Comments Add Comment

गोरखा दरबार पुनर्निर्माणमा ठेकदारको लापरबाही

आउँदो मंसिरमा सक्नुपर्ने पुनर्निर्माण अहिलेसम्म जम्मा २० प्रतिशत

२ जेठ, गोरखा । २०७४ कात्तिकमा सुरु भएको गोरखा दरबारको पुनर्निर्माणमा अत्यधिक ढिलाइ भएको छ । आउँदो मंसिरसम्म सक्नुपर्ने पुनर्निर्माणको काम डेढ वर्षमा जम्मा २० प्रतिशत सकिएको छ । निर्माण सामग्री अभाव र डिजाइन परिवर्तन भइरहेको बाहनामा ठेकदार कम्पनीले काममा ढिलाइ गरेको छ ।

पछिल्लो समय २० दिनदेखि मन्दिर पुनर्निर्माणको काम रोकिएको गोरखा दरवार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले बताए । ‘दुई/तीन दिन भयो काठ आएको,’ उनले भने, ‘अव त काम होला भनेर ठेकेदारलाई फोन गरेको सम्पर्कमै आएन ।’ दरवार पुननिर्माणको जिम्मा पचली भैरव सिभाको जेभीले पाएको हो ।

आउँदो मंसिर ३० गतेभित्र काम सक्ने गरी सम्झौता भए पनि ठेकदारले लापरबाही गरेको हेरचाह अड्डाको गुनासो छ । ‘रफ्तारमा काम अघि बढ्ने हो भनेपनि अवको एक बर्षमा बाहिरी संरचना र छाना छाउने काम मात्र सक्न सम्भव देखिन्छ, भित्री भागको काम गर्न भ्याइदैन, समय सकिन सात महिना बाँकी छ, तोकिएको समयमा सकिने छाटकाट देखिँदैन,’ कट्टेलले भने ।

पुनर्निर्माणमा भएको ढिलाइका कारण भक्तजनलाई पूजाआजामा पनि समस्या भएको पुजारी प्रदीप योगी बताउछन् । भत्काइएको दरवारका सामग्री भण्डारण गरिएको छैन । ठाउँ अभावमा इट्टा र ढुङ्गाहरु अव्यवस्थित रुपमा दरवार आसपासै नै राखिएका छन् ।

यो पनि पढ्नुहोस गोरखा दरबार पुनर्निर्माण सुस्त, जगमै बित्यो डेढ वर्ष

मन्दिर पुनर्निर्माण नहुँदाको असर व्यापारमा समेत परेको छ । ‘दर्शन गर्न जान पनि सहज छैन भन्ने हल्ला वाहिरी जिल्लामा फैलिएको छ,’ स्थानीय होटल व्यवसायी दीपक योगीले भने, ‘त्यसैले भक्तजनको संख्या पनि कम नै छ ।’

समयमै काम सम्पन्न गर्न ठेकेदारलाई बारम्बार ताकेता गरिरहेको दरवार हेरचाह अड्डाले जनाएको छ । हाल चुना र वालुवाबाट भुइँको भाग पिसिसी गर्ने काम सम्पन्न भएको छ । इलम ढुङ्गामाथि लकासी र थाम राख्ने काम शुरु हुने चरणमा रहेको कार्यालयका निमित्त प्रमुख कट्टेलले बताए । भूकम्पले क्षति पुगेको दरवार कुल ४ करोड ३३ लाखको लागतमा पुनर्निर्माण हुन लागेको छ ।

पुनर्निर्माणको जिम्मा पाएका ठेकदार सुशीलबाबु श्रेष्ठले बारम्वार डिजाइन परिवर्तन हुँदा ढिलो भएको जिकिर गरे । ‘चार/पाँच पटक डिजाइन चेन्ज भयो, फेरि पिसिसी गरेपछि करिव २० दिन त्यत्तिकै छाड्नुपर्छ,’ उनले भने । टिम्बर कर्पाेरेशनबाट काठ ल्याइसकेको बताउँदै उनले शुक्रबारबाट काम शुरु हुने दावी गरे । ‘सकेसम्म म्याद थप नगरी काम सक्ने लक्ष्य छ, लाइन लेवल समयमै दियो भने समयमै काम सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment