Comments Add Comment

यी हुन् वनडे वर्ल्डकप खेलाइने ११ मैदान, लर्ड्समा पाँचौ पटक फाइनल

१० जेठ, काठमाडौं । इंग्ल्याण्डको वेल्समा ३० मेदेखि १४ जुलाईसम्म १२ औं वन डे विश्वकप प्रतियोगिता हुँदैछ । यो ४५ दिनको अवधिमा ४८ म्याच हुनेछन् । खेल १० शहरका ११ स्टेडियममा खेलाइने छ । तीमध्ये ८ स्टेडियम एक सय वर्षभन्दा पुराना छन् ।

कूल ४८ मध्ये ३६ म्याच तीनै १ सय वर्ष पुराना ८ स्टेडियममा हुनेछन् । यी सबै स्टेडियमसँग कुनै न कुनै कहानी जोडिएको छ । कुनै विश्वकै सबैभन्दा पुराना छन् भने कुनै सबैभन्दा नयाँ । रोज बाउलमा पहिलो पटक विश्वकप म्याच हुँदैछ । द ओभलमा इंग्ल्याण्डको सबैभन्दा पुरानो फुटबल टुर्नामेन्ट एफए कपको फाइनलसमेत भइसकेको छ ।

अब विस्तृतमा चर्चा गरौं वनडे विश्वकप खेलाइने ११ स्टेडियमहरुको बारेमा ।

१. लर्ड्स (लण्डन) : यो मैदान सन् १८१४ मा बनेको थियो । यो विश्वकै सबैभन्दा पुरानो स्टेडियम हो । यसको दर्शक क्षमता २८ हजार छ । यसै मैदानमा फाइनलसहित पाँच म्याच खेलाइने छ । यहाँ सन् १८८४ मा पहिलो पटक टेस्ट म्याच खेलिएको थियो ।

यो स्टेडियमको नाम फाउन्डर थोमस लर्डको नामबाट राखिएको हो । थोमसले १५ वर्षसम्म क्रिकेट खेलेका थिए । यसै मैदानमा वर्ल्ड कपको पाँचौ पटक फाइनल आयोजना हुने छ । यहाँ विश्वकै सबैभन्दा पुरानो खेल संग्रहालय (एमसीसी म्युजियम) पनि छ । सन् २००५ सम्म अन्तर्राष्ट्रिय क्रिकेट आउन्सिल (आईसीसी)को हेडक्वाटर पनि यहीँ थियो ।

लण्डनको इतिहास २ हजार ईसापूर्वको छ । लण्डनमा पहिलो शताब्दीमा पनि रोमन नागरिकले यहाँ शासन गरेको पनि बताइन्छ । यहाँ ३०० भन्दा बढी भाषा बोल्ने मानिसहरुको बसोबास छ ।

२. एजबेस्टन (बर्मिङ्घम) : यस स्टेडियमलाई इडन गार्डन पनि भनिन्छ । यो स्टेडियम सन् १८८२ मा बनेको थियो । यसको दर्शक क्षमता २५ हजार छ । यस मैदानमा सेमिफाइनलसहित ५ खेल खेलाइने छ । यहाँका दर्शक जोशिला र उत्साही छन् । त्यसैले यस स्टेडियमलाई इडन गार्डन भनिएको हो ।

बर्मिङ्घममा २५ भन्दा कम उमेरका मानिसहरुको जनसंख्या ४० प्रतिशत रहेको बताइन्छ । त्यसैले बर्मिङ्घमलाई युरोपको ‘युवा शहर’ भनेर पनि चिनिन्छ ।

३. ब्रिस्टल काउन्टी (ब्रिस्टल) : यो स्टेडियम सन् १८८९ मा बनेको थियो । यसको दर्शक क्षमता १७ हजार ५०० छ । यहाँ तीन खेल खेलाइने छ । इंग्ल्याण्डको सबैभन्दा सफल फर्स्ट क्लास क्रिकेटर डा विलियम गिल्बर्ट ग्रेसले यसको स्तर बढाउन भन्दै यसलाई सन् १८८९ मा खरिद गरेका थिए ।

एवोन नदी किनारमा बसेको यस ब्रिस्टल शहरलाई सन् २०१५ मा ‘यूरोपियन ग्रिन क्यापिटल’को दर्जा दिइएको थियो । ब्रिस्टल ब्रिटेनको सबैभन्दा पहिलो साइकल सिटी हो ।

४. सोफिया गार्डस (कार्डिफ) : यो स्टेडियम सन् १९६७ मा बनेको थियो । यसको दर्शक क्षमता १५ हजार ६४३ छ । यहाँ चार खेल खेलाइने छ । यो दोस्रो सानो स्टेडियम हो । सबैभन्दा नयाँ इन्टरनेशनल भेन्यू पनि हो यो । यहाँ पहिलो वन डे सन् १९९९ मा खेलिएको थियो ।

नेशनल जियोग्राफिकको रिपोर्टअनुसार कार्डिफ पर्यटकीय आकर्षणको लागि सबैभन्दा रुचाइने छैटौं गन्तव्य हो । यहाँका १८.८ प्रतिशत जनसंख्याले कुनै पनि धर्म मान्दैनन् ।

५. रिभरसाइड (चेस्टर ली स्ट्रिट) : यो स्टेडियम सन् १९९५ मा बनेको थियो । यसको दर्शक क्षमता २० हजार छ । यहाँ ३ म्याच खेलाइने छ । यो ब्रिटेनको सबैभन्दा नयाँ मैदानमध्ये एक हो ।

पहिलो शताब्दीमा रोमन नागरिकले स्ट्रिट शहरमा चेस्टर नामको एक किल्ला बनाएका थिए । त्यसैको नामबाट यस शहरको नाम राखियो । यस शहरमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत ‘डरहम क्यासल-डरहम क्याथडि्रल’ छ ।

६. हेडिंग्ले (लिड्स) : यस स्टेडियमको निर्माण सन् १८९० मा भएको थियो । यसको दर्शक क्षमता १८ हजार ३५० छ । यहाँ चार म्याच खेलाइने छ । यो मैदानमा १८९९ मा टेस्ट र १९७३ मा पहिलो पटक वनडे खेल खेलिएको थियो । तर टी-२० म्याच भने हालसम्म भएको छैन ।

यहाँ रग्बीको म्याचका साथै कन्सर्ट पनि आयोजना हुन्छ । लिड्स रोजगारको केन्द्र पनि हो । यहाँका ७७ प्रतिशत मानिस निजी क्षेत्रमा काम गर्छन् ।

७. द ओभल (लण्डन) : यो स्टेडियम सन् १८४५ मा बनेको थियो । यसको दर्शक क्षमता २५ हजार छ । यहाँ पाँच म्याच हुनेछ । इंग्ल्याण्डमा पहिलो पटक टेस्ट क्रिकेट यसै मैदानमा स्न १८८० मा भएको थियो ।

यसै मैदानमा सन् १८७२ मा एफए कपको पहिलो फाइनल खेल खेलिएको थियो । एफए कप इंग्ल्याण्डको सबैभन्दा पुरानो टुर्नामेन्ट हो ।

८. ओल्ड ट्राफड (म्यानचेस्टर) : यस स्टेडियमको निर्माण सन् १८५७ मा भएको थियो । यसको दर्शक क्षमता २५ हजार छ । यस मैदानमा सेमिफाइनलसहित ६ खेल खेलाइने छ ।

इंग्ल्याण्डकै फुटबल क्लब म्यानचेस्टर युनाइटेडको स्टेडियमको नाम पनि ओल्ड ट्राफड नै हो । यहाँ म्युजिक कन्सर्ट पनि हुन्छ । म्यानचेस्टर विश्वको पहिलो औद्योगिक शहर हो ।

९. टेन्ट ब्रिज (नटिङ्घम) : यो स्टेडियम सन् १८४१ मा बनेको थियो । यसको दर्शक क्षमता साढे १७ हजार छ । यहाँ पाँच म्याच खेलाइने छ । लर्ड्सपछि यो विश्वको दोस्रो पुरानो क्रिकेट स्टेडियम हो ।

नटिङ्घमलाई युनेस्कोले सन् २०१५ मा ‘साहित्यको सहर’ को दर्जा दिएको थियो । यहाँ विश्वको सबैभन्दा पुरानो व्यवसायीक फुटबल क्लब नट्स काउन्टी पनि छ ।

१०. रोज बाउल (साउथम्पटन) : रोज बाउल स्टेडियमलाई एज बाउल पनि भनिन्छ । यो हेर्दा कचौरा आकारको छ । यो स्टेडियम २००१ मा बनेको थियो । यसको दर्शक क्षमता २५ हजार छ । यसपटक यो मैदानमा पाँच खेल खेलाइने छ ।

यो मैदानमा वर्ल्ड कपको खेल पहिलोपटक आयोजना गरिएको हो । यसको बाहिरी क्षेत्रमा १८ होलको गल्फ मैदान छ । यहाँ स्थानीयबासीले हरेक वर्ष नोभेम्बर महिनामा आतिसबाजीसहित प्रदर्शन गर्दछन् ।

११. काउन्टी ग्राउन्ड (टान्टन) : यो स्टेडियम सन् १८८२ मा बनेको थियो । यसको दर्शक क्षमता १२ हजार ५०० छ । यहाँ तीन म्याच हुनेछ । यो मैदान बनिसकेपछि अन्तर्राष्ट्रिय खेल आयोजना गर्न १०१ वर्ष अघिसम्म पर्खनु पर्‍यो ।

यहाँ सन् १९८३ मा वर्लड कप म्याच भएको थियो । यो अहिलेको वर्लड कपको सबैभन्दा सानो मैदान हो । यहाँ बेसबल म्याच र कन्सर्ट आयोजना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment