+
+
Shares

बुधबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १६:०७

२० जेठ, काठमाडौं । राजधानीमा बुधबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी संचालन हुने भएको छ । प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार-२०७६ को तयारी पुरा भएको सोमबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह-आयोजनामा २२ जेठदेखि २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी-२०७६ संचालन हुँदैछ ।

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने नारासहित मेला आयोजना गर्न लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए ।

तत्कालिन घरेलु तथा साना उद्योग विकास समितिले २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीलाई भृकुटिमण्डपमा भेला पारि सरकारी तबरबाट केन्दि्रयस्तरमा शुरु गरेको औद्योगिक प्रदर्शनीको ३० औँ श्रृङ्खला यस वर्ष आयोजना हुन लागेको हो । विगतमा घरेलु तथा साना उद्योग विकास समितिले राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमका नामबाट यो कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रमले मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरि हौसला प्रदान गर्दै आएकोे आयोजकको भनाई छ । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योग दर्ता भएको जानकारी दिए ।

प्रदर्शनीमा २ सय लघु घरेलु तथा साना उद्योगका उत्पादनको स्टल रहने बताइएको छ । जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ । प्रदर्शनी अवधीमा १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनको छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ ।

महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । प्रदर्शनी आयोजनामा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्ट्रिय लघु उद्यमी महासंघले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?