Comments Add Comment

ठेकदारको लापरबाही, असारमा सक्नुपर्ने पुलको जम्मा १० प्रतिशत काम

७ जेठ, गोरखा । गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने लुदी खोलामाथिको मोटरेवल पुल निर्माणमा ठेकदारको चरम लापरवाही देखिएको छ ।

यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि हाल सम्म १० प्रतिशत मात्र काम भएको छ । पूर्वाधार बिकास कार्यालय लम्जुङबाट संचालित राष्ट्रिय ग्रामीण यातायात सडक सुदृढिकरण परियोजना (एसएनआरटीपी) अन्तर्गत पुल बन्न लागेको हो ।

तीन करोड ४४ लाख रुपैयाँ लागतमा निलगिरी अधिकारी जेभी काठमाडौले पुल निर्माण गर्ने ठेक्का लिएको छ । पुल निर्माणका लागि २०७५ असार २९ गते सम्झौता भएको थियो । सम्झौता अनुसार यही असार २८ गतेभित्र काम सक्नुपर्ने छ । तर लक्ष्मीबजार–तीनमाने–वेनिघाट सडक अन्तरगत पर्ने उक्त पुल निर्माणको काम अहिले अलपत्र छ ।

‘ठेकदारले काम अलपत्र पारेर छाडेको छ,’ गोरखा नगरपालिका–९ का वडाध्यक्ष कुलबहादुर कुवँरले भने, ‘काम समयमै सक्छु भनेर हामी सबैको अगाडि प्रतिवद्धता पनि गरेको थियो तर बिजोग बनाएर छाड्यो ।’

ठेकदारले फोन समेत नउठाउने गरेको भन्दै शहीद लखन गाउँपालिका–५ का वडाध्यक्ष यमबहादुर रानाले आक्रोश व्यक्त गरे । ‘दक्षिण वेल्टको बजार आउने मुख्य नाका नै यही हो, यो रुट छोटो पनि छ,’ उनले भने, ‘पुल समयमै बने यहाँका स्थानीयलाई धेरै फाइदा पुग्छ ।’ पुल बनेमा मनकामना, ताक्लुङ, मकैसिङ, ताङलीचोक, फुलेल, घ्याल्चोक, भूम्लिचोक लगायतका स्थानीय लाभान्वित हुने उनले बताए ।

सो क्षेत्रका अधिकांश स्थानीय कृषि पेशामा आधारित छन् । उत्पादित कृषि उपज सोही रुट हुदै बजार सम्म पुर्‍याउनुपर्ने मास्केछापका नुन बहादुर थापा बताउछन् । ‘हामी खेती किसानी गरेर खाने मान्छे, बल्ल बल्ल उत्पादन गर्‍यो बजार लानै समस्या हुन्छ,’ उनले भने । बर्षातको समयमा खोला बढेर आउजाउ गर्न नसकिने उनले बताए । ‘पुल निर्माण भए हामी किसानलाई धेरै राहत मिल्थ्यो तर ठेकदारले काम नै गर्दैन,’ उनले भने । ठेकदारको लापरवाहीले स्थानीयलाइ मानसिक तनाव भएको उनले गुनासो गरे ।

पूर्वाधार विकास कार्यालय लम्जुङ्गका इन्जिनियर रवीन्द्र तिवारीले ठेकदारलाई बारम्बार ताकेता गरिरहेको बताए । ‘अस्ती भरखर पनि चिठी पठाएका छौ, काम गरिरहेका छौ भनेका छन्,’ उनले भने ।

पुल निर्माणको जिम्मा पाएका ठेकदार डालनाथ अधिकारीले प्राविधिक समस्याका कारण केही ढिलाइ भएको बताए । ‘समस्या अहिले हटेको छ, काम शुरु गरेका छौं, तोकिएको समयमै सक्छौ,’ उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment