Comments Add Comment

जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइने

महिला हिंसा देखिने गरी घट्न सकेन : मन्त्री थापा

१५ जेठ, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्युनीकरण देखिने गरी प्रगति नभएको स्वीकार गरेकी छन् ।

पहिलो राष्ट्रिय महिला अधिकार दिवसको अघिल्लो दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संविधानले महिला अधिकार ग्यारेन्टी गरे पनि विभिन्न प्रकारका हिंसाबाट भने मुक्त हुन नसकेको बताइन् ।

‘बोक्सीको आरोपमा, दाइजो नल्याएको भनेर गरिने हिंसा र विभेदसंगै बलात्कारका घटनाहरु महसुस हुने गरी न्युनीकरण हुन सकिरहेको छैन । यसलाई अन्त्य गर्न तीन वटै सरकार (संघीय, प्रदेश र स्थानीय) को समन्वयमा लैङ्गिक विभेद अन्त्यको अभियानको रुपमा बर्ष २०७६ लाई मनाउने निर्णय गरेका छौं’, उनले भनिन् ।

मन्त्री थापाका अनुसार हरेक बर्ष नेपालले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउने छ । यसबर्षको नारा ‘लैङ्गिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्तव्य’ तय गरिएको छ ।

तत्कालीन सांसद विद्यादेवी भण्डारीले आमाको नामबाट पनि नागरिकता, समानुपातिक सहभागिता, महिला हिंसाको अन्त्य लगायतका विषयलाई समेटेर पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय हालको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

‘हरेक बर्ष एउटा विषयमा केन्द्रित भएर दिवस मनाउने र बर्षभरि नै विभिन्न कार्यक्रम गरिने मन्त्री थापाले बताइन् । महसुस हुने गरी महिला हिंसा न्युनीकरण नहुँदासम्म दिवसले निरन्तरता पाउने पनि उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय महिला दिवससमेत नेपालले मनाउँदै आएको छ । त्यो भन्दा राष्ट्रिय महिला दिवस के फरक छ ? भन्ने पत्रकारको जिज्ञासामा मन्त्री थापाले नेपालले महिला अधिकारका क्षेत्रमा प्राप्त गरेको उपलब्धीलाई अन्तर्राष्ट्रियकरण गर्न र आन्तरिक रुपमा पनि लैङ्गिक विभेदको अन्त्य गर्नका लागि सबैलाई जागरुक गराउन नेपालले आफ्नै दिवस मनाउन लागेको बताइन् ।

दिवसका अवसरमा मन्त्रालयले बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा स्थानीय तहका महिला प्रमुख र उपप्रमुख, महिला अध्यक्ष उपाध्यक्ष, जिल्ला समन्य समितिका महिला प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment