Comments Add Comment

छापामा आज : युवालाई विदेश पठाउन भाषा सिकाउँदै प्रदेश सरकार

बीआरआईमा नेपाली संलग्नताप्रति चीनको चासो, भन्यो– सजग रहनू

१ जेठ, काठमाडौं । युवालाई स्वरोजगार बनाउन सुदूरपश्चिम सरकारले भाषा सिकाउने तयारी गरेकोदेखि उपराष्ट्रपतिको स्वागतका लागि बालबालिका दुरुपयोगसम्मका खबर आजका दैनिक पत्रिकाहरुमा हेडलाइन बनेको छ । त्यस्तै, सरकारी जग्गा दुरुपयोग, बीआरआईमा नेपालको संलग्नतालाई लिएर अमेरिकाले राखेको चासो, अनुदान दुरुपयोगलगायतका विषयलाई पनि पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक पहिलो पृृष्ठमा समेटेका छन् ।

केन्द्र सरकारले देशभित्रै रोजगारीको सिर्जना गर्ने बताइरहेका बेला सुदूरपश्चिम सरकारले भने त्यसको ठीकविपरीत युवालाई विदेश पठाउन सहजीकरण गर्ने नीति अघि सारेको छ । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्रीको युवा विदेश पलायन रोक्ने सुरुवाती प्रतिवद्धता भुल्दै विदेश पठाउन भाषा सिकाउने तयारी गरेको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार, प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । रोचक त के छ भने यस्ता भाषा कक्षा सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ ।

बीआरआईमा नेपाली संलग्नताप्रति चीनको चासो

चीनको महत्त्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गरेको चीन भ्रमणका क्रममा बीआरआईमा नेपालले राखेको प्रस्तावमा पारित भएको थियो ।

कान्तिपुरका अनुसार, दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको भन्दै सचेत रहन सुझाएका छन् । नेपाल भ्रमणमा रहेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

चीनले बीआरआईमार्फत विश्वव्यापी प्रभाव जमाउँदै गएपछि अमेरिकाले यसको विरोध गर्न थालेको छ । हालै जारी अमेरिकी प्रतिवेदनमा बीआरआईमा संलग्न देशहरुमा भ्रष्टाचार बढेको, अधिनायकवाद हाबी हुँदै गएको र राज्य नियन्त्रित अर्थतन्त्रले जरो डाडेको उल्लेख छ ।

उपराष्ट्रपतिको स्वागतका लागि बालबालिकालाई १ घण्टा पैदल

कान्तिपुरले आज उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि रौतहटमा बालबालिकाको दुरुपयोगसम्बन्धी समाचारलाई पनि गम्भीरताका साथ उठाएको छ । कान्तिपुरका अनुसार, मंगलबार रौतहत पुगेका उपराष्ट्रपतिको स्वागतका लागि ४० डिग्रीमा बालबालिकालाई १ घण्टा हिँडाइएको छ ।

काउन्सिल विधेयकमा राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएकोदेखि सरकारी अस्पतालमा निजी क्लिनिक सञ्चालन भएकासम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरीद गर्न लागेको नागरिकले लेखेको छ । चालू आर्थिक वर्षमै चारवटा गाडी खरीद गरिसकेको मन्त्रालयले थप सात गाडी खरीदको प्रक्रिया अघि बढाएको छ । यसका लागि आर्गानिक कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्र स्थापनालगायत विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको सुर्खेतबाट नगेन्द्र उपाध्यायले खबर लेखेका छन् ।

राजमार्ग नै व्यक्तिका नाममा दर्ता भएको अर्को खबर पनि नागरिकमा छ । सिरहाको गोलबजार नगरपालिका–९ स्थित दुई बिघा नौ कट्ठा ३ धुर सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको हो ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment