Comments Add Comment

बुटवल सामुदायिक वनमा फेरि अर्को ताला

विशेष साधारणसभा बोलाएको विरोधमा प्रधान समूहले लगायो ताला

Photo Credit : पत्रकार सम्मेलन गर्दै प्रधान समूह

१० जेठ, बुटवल । बुटवल सामुदायिक वन विगत डेढ बर्षदेखि अस्तब्यस्त छ । सरकारले उत्कृष्ट बनको रुपमा सम्मान गरेको वनमा २ वटा समानान्तर समिति हुँदा एउटै कार्यालयमा ताला लाग्ने र खोल्ने क्रम प्रतिस्पर्धा जस्तै भएको छ ।

वनका पूर्वअध्यक्ष समेत रहेका महेन्द्रकुमार राजभण्डारी संयोजक रहेको समितिले बिशेष साधारणसभा आह्वान गरेपछि एक समूहले शुक्रबार फेरि ताला लगाएको हो । जेठ १३ गतेलाई बिशेष साधारणसभा बोलाएपछि त्यसलाई विधान विपरीत भन्दै माधव प्रधानको नेतृत्वको समितिले तालाबन्दी गरेको हो ।

वनको विवादबारे अख्तियारमा मुद्धा चलिरहेकाले अहिले साधारणसभा गर्नु कानुन विपरीत हुने उनीहरुको दावी छ ।

वामपन्थी र कांग्रेस निकट उपभोक्ताले छुट्टाछुट्टै कार्यसमिति चयन गरी आफूलाई आधिकारिक दावी गरिरहका छन् । जिल्ला वन कार्यालयले विवाद समाधान गर्न भन्दै अर्को समिति पनि चयन गरेको छ । वन कार्यालयले बनाएको महेन्द्रकुमार राजभण्डारी नेतृत्वको समितिले सरकारी लेटरप्याड दुरुपयोग गरेको भन्दै प्रधान नेतृत्वको समितिले कारबाहीको माग गरेको छ ।

प्रदेश ५ को उद्योग पर्यटन तथा वन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालयको लेटरप्याडमा वन समूह संयोजक महेन्द्रकुमार राजभण्डारीको हस्ताक्षर र सदस्य सचिव रामबहादुर सिलवालको हस्ताक्षर रहेको भेटिएको प्रमाण पत्रकार सम्मेलनमा वितरण गरिएको थियो ।

२०७४ गत चैत १० गते सम्पन्न १३ औं साधारणसभा तथा छैठौं अधिवेशनमा भएको विवादका कारण दुई वटा कार्यसमिति बनेका हुन् ।

अधिवेशनमा उपभोक्ताको कोरम संख्या नपुगेको भन्दै प्रधान पक्षले वैशाख ८ गते अधिवेशन आह्वान गरेको थियो । तर रवीन्द्र गोपाल लाकौल पक्षले सोही अधिवेशनलाई निरन्तरता दिंदै लाकौलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रधान पक्षले वैशाख ८ गते पुनः अधिवेशन गरेर निवर्तमान अध्यक्ष माधवप्रसाद प्रधानकै नेतृत्वमा कार्यसमिति गठन गरेको थियो ।

उच्च अदालत बुटवल इजलासले वन ऐन २०४९ अन्तर्गत जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भएकाले नियामक निकाय (वन कार्यालय) ले नै हेर्नुपर्ने भन्दै रिट उपर उत्प्रेषण जारी गर्न नपर्ने भनी आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment