+
+
Shares

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउँछौं : मन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १६:३३

१६ असोज, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को आवश्यकता र महत्वबारे प्रस्ट पार्दै प्रयोगशालालाई अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले लामो समय गठन आदेशका भरमा नाममात्रको प्रयोगशालाका रूपमा सञ्चालित संस्था अब ऐनमार्फत व्यवस्थित संरचनामा जाने बताएका हुन् ।

विधेयकमाथि भएको लामो छलफलमा मन्त्री पुनले प्रयोगशालाको वर्तमान दयनीय अवस्थाबारे सदनलाई जानकारी गराए । विशेषगरी भोटेकोशी बाढीका बेला पीडितहरूको डीएनए परीक्षण गर्नुपर्दा प्रयोगशालाको कमजोर क्षमता उदांगिएको उनको भनाइ थियो । त्यतिबेला विदेशी टोलीको सहयोगमा मात्र परीक्षण सम्भव भएको भन्दै मन्त्री पुनले अब स्वदेशी क्षमता नै बलियो बनाउनुपर्नेमा जोड दिए ।

अहिलेसम्म प्रयोगशालाहरू टहरा र भाडाका घरमा सञ्चालन हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले ऐन पारित भएसँगै अब जग्गा प्राप्ति र आफ्नै भवन निर्माणको बाटो खुलेको जानकारी गराए ।

हाल काठमाडौंस्थित नास्टको परिसरमा अत्याधुनिक भवन निर्माणका लागि डिजाइनको काम अघि बढेको मन्त्री पुनले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेटबाट विधि विज्ञान प्रयोगशालालाई आधुनिकीकरण गर्न मन्त्रालयले गृहकार्य थालिसकेको छ । उपकरण खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ भने भवन निर्माणका लागि थप बजेटको व्यवस्थापन गरिनेछ । हाल देशभर रहेका साना प्रयोगशालालाई आधुनिकीकरण गर्नुका साथै बाँकी प्रदेशमा पनि प्रयोगशाला स्थापना गर्ने सरकारको योजना छ ।

संसदीय समितिमा डीएनए सुरक्षाको विषयमा गहन छलफल भएको स्मरण गर्दै मन्त्री पुनले न्याय सम्पादनका लागि डीएनए परीक्षण अत्यन्त संवेदनशील हुने भएकाले यसको सुरक्षा र शुद्धतामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?