+
+
Shares

न्याय सेवाको उपसचिवको परीक्षा : ७ पदमा कोही पनि सिफारिस भएनन्

कूल माग संख्या ५३, प्रदेश २ बाट एक जनामात्र सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते ७:१९

३१ वैशाख, काठमाडौं । लोक सेवा आयोगले न्याय सेवातर्फ लिएको उपसचिव वा सो सरहको परीक्षामा ७ पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेका छैनन् । न्याय सेवाको न्याय समूह, कानुन समूह र सरकारी वकिल समूहबाट ७ पदमा उम्मेदवार सिफारिस हुन नसकेका हुन् ।

न्याय समूहमा आदिवासी जनजाती तर्फ १ र मधेशी तर्फ १ गरी २ पदमा, न्याय सेवाको कानून समूहमा दलित तर्फ १ पदमा र न्याय सेवाको सरकारी वकिल समूहतर्फ खुला २, महिला १ र मधेशी १ गरी ३ पदमा गरी जम्मा ७ पदमा उम्मेदवार सिफारिस हुन नसकेको लोक सेवा आयोगका प्रवक्ता एवम् सहसचिव किरणराज शर्माले जानकारी दिए ।

लोक सेवाले राजपत्रांकित द्वितीय श्रेणी, न्याय, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवातर्फ विभिन्न समूहमा ५३ जनाको लागि आन्तरिक, खुला तथा समावेशी तर्फ पदपूर्तिका लागि २०७५ मंसिर २६ गते विज्ञापन प्रकाशन गरेको थियो । तर, नियुक्तिका लागि ४६ जना मात्र सिफारिस गरिएको छ ।

प्रवक्ता शर्माले भने, ‘रिजल्ट हाम्रो विज्ञापन नम्बर अनुसार हुन्छ । पहिलो विज्ञापन नम्बरमा जसले बढी नम्बर ल्यायो त्यही पास हुन्छ । जस्तो- कुनै उम्मेदवार महिला र खुल्ला दुवैमा पास भएको रहेछ भने उसले खुला रोज्छ र महिला छाड्छ । यसरी खाली हुन्छ । अर्थात् लिखितमा पास हुँदाहुँदै पनि अन्तर्वार्तामा पहिलो विज्ञापनबाट छनोट भएका कारण परीक्षार्थी पुगेनन् ।’

हेर्नुहोस् यो तालिका

सेवा, समूह आ.प्र. खुला महिला आ.ज. मधेशी दलित माग पद संख्या अन्तर्वार्ताको लागि छनौट संख्या सिफारिश संख्या
न्याय, न्याय १७ २५ ३७ २३
न्याय, कानून १२ ४२ ११
न्याय, सरकारी वकिल १३ ५३
लेखापरीक्षण
व्यवस्थापिका संसद
जम्मा माग पद ३६ १० ५३ ४६ जना

विज्ञापन भएका पदहरु आन्तरिक तर्फ ३६, खुला तर्फ १०, महिला तर्फ ३ र आदिवासी/जनजाति तर्फ १, मधेशी तर्फ २ र दलित तर्फ १ जना माग गरिएको थियो । ती पदहरु न्याय सेवाको न्याय समूहमा २५, कानून समूहमा १२, सरकारी वकिल समूहमा १३, लेखापरीक्षण सेवामा १ र व्यवस्थापिका संसद सेवामा २ वटा रहेका थिए ।

परीक्षामा प्रदेश ३ बाट सबैभन्दा धेरै र प्रदेश २ बाट सबैभन्दा कम उम्मेदवार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका छन् । प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट १ जना, प्रदेश ३ बाट १५ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश ५ बाट ११ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना सिफारिश भएका छन् ।

जिल्लागत रुपमा हेर्दा काठमाडौंका पाँच जना, काभ्रे, गुल्मी, झापा र रुपन्देहीका तीन/तीन जना, अर्घाखाँची, कास्की, नुवाकोट, भक्तपुर, मोरङ र सुनसरीका दुई/दुई जना सिफारिस भएका छन् । यसैगरी अछाम, ओखलढुंगा, कैलाली, खोटाङ, धादिङ, पाल्पा, बाँके, बारा, बैतडी, भोजपुर, रुकुम, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली र स्याङ्जाका एक/एक जना उम्मेदवार सिफारिशमा परेका लोकसेवा आयोगले जनाएको छ ।

सिफारिश भएका उम्मेदवारहरुको उमेर समूह ३५ वर्ष मुनिका १३ जना, ३५ देखि ४० वर्षका १६ जना, ४० देखि ४५ वर्षसम्मका १४ जना र ४५ वर्ष माथिका ३ जना रहेका छन् ।

उपसचिव वा सो सरह पदको लिखित परीक्षा २०७५ साल माघ २७ देखि फागुन ८ गतेसम्म लिइएको थियो । २०७५ साल फागुन २१ गते लिखित परीक्षाको नतिजा प्रकाशन भएकोमा अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुको २०७६ साल वैशाख ८ गते देखि १० गतेसम्म द्वितीय चरणको ल्याकत परीक्षा अन्तर्गत In Basket Exercise परीक्षा र वैशाख १६ गतेदेखि २९ गतेसम्म अन्तर्वार्ता कार्यक्रम सञ्चालन गरिएको थियो ।

उपसचिव वा सो सरह पदका उम्मेदवारहरुले लिखित परीक्षा अन्तर्गत प्रथम पत्रको प्रशासन र व्यवस्थापन विषयमा १०० पूर्णांक (सबै सेवा समूहका लागि एउटै) र द्वितीय पत्र सेवा सम्बन्धी (प्रत्येक समूहका लागि छुट्टछुट्टै) विषयमा १०० पूर्णांकको विषयगत परीक्षा दिनुपर्ने व्यवस्था छ । लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणमा ल्याकत परीक्षण अन्तर्गत ३० पूर्णांकको In Basket Exercise र तृतीय चरणमा ३० पूर्णांकको अन्तर्वार्ता लिने व्यवस्था छ ।

लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने In Basket Exercise मा व्यवहारिक कार्यसम्पादन गर्ने तरिकाको लेखाजोखा, दिनहुँजसो गरिरहनुपर्ने कामको प्राथमिकता गर्ने तरिका, पुष्ट्याई र आधारको चिन्तन र तरिकाको परीक्षण हुन्छ । यस्तै अन्तर्वार्तामा व्यवहारिक प्रस्तुतीकरण र विश्लेषणात्मक क्षमता समेत परीक्षण गरी नियुक्तिका लागि सिफारिश गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?