 
																			बार्सिलोना/ स्विट्जरल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत मणिप्रसाद भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न जेनेभा भ्रमणलाई सफल र उपलब्धीमुलक बनाउने बताएका छन् ।
स्विट्जरल्याण्डको नेपाली समुदायले बर्नमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत भट्टराईले प्रधानमन्त्रीले जुन महिनाको पहिलो साता जेनेभा भम्रण गर्न लागेको जानकारी दिदै यस्तो बताएका हुन्।
एनआरएनए स्विट्जरल्याण्डले आयोजना गरेको कार्यक्रममा भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको सयौ वर्षगाँठको सम्मेलनमा भाग लिन प्रधानमन्त्री जेनेभा आउदैहुनुहुन्छ, भम्रणलाई सफल र उपलब्धीमुलक बनाउन गृहकार्य गर्दैछौं । स्विट्जरल्याण्डको नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रमसमेत रहेको राजदूत भट्टराईले जानकारी दिए ।
उनले पर्यटन प्रबर्धन, लगानी र प्रबिधि हस्तान्तरणलाई जोडेर आर्थिक कुटनीतिको क्षेत्रमा आँफूले काम गर्ने बताएका छन्। नेपालको फाइदाका लागि तीनवटा पक्षलाई जोडेर दूतावासले आर्थिक कुटनीतिको क्षेत्रमा कार्यक्रमहरु तय गर्ने बताएका हुन् ।
परराष्ट्रमन्त्रालयले हालै ब्रेनगेन सेन्टर कार्यक्रम ल्याएको भन्दै आँफूसँग भएको ज्ञान,सीप र दक्षता बारेमा मुलुकलाई जानकारी गराउन अनुरोध गरे। राजदूत भट्टराईले भने, ‘मन्त्रालयको वेभसाइटमार्फत जानकारी गराउन आह्वान गर्दछु, देशलाई योगदान दिने मार्ग खुलेको छ, आफ्नो दक्षताबारे जानकारी गराउन अनुरोध गर्दछु।’
भिजिट नेपाल २०२० सफल बनाउन अनुरोध गर्दै उनले भने, ‘वर्षमा एक पटक तपाईंहरु नेपाल पुग्नु भयो भनेपनि मुलुकलाई ठुलो फाइदा हुन्छ। पर्यटन विकासका लागि गैरआवासीय नेपालीहरुको ठूलो भूमिका रहन्छ। आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दछु।’
स्विट्जरल्याण्ड तथा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि राजदूत नियुक्त भएर भट्टराई हालै जेनेभा आइपुगेका हुन्।
एनआरएनए स्विट्जरल्याण्डले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष भूमिराज गुरुङ्ले दूतावास र नेपाली समुदायको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष सजंय मुडवरी, आईसीसी सदस्य राम महतो, महिला संयोजक शुभ एल्मर लामालगायत संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4