Comments Add Comment

माता र डाक्टरले थाहा नपाएको महिनावारी

जब जब महिनावारी दिवस नजिकिन्छ, तब म आफू महिनावारी भएको पहिलो वर्ष सम्झन्छु, अनि सोच्छु यसपालि त यसको बारेमा लेख्छु । यसै भन्दा भन्दा बिगतका ५ वर्ष बित्यो (महिनावारी दिवस पहिलो पटक २०१४ सालमा विश्वभर मनाइएको थियो) तर मैले कहिल्यै केही लेखिन । यसपालि पनि मे महिनाको २८ गते (महिनावारी दिवस) नजिकिदै गर्दा त्यही पुरानो नलेखिएको अनि माता र डाक्टर दुबैले थाहा पाउन नसकेको महिनावारीको बारेमा लेख्दैछु ।

मेरो अंकलको छोरी, म भन्दा केही वर्षले ठुली तर उ र म मिल्ने साथी थियौं । संगै पढ्ने अनि संगै खेल्ने पनि । ऊ ६ कक्षामा पढ्दा पहिलो पटक महिनावारी भएकी थिई । उसले मलाई महिनवारी हुँदा के हुन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने कुरा आफ्नो अनुभव बताउने गर्थी, जसले गर्दा मलाई महिनावारी सामान्य हो भन्ने लाग्न थालेको थियो तर संगै डर पनि लागेको थियो । किनकी मैले देखेको थिएँ, उसलाई सात दिनसम्म मामाघरमा लगेर विद्यालय पनि जान नदिई लुकाएर राखिएको थियो । त्यसपछि लगत्तै अर्को महिना पनि ऊ महिनावारी भई, अनि आन्टीहरुले कुरा गर्नुभयो ‘ऊ त काशी नै गइन त, खासमा केही महिना त काशी जानु पर्ने… ।’

प्राय किशोरीहरु पहिलो पटक महिनावारी भएपछि दोस्रो पटक हुदाँ केही महिनाको अन्तरालमा हुने गर्दो रहेछ जसलाई गाउँघरको भाषामा काशी गएको भनिदो रहेछ र यसलाई सामान्य रुपमा लिइदो रहेछ ।

एक दिन हामी खेल्दै थियौं, उसले मलाई भनी ‘ओइ म त हिजो राति ऊ भएछु है, थाहा नै पाइन, रातिभरी त्यही खाटमै सुतेछु । हुन त ममीले भनेको, थाहा नपाईकन कसैलाई छोइयो वा खाटमै सुतियो भने पनि खासै केही फरक पदैन रे, थाहा नपाएको कुरा केही न केही…।’

जब म उ बाट महिनावारीको कुरा सुन्थे, तब ७ दिन लुक्नु पर्छ, अनि मेरो पढाइ छुट्छ भन्ने एक अनौठो डरले मेरो मन सधै त्रसित हुन्थ्यो ।

कुरा लगभग डेढ दशक भन्दा अगाडिको हो, मलाई याद भएसम्म त्यति बेला ८ कक्षाको जिल्ला स्तरिय परीक्षा सुरु हुन १ दिन मात्र बाँकी थियो । म सु्न्तलाको रुखमुनी, गुन्द्री ओछ्याएर आफ्नै सुरमा पढ्दै थिए । मलाई अनौठौ अनुभव भइरहेको थियो, केही च्याप च्याप लागेजस्तो । जुकाले टोक्यो भनुँ भने, जुका लाग्ने समय पनि थिएन, मनले शंका गर्‍यौ, कतै महिनावारी भएको त हैन ? हतारिदै चर्पि गए, जे शंका गरेको त्यही रहेछ, हो म पहिलो पटक महिनावारी भएछु ।

डरले मेरो हात खुट्टा काँप्न थाल्यो, कसलाई भनुँ, के गरुँ भयो । भोलिदेखिको जिल्ला स्तरीय परीक्षा, ७ दिन लुक्नुपर्ने, ७ दिनमा आधा भन्दा बढी परिक्षा सकिन्छ, अनि म फेल हुन्छु, आज सम्म फेल नभएको म, ओहो !

कस्तो लाजमर्दो हुन्छ होला, सबै साथीहरु छुट्छन्, म १ वर्ष पछाडि पर्छु । यी सबै कुराहरुले मेरो होस ठेगानमा थिएन । एक्कासी दिमागमा लाग्यो, कसैलाई भन्दिन, फेल हुनु भन्दा त कसैलाई थाहा नदिएकै बेस, थाहा नपाएको कुरा केही न केही । तर यता मन भने डराउँदै थियो, फेरि पाप लाग्यो भने ? अन्तत दिमागले जित्यो, फेल हुनु भन्दा बरु पाप नै लागोस् ।

समय बित्दै गयो, आन्टीहरुले भने जस्तै म काशी गए, अर्को महिना म महिनावारी भइनँ । एक्कासी असार महिनामा मलाई पहिलेको जस्तै महसुस भयो, हो म दोस्रो पटक महिनावारी भए, तर परिवार र छिमेकीको लागि पहिलो पटक । यो पाली ममीलाई सजिलै भनिदिएँ, ‘ममी म पन्छिएँ ।’ ममीले मलाई धन्सारमा लुकाउन लैजानुभयो यो बेला न त मेरो पढाई नै छुट्यो न त परीक्षा नै थियो, विद्यालयमा त वर्खे विदा थियो ।

गाउँघरको चलन अनुसार दोस्रो पटक पनि ५ दिन लुक्नुपर्ने हुन्थ्यो । पढाई छुट्ने डरले मैले दोस्रो महिनावारी (परिवार र छिमेकीको लागि) बारेमा फेरि नभन्ने निर्णय गरेँ । सबैले काशी गएको सोचे । धेरै समय नभनेर नै बित्यो । खासै धेरै रगत नबग्ने भएकोले होला मलाई व्यवस्थापन गर्न खासै गाह्रो भएन । थोत्रा, फालेका लुगाले काम चलाइदिन्थेँ (जुन स्वास्थ्य र सरसफाइका हिसाबले गलत रहेछ ।)

यति लामो समयसम्म पनि छोरी दोस्रो पटक महिनावारी नहुँदा ममीलाई निकै चिन्ता लागेछ, कतै बोक्सी पो लाग्यो कि !

शनिवारको दिन मलाई ममीले माताकोमा देखाउन लाने निर्णय गर्नु भयो । म निकै आत्तिए । अब माताले मैले ढाटेको कुरा थाहा पाउनुभयो भने, ममीले अनि अरुले मलाई के सोच्लान्, के भन्लान्, के गर्लान् ? मुटुले ठाउँ छोडेको थियो ।

ममीले घरबाट लगेको चामलमा पैसा राखेर माताको अगाडी राखिदिदै, म लामो समयदेखि महिनावारी नभएको कुरा बेलिबिस्तार लागाउनुभयो । म डरले ममिको छेउमा आँखा चिम्लिएर, दुई हात जोडेर नमस्कार गरेर बसेको थिए । चामल समात्दै माताले भनिन् ‘यसलाई आँखा लागेको रहेछ, यो फुकेको चामल खानु ठिक हुन्छ…।’  मेरो डराएको मन अचानक हर्षित भयो । पुलुक्क आँखा खोलेर मातालाई हेरे । मनमनै सोचे मातालाई त केही थाहा हुदैन रहेछ, मेरो आत्माविश्वास बढ्यो तर माता प्रतिको आस्था भने पुरै घट्यो ।

केही समयको तलमाथि हुन्थ्यो तर महिनावारी नियमितजस्तै थियो । सधैंजस्तै नभनेर नै चलिरहेको थियो । यति लामो समयसम्म केही नभनेकोले अब कसरी भन्ने भनेर मलाई एक किसिमको असहज महसुस हुन थालेको थियो । नौ कक्षाको अन्तिम परीक्षा सकिएपछि ममीले मलाई जचाउँनको लागि काठमाडौं लाने हुनुभयो ।

डाक्टरले त मैले ढाटेको कुरा पक्का थाहा पाउँछ भन्नेमा म सत प्रतिशत ढुक्क थिए । ममीको धेरै गाली गर्ने हुनुभयो भन्ने डर लागेको गियो । पहिले जस्तै डरलाई लुकाएर डाक्टरको कक्षमा छिरेँ । महिला डाक्टरले मेरो नाडी छामिन्, प्रेसर नापिन्, आखाँको कुना काप्चा हेरिन् । ‘केटा साथी छ ? यौन सम्पर्क गर्नुभएको छ ? जस्ता प्रश्न गरिन् । अनि ममीलाई भनिन् ‘आत्तिनु पदैन, नानीलाई आइरनको कमी भएको रहेछ, यो आइरनको झोल लेखिदिएको छु, सबै खुवाउनुस्, अनि ठीक हुन्छ…।’

डाक्टरले पनि मेरो महिनावारीको बारेमा थाहा नपाएकोमा म निकै अचम्मित थिए । मनमनै विभिन्न कुरा खेलाउदै फर्कियौं ।

डाक्टरले दिएको आइरन मैले सबै खाएर सके, अर्को पटक महिनावारी हुँदा अरु बेला भन्दा धेरै रगत बग्न थाल्यो, ती पुराना कपडाका साना टुक्राले नधान्ने गरी । त्यसपछि मैले महिनावारी भएको कुरा ममीलाई भनेँ, ममीले डाक्टरलाई विश्वास गर्नुभयो, अनि छोरीलाई केही भएको रहेनछ भनेर ढुक्क पनि हुनुभयो । मलाई भने माता र डाक्टर दुबैले थाहा नपाएको मा अचम्म नै लागिरह्यो ।

लेखिका डीएफआईडी नेपालमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment