Comments Add Comment

‘कमजोर’ पाकिस्तानसँग किन हार्‍यो बलियो इंग्ल्यान्ड ?

२१ जेठ, काठमाडौं । आफ्नै घरेलु मैदान, त्यही माथि उच्च लयमा रहेको टिम इंग्ल्यान्ड कमजोर मानिएको पाकिस्तानसँग के कारणले हार्‍यो ? सायद यही जिज्ञासाले सबैलाई सताएको हुनुपर्छ ।

हुन पनि हो, आयोजक इंग्ल्यान्ड विश्वकपमा भाग लिएका १० टिम मध्येकै उत्कृष्ट टिम हो । एकदिवसीय क्रिकेट बरियताले पनि यही देखाउँछ । इंग्ल्यान्ड एक नम्बरमा छ । विश्वकप अघिका एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजले पनि इंग्ल्यान्ड बलियो भएको प्रष्टै देखिन्थ्यो ।

पाकिस्तानले विश्वकपअघि इंग्ल्यान्डसँग उसैको भूमिमा पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज खेलेको थियो । जुन सिरिज इंग्ल्यान्डले ४-० ले क्लीन स्वीप गरेको थियो । एक खेल भने वर्षाको कारण रद्द भएको थियो ।

त्यसमाथि विश्वकपको पहिलो खेलमा निकै खराब प्रदर्शन गरेको पाकिस्तान इंग्ल्याण्ड सामू नटिक्ने धेरैको अनुमान थियो ।

तर, सोमबार राति घरेलु टिम इंग्ल्यान्डले नसोचेको नतिजा हात पार्‍यो । पाकिस्तानले त्यो इंग्ल्यान्ड टुर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा भोगेको हारको ब्याजसहित विश्वकपमा तिरेको छ ।

इंग्ल्यान्डविरुद्ध १४ रनको जित हात पारेपटि मोहम्मद हफिजले भनेका छन्, ‘आउने खेलहरुको लागि हाम्रो आत्मविश्वास बढेको छ । यहाँ ३४० भन्दा माथि स्कोर बनायो भने लक्ष्य भेटाउन कठिन हुन्छ । हामीलाई विश्वास थियो कि राम्रो ब्याटिङ गर्‍यौं भने जित्छौं । त्यस्तै भयो ।’

ब्याटिङ चम्किए पाकिस्तानलाई रोक्न मुस्किल

पाकिस्तानको हारजितमा मुख्य भूमिका ब्याटिङले राख्छ । बलिङ राम्रै छ । तर ब्याटिङ चलेको दिन रोक्न मुस्किल छ ।

पाकिस्तानले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग १०५ रन मात्रै बनायो । कुनै ब्याट्सम्यान पनि चल्न सकेनन् । त्यसबेला उच्च स्कोर भनेकै बाबर अजाम र फखर जमानको समान २२-२२ रन थियो । एकपछि अर्को विकेट पतन भएको पाकिस्तानले अन्ततः ७ विकेटको हार ब्यहोर्‍यो ।

तर, दोस्रो खेलमा पाकिस्तानले कमालै गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनायो । जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्रै बनाउन सकेपछि पाकिस्तान १४ रनले विजयी भयो ।

पाकिस्तानलाई ब्याटिङले नै जितायो ।

सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेलमा पनि पाकिस्तानको लागि विर्सनै नसक्ने रमाइलो क्षण छ ।

इंग्ल्यान्डमै भएको फाइनल खेलमा पाकिस्तानले भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै ३३८ रनको उच्च स्कोर बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारत १५८ रनमै अलआउट भयो ।

रुट र बुटलरको शतक खेर

पाकिस्तानविरुद्ध इंग्ल्यान्डका खेलाडीले शतक बनाए । तर, जारी विश्वकपकै पहिलो शतक भए पनि छायामा पर्‍यो । जोइ रुटले यो प्रतियोगिताको पहिलो शतक बनाएका थिए । उनले पाकिस्तानविरुद्ध १०४ बलमा १० चौका र एक छक्का प्रहार गर्दै १०७ रन बनाएका थिए ।

त्यस्तै, जोस बुटलरले ७६ बलमा ९ चौका र दुई छक्का प्रहार गर्दै १०३ रन बनाए । दुबै खेलाडीले शतक बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

पाकिस्तानसँग इंग्ल्यान्ड हार्नुको मुख्य कारण फिल्डिङ भएको कप्तान इयोन मोर्गनले बताएका छन् ।

हुन पनि पाकिस्तानविरुद्ध इंग्ल्यान्डको फिल्डिङ निकै कमजोर थियो । ११ बलमा १४ रन बनाएर खेलिरहेका मोहम्मद हफिज २४.१ ओभरमै आउट हुने सम्भावना थियो । तर उनको सजिलो क्याच ड्रप भयो । तिनै हफिजले ६२ बलमा ८४ रन बनाउँदै पाकिस्तानलाई ठूलो स्कोरमा पुर्‍याए ।

कप्तान मोर्गनले भनेका छन्, ‘हाम्रो फिल्डिङ राम्रो हुन सकेन । निकै मिस गर्‍यौं । हामीले अनुमान गरेको भन्दा राम्रो खेल्यो पाकिस्तानले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment