Comments Add Comment

जिदानको फेरिएको व्यवहार

८ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानका लागि नयाँ सिजनमा चुनौती थपिएका छन् । पुनरागमनपछिको साढे नौ हप्तामा जे अपेक्षा गरिएको थियो, व्यवहार त्यसअनुरुप देखिएको छैन ।

रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएर हिँडेका प्रशिक्षक जिनेदिने जिदान सिजनको ११ खेल बाँकी हुँदा पुनः क्लब भित्रिएका थिए । क्लबमा पछिल्लो समय उनीमाथि जे आश गरिएको थियो त्यसका लागि समय अझै बाँकी रहे पनि उनको व्यवहारमा भने निकै भिन्नता देखिएको छ ।

४६ वर्षका जिदान अहिले खेलाडीहरुसँग कम बोल्ने र प्रशिक्षणकै दौरानमा पनि धेरै घुलमिल नहुने गरिरहेका छन् । केही खेलाडीलाई विदाइ गरेर नयाँ अनुहारहरु ल्याउने समय आएकाले पनि उनको व्यवहार फेरिएको हुनसक्छ ।

तर जिदान क्लबमा फर्किएपछि आफ्नो लय गुमाएका केही खेलाडी पुनः खेलमा फर्कने आश गरिएअनुरुप प्रदर्शन भने भएन । कुनै अवस्था खेलाडीले नै अवसरको सदुपयोग गर्न नसकेको भए पनि त्यसमा प्रशिक्षकको भूमिका पनि आश गरेअनुरुप देखिएन ।

रियल मड्रिडमा जिदान फर्किएको सबैभन्दा ठूलो दुःख ग्यारथ बेललाई परिरहेको देखिन्छ । जिदान र बेलको नराम्रो सम्बन्ध बाहिर देखिने गरी नै प्रष्ट हुँदै आएकै हो । उनलाई क्लबले बाहिर पठाउन खोजे पनि उनी भने वेवास्ताका वावजुद छाड्ने मनस्थितिमा देखिँदैनन् ।

स्पेनिस फुटबलका जानकार गिलियम बालागु जिदान बेलसँग काम गर्न नचाहै पनि उनलाई भनेजस्तो सहज भने नरहेको बताउँछन् । किनभने २०१३ मा विश्व कीर्तिमानि ८५ मिलियन पाउण्डमा मड्रिड आएका बेललाई ३० वर्षको उमेरमा भनेजस्तो रकममा बेच्न जिदानलाई पनि सहज भने छैन ।

टोटनह्याममा क्रिष्टियन इरिकसनसँग बेललाई साट्ने मड्रिडको चाहना रहे पनि बेलका लागि आवश्यक भनिएको तलब दिन टोटनह्याम तयार छैन । टोटनह्यामले कम तलबमा राख्ने गरी लोनमा लैजाने सोचे पनि त्यो सम्भव हुँदैन ।

भिनिसियस जुनियर र मार्सेलोको खेलमा सुधार हुने अपेक्षा गरिहँदा जिदानले त्यसलाई पनि सम्बोधन गर्न सकेको देखिँदैन । जिनादको अण्डरमा धेरैभन्दा धेरै खेल खेलेर ब्राजिलको कोपा अमेरिकी टिममा पर्ने भिनिसियसको चाहना पूरा हुन सकेन । त्यसमा गोलिगाँठामा लागेको चोटले नकारात्मक काम गरेको भए पनि भिनिसियसले जिदानसँग देखाएको आश पनि कमजोर बन्यो ।

पछिल्लो समय भ्यालेन्सियासँग २–१, रायो भालेकानोसँग १–०, रियल सोसिडाडसँग ३–१ र रियल बेटिससँग २–० ले हारेर पनि रियल मड्रिडको खराब ला लिगा अझै खराब बन्न पुग्यो । त्यसले पनि जिदान फर्किएपछि नयाँ खेलाडी नल्याउँदासम्म मड्रिडको अवस्था सुधार नहुने प्रस्ट भयो ।

दुई महिनाअघि क्लबमा फर्किंदा जुन अवस्थामा जिदान थिए, अहिले त्यो भने छैन । पछिल्ला खराब हारहरुले पनि उनलाई दुःखी बनाएको छ । उनी फर्र्किएपछिको ११ खेलमा पाँच जित, चार हार र दुई बराबरी भएको थियो, जुन अपेक्षाकृत होइन ।

किनभने यदि जिदान फर्किएपछिका ला लिगा खेलहरुलाई विश्लेषण गर्ने हो भने रियल मड्रिड आठौँ स्थानमा रहने छ । जिदान फर्किएपछिको ला लिगामा बार्सिलोनाले २४ अंक, भ्यालेन्सियाले २२, एथ्लेटिको मड्रिडले २०, स्पानियोलले १९, सेभियाले १९, एथ्लेटिकले १९ र भिलारियलले १८ अंक जितेको थियो भने मड्रिडले १७ अंक मात्रै ल्यायो ।

जुन जित प्रतिशतका हिसाबमा ४५.४ प्रतिशत हुन आउँछ । उनीअघि प्रशिक्षक रहेका जुलेन लोपेटेगीको जित प्रतिशत ४० थियो भने सान्टियागो सोलारीको ७० प्रतिशत थियो ।

जिदान सन् २०१६ को जनावरीमा सिजनको बीचबाट राफेल बेनिटेजको स्थानमा रियल मड्रिड प्रशिक्षक नियुक्त भएका थिए । त्यससँगै उनले लगातार तीन सिजन मड्रिडलाई च्याम्पियन्स लिग जिताएर कीर्तिमान बनाए । तेस्रो उपाधि जिताएको एक हप्ता पनि उनी क्लबमा रहेनन् ।

क्लबमा धेरै कुरा बिग्रँदै गएको थाहा पाएका साथै क्रिष्टियानो रोनाल्डोले क्लब छाड्ने बुझेका उनले चलाखिपूर्ण निर्णय लिएको त्यतिबेलै फुटबल विश्लेषकहरुले बताएका थिए । क्लबमा धेरै कुरा फेरिएको हुँदा आफूले छाडेको बताउने जिदानले अहिले फर्किएर त्यही फेरिएका कुरा मिलाउन सकिरहेका छैनन् ।

भर्खरै सकिएको सिजन जिदान रियल मड्रिडमा तेस्रो प्रशिक्षक बनेका हुन् । उनले छाडेपछि विश्वकपको एक दिन अघि रियल मड्रिड प्रशिक्षक बनेका जुलियन लोपेटेगी लामो समय टिक्न सकेनन् र बर्खास्तमा परे । उनको स्थानमा आएका सान्टियागो सोलारीले पनि सोचेजस्तो गर्न सकेनन् ।

सोलारीको सुरुवात केही राम्रो भए पनि महत्वपूर्ण हप्तामा भने इतिहासकै खराब समय रह्यो । २७ फेब्रुअरीदेखि ५ मार्चसम्ममा ला लिगा असम्भव देखिनुका साथै कोपा डेल रे र च्याम्पियन्स लिग गुमाउनुपरेको थियो ।

जिदान भविश्य बुझ्न र देख्न सक्ने प्रशिक्षकका रुपमा देखिए पनि हारको डरले छुट्टिएका उनी आफूअनुकुलको अवस्थामा फर्कन पाएर पनि कमजोर बनेका छन् । तर जारी सिजन बिग्रिएको मड्रिडमा नयाँ सिजनका लागि उनले भनेजस्तै तयारी गर्न भने पाउने नै छन् ।

किनभने रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा आवश्यक पर्ने ठूलो निर्णय लिने छुट जिदानलाई दिएका छन् । जसले बिग्रिएको अवस्था सुधार गर्दै मड्रिड र आफ्नो पुरानै छवि बनाउन जिदानलाई सघाउने छ । जिदानले मड्रिड टिममा को खेलाडी ल्याउने र को खेलाडीलाई बिदा गर्ने भन्ने निर्णय लिन पाउनु ठूलो अवसर नै हो ।

यसैले पनि जिदानले आफूले क्लबमा को खेलाडी ल्याउने र कसलाई खेलाउने भन्ने पूर्ण निर्णय लिन नपाउने हो भने छाडेर जाने बताएका छन् ।

एफसी पोर्टोबाट ब्राजिलियन सेन्टर डिफेन्डर एडर मिलिटाओ र ब्राजिलियन क्लब सान्तोषबाट फरवार्ड रोड्रिगो गोइस किनिसकेको मड्रिडले नयाँ सिजनका लागि गएका वर्षहरुमा भन्दा धेरै लगानी गर्ने जनाइसकेको छ ।

इंग्लिस क्लब चेल्सीबाट इडन हजार्ड र फ्रेन्च क्लब पीएसजीबाट केलियन एमबाप्पे वा नेइमार ल्याउने हल्लाहरु चलिरहे पनि एकै सिजन त्यतिका रकम खर्च गर्न भने मड्रिडलाई सहज देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment