Comments Add Comment

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ : ४-५ दिनमै सरकार ढल्छ

१८ जेठ, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ता र नेकपा अध्यक्ष प्रचण्डलाई फर्काएको जवाफलाई प्राथमिकताका साथ छापेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसको जवाफ ओलीले दिल्लीबाटै दिएका छन् । ओलीले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘मेरो कार्यकाल ४-५ दिन मात्र बाँकी छ ।’

प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पत्र मिडियाहरुमार्फत सार्वजनिक हुनुलाई ओलीले ‘नेपालको राजनीतिको स्तर’ भनेर टिप्पणी गरेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले ओलीले दिएको अभिव्यक्तिको आधारमा ‘सरकार ४-५ दिनमै ढल्छ’ शीर्षकमा प्रमुख समाचार छापेको छ । दिल्लीमा अन्नपूर्ण पोष्टसँग कुराकानीको क्रममा ओलीले सरकार ४-५ दिनमै ढल्छ भनेर प्रचण्डलाई व्यंग्यात्मक जवाफ दिएका हुन् ।

ओलीलाई सोधिएको थियो तपाईंको दिल्ली यात्रा हुँदै गर्दा पुरानो सहमतिको पाँच बुँदे पत्र सार्वजनिक भएको छ नि ? उनले जवाफ दिएका छन्- त्यो पत्र कहिले गोप्य थियो र ? पत्र उहिले नै सार्वजनिक भएको हो । यस्तो विषयलाई अहिले उछालेका छन् । के भनौं र ?अनावश्यक विषय उछाल्ने नेपाली चरित्र हो ।

त्यसपछि ओलीलाई दोस्रो प्रश्न सोधियो- त्यसो भए तपाईंको कार्यकाल अब एक वर्ष मात्र देखिन्छ हैन ? ओली भन्छन्- एक वर्ष हैन, चार-पाँच दिन मात्रै बाँकी छ । अब म के भनूँ ?

कान्तिपुर दैनिकले पनि ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा टेकेर नै मुख्य समाचार छापेको छ । ‘दाहालको दबाबबारे प्रधानमन्त्रीले भने- नेपालको राजनीतिको स्तर’ शीर्षकमा कान्तिपुरले समाचार छापेको हो ।

समाचारमा लेखिएको छ, ‘प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्न झैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली सम्वाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।’

‘मेरो कार्यकाल एक वर्ष हैन, चार-पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले यो कुनै गोप्य दस्ताबेज होइन भने । उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो ।’

प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको ४५ औं पुण्य तिथिमा श्यामश्वेतमा छापिएको नेपाल समाचारपत्र दैनिकले पनि प्रधानमन्त्री पदको लडाइँलाई नै मुख्य समाचार बनाएको छ । ‘प्रधानमन्त्री परिवर्तन स्वाभाविक’ शीर्षकको समाचारमा आलोपालो सरकारको नेतृत्व गर्ने भनेर विगतमा गरिएको सहमतिलाई कार्यान्वयनमा जोड दिइएको छ ।

गोरखापत्र दैनिकले राजधानी काठमाडौंमा धुलोभन्दा धुँवाको समस्या गम्भीर रहेको समाचार छापेको छ । धुलोको समस्या अल्पकालीन हो तर सवारी प्रदूषण दीर्घकालीन हो भनेर समाचारमा लेखिएका छ ।

राजधानी दैनिकले नेपालमा नयाँ र जटिल प्रकृतिका रोगको प्रकोप बढ्दै गएको तर जोखिम न्यूनीकरणमा सरकार उदासीन रहेको समाचार छापेको छ ।

नागरिक दैनिकले धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दिइने खाजाको रकम घोटाला भएको भनेर मुख्य समाचार छापेको छ ।

नयाँ पत्रिका दैनिकले सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार रहेको तर सांसद विकास कोषको ४० लाख रुपैयाँ अतिथिगृह निर्माणमा खर्च गरिएको विषयलाई मुख्य समाचारको रुपमा छापेको छ । यस विषयमा सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद हरिबोल गजुरेललाई सोध्दा उनले ‘जेसुकै लेख्नुस् म कसैसँग डराउँदैन’ भनेर जवाफसमेत दिएका छन् ।

हेर्नुस् आजका पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment