात्रै समस्याको सामाधान हुँदैन ।’

सबैभन्दा बढी पीडित ११–१६ वर्षका

सबैभन्दा बढी बलात्कार पीडितको उमेर केलाउने हो भने ११–१६ वर्ष उमेर समूहको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा यो उमेर समूहका ९६३ बालिका बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७९/८० मा यो उमेर समूहका ९४४ बालिका बलात्कृत भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा यो उमेर समूहका १ हजार ९ बालिका बलात्कार भएको प्रहरीको रेकर्ड छ । आर्थिक वर्ष २०८१/८२ मा ९३१ र आर्थिक वर्ष २०८२/८३ मा ९६६ बालिका बलात्कृत भएको प्रहरी प्रवक्ता काफ्ले बताउँछन् ।

किशोर उमेर समूह रहेकोले उनीहरू सहजै प्रलोभनमा पर्ने, सहजै विश्वास गरिहाल्ने भएकाले यो उमेर समूहका बालिकाहरू बढी बलात्कारको सिकार बन्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

किशोर उमेरमै हुने यस्ता विभत्स अपराधलाई सामाजिक, मनोवैज्ञानिक र मानसिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको बुझाइ छ।

‘अहिलेका बच्चाहरूको व्यक्तित्व विकासमै विकार आएको देखिन्छ । डिजिटल प्लेटफर्ममा उपलब्ध सामग्री हेर्ने, त्यसबाट सिक्ने र नयाँ–नयाँ टेस्ट गर्ने, रिस्क व्यवहार देखाउने, जे कुराको पनि अनुभव लिइहालौं भन्ने गलत मनोवृत्ति हावी भएको देखिन्छ,’ अधिकारी भन्छन्, ‘यसैको असर अहिले किशोर अवस्थामै बलात्कार तथा हत्यामा संलग्न भएको देखिन्छ ।

यसका साथै पारिवारिक बिखण्डनको असरदेखि बच्चाको हुर्काइ, समाज, शिक्षा लगायतका विषयहरू पनि जोडिएर आउने उनको तर्क छ । ‘एन्टी सोसियल पर्सनालिटी विकास हुँदै जाने र समाजको मान्यता नमान्ने, किशोरावस्थामा मुड डिसअर्डर हुने अनि जे पायो त्यही गर्न मन लाग्ने हुन्छ,’ उनी भन्छन् ।

प्रत्येक वर्ष करिब २४ सय बलात्कृत, अधिकांश पीडित १८ वर्ष मुनिका

बलात्कार जस्तो जघन्य अपराधको दर निकै डरलाग्दो छ । सरदर प्रत्येक वर्ष करिब २४ सय जना बलात्कारबाट पीडित भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३९५ जना बलात्कृत भएका थिए । जसमध्ये १८ वर्षभन्दा कम उमेर समूहका बालिकाको संख्या मात्रै १ हजार ५१० छ । १८ वर्षभन्दा माथिका महिलाको संख्या भने ८८५ छ ।

आर्थिक वर्ष २०८१/८२ मा बलात्कार पीडितको संख्या २ हजार २६२ थियो । जसमध्ये १८ वर्ष उमेर मुनिका मात्रै १ हजार ४३७ छ । ८२५ जना १८ वर्ष माथिका महिला छन् ।

आर्थिक वर्ष २०८०/८१ मा २ हजार ५१४ जना बलात्कृत भएका थिए । जसमध्ये १८ वर्ष मुनिका १ हजार ५९२ बालिका र ९२० जना १८ वर्ष माथिका महिला छन् ।

आर्थिक वर्ष २०७९/८० मा २ हजार ३९८ जना बलात्कृत हुँदा १८ वर्ष मुनिका मात्रै १ हजार ५१५ बालिका थिए । १८ वर्ष माथिका महिला भने ८८२ जना पीडित भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा २ हजार ३९५ जना बलात्कृत भएका थिए । जसमध्ये १८ वर्ष मुनिका १ हजार ५६० बालिका र सोभन्दा माथिका ८३५ महिला थिए ।

यो तथ्यांकले झण्डै दोब्बर संख्यामा पीडित १८ वर्षभन्दा कम उमेरका बालिकाहरू छन् ।

अधिकांश पीडक चिनेजानकै

यस्ता बलात्कार घटनाहरू धेरैजसो चिनेजानेकै व्यक्तिबाट हुने अनुसन्धान अधिकृतहरू बताउँछन् । माथि उल्लेख गरिएका तीन वटै घटनाका पीडित र पीडकबीच पूर्वचिनजान थियो ।

आफू काम गर्ने चालकको घरमा जाने भएकाले १६ वर्षीय किशोर र तीन वर्षीया बालिकाबीच चिनजान थियो । अर्को भने आफ्नै स्कुलको विद्यार्थी भएकाले पीडक शिक्षक र पीडित विद्यार्थीबीच चिनजान थियो ।

नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति तथा आफन्तबाट बलात्कार हुने जोखिम रहेको प्रहरी अधिकारीहरूको बुझाइ छ ।

वडासचिव र अर्की बालिकाबीच पनि चिनजान रहेको प्रहरी अधिकारीहरू बताउँछन् । बलात्कारका अधिकांशका घटना चिनेजानेकै व्यक्तिबाट हुने सीआईबीमा समेत बसेर काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

अझ नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति तथा आफन्तबाट बलात्कार हुने जोखिम रहेको उनीहरूको बुझाइ छ ।

त्यस्ता बालिकाहरूलाई प्रलोभन देखाएर, फकाएर, बलात्कार हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

यस्ता घटनामा परिवार पनि सचेत हुन जरुरी रहेको मधेश प्रदेशका डीआईजी ओम अधिकारी बताउँछन् । आफ्नो बच्चा कहाँ जाँदैछ । कोसँग छ । उसको आनीबानी कस्तो छ जस्ता विषयमा अभिभावकले ध्यान दिनुपर्ने प्रहरीको बुझाइ छ ।

बारामा ३ वर्षीया बालिका बलात्कारपछि मृत भेटिएको केही दिनमै अर्की २ वर्षीया बालिका बेपत्ता भइन् । भलै उनी १२ घण्टापछि सकुशल भेटिएइन् । यस्ता घटनामा परिवार चनाखो हुन आवश्यक रहेको प्रहरीको बुझाइ छ।

सबैभन्दा बढी पीडित हुनेको उमेर ११ देखि १६ वर्ष हुँदा सबैभन्दा बढी पीडक भने ९ देखि २५ वर्ष उमेर समूहका छन् । आर्थिक वर्ष २०८३/८२ मा बलात्कार आरोपमा पक्राउ परेका २ हजार २२८ पुरुषमध्ये सबैभन्दा बढी १९ देखि २५ वर्ष उमेरका ९५४ जना छन् ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा बलात्कार आरोपमा २ हजार १६१ जना पक्राउ परेका थिए । तीमध्ये सबैभन्दा बढी १९ देखि २५ वर्ष उमेर समूहका ९०३ जना छन् । आर्थिक वर्ष २०८०/८१ मा बलात्कार आरोपमा २ हजार ३५८ जना पक्राउ परे । यो आर्थिक वर्षमा पक्राउ परेकामध्ये पनि सबैभन्दा बढी १९ देखि २५ वर्ष उमेरका ९७७ जना छन् ।

आर्थिक वर्ष २०७९/८० मा २ हजार २७७ जना बलात्कार आरोपमा पक्राउ परेका थिए । यो आर्थिक वर्षमा पनि सबैभन्दा बढी १९ देखि २६ वर्ष उमेर समूहका ९७२ जना छन् ।

आर्थिक वर्ष २०७८/७८ मा २ हजार ३२६ जना बलात्कार आरोपमा पक्राउ परेका थिए । उनीहरूमध्ये १९ देखि २५ वर्ष उमेरका मात्रै १ हजार ३५ जना छन् ।

के छ कारबाहीको व्यवस्था ?

बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्नेसम्मका विषय उठेका छन् । बारादेखि काठमाडौंसम्म भएको आन्दोलनमा पनि मृत्युदण्डको कानुन ल्याउनुपर्ने नारा गुञ्जिएका छन् ।

मृतक बालिकाका बाबुआमासँग गृहमन्त्री, कानुन मन्त्रीले गरेको सहमतिपत्रमा पनि यसबारे केही उल्लेख गरिएको छ । पीडित परिवार र सरकारबीच भएको तीनबुँदे सहमतिमा कानुन संशोधन गरिनेबारे उल्लेख गरिएको छ ।

‘जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरवलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन ७ दिनभित्र पेस गर्ने’ सहमतिपत्रमा उल्लेख छ ।

यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ७ सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने सहमतिमा उल्लेख छ ।

विद्यमान कानुनमा भने मृत्युदण्डबारे केही उल्लेख छैन । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा जबरजस्ती (बलात्कार) कसुर र सजायबारे उल्लेख गरिएको छ ।

जहाँ १० वर्षभन्दा कम उमेरका बालिका पूर्ण अशंक्त, अपांगता भएका वा ७० वर्ष माथिका महिलालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ ।

१० वर्षभन्दा माथि र १४ वर्षसम्मका बालिका बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद र १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ ।

१६ वर्षदेखि १८ वर्षसम्मकालाई बलात्कार गरेमा १० देखि १२ वर्ष कैद र १८ वर्षभन्दा माथि उमेर समूहका महिलालाई बलात्कार गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?