३ जेठ, काठमाडौं । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको ललितपुरस्थित च्यासल फुटबल मैदानको स्तरोन्नतिको काम चार वर्षसम्म पनि पुरा भएको छैन ।
भूकम्पले दशरथ रंगशाला भत्काएपछि ठुला फुटबल प्रतियोगिता आयोजना गर्ने मैदानको खोजीका क्रममा सरकारले च्यासलको स्तरोन्नती थालेको थियो । तर, मुस्किलले आधा काम पनि भएको छैन ।
२०७५ फागुनसम्म प्याराफिट, नाली, गेट, शौचालय तथा टिकट घर निर्माण सक्ने गरी डाँफे प्रेररा प्रतिष्ठानले ३३ करोडमा ठेक्का पाएको थियो । तर, अझै ३०-४० प्रतिशत काम बाँकी छ ।
तीन ठूला प्याराफिटको ब्लक निर्माण भइसकेको छ भने पूर्वपट्टी ठूला निर्माण भइरहेको छ ।
तोकिएको समयमा सम्पन्न नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ठेकेदारलाई चार महिनाको समयअवधि थप गरेको थियो । थपिएको समय पनि असारसम्ममा सकिँदैछ तर, काम सकिने सम्भावना छैन ।
मैदानमा नाली, शौचालय, दुबैतिर गेट, टिकट घर लगायतका अन्य काम अझै सुरु भएको छैन । असोजसम्म काम सक्ने ठेकदार कम्पनीको दाबी छ ।
तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको पालामा अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबीच च्यासल फुटबल मैदान निर्माण गर्नेबारे सम्झौता भएको थियो । मैदान स्तारोन्नतीपछि लाइट, आर्टिफिसियल दुबो राख्ने लगायतका काम एन्फाले गर्छ ।
राखेपका इन्जिनियर पूर्ण सुन्दासले काम अन्तिम चरणमा पुगेको दाबी गरे ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले केही समयमा च्यासल रंगशाला खेल्न योग्य हुने जानकारी दिए । उनले भने, ‘सरकारले भौतिक संरचना निर्माण सम्पनन गरेपछि एन्फाले मैदान निर्माण गर्नेछ । त्यहाँ प्राकृतिक दुबोको सट्टा कृत्रिम दुबो हालिनेछ ।’
बजेट प्राप्त भएपछि लाइट पनि हालिने र रंगशाला अन्तर्राष्ट्रिय स्तरको हुने उनले बताए । यो मैदानमा घरेलु प्रतियोगिता मात्रै नभई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्ने एन्फाको लक्ष्य छ ।
कस्तो बन्ने छ रंगशाला ?
च्यासल फुटबल मैदानलाई दशरथ रंगशालाको विकल्पका रुपमा हेरिएको छ । यसमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनसक्ने एन्फाको दाबी छ ।
एन्फा र राखेपबीच सुरुमा सम्झौता हुँदा करिब १० हजारदेखि १२ हजार दर्शक क्षमताको बन्ने आंकलन गरिएको थियो । तर अहिले दर्शक क्षमता घटेर ७ हजार ५०० को हारहारी हुने भनिएको छ । यसका बाबजुद सातदोबाटोको एन्फा मैदानभन्दा सुविधासम्पन्न हुनेछ ।
प्रतिक्रिया 4