Comments Add Comment

मलेसियाको रोजगारी खुलाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२१ जेठ, काठमाडौं । संसदमा मलेसियाको रोजगारी खुलाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद तथा छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिला संग्रौलाले यस्तो प्रस्ताव दर्ता गराएकी हुन् ।

लाखौं नेपाली युवाहरुको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्नेबारे संसदमा छलफल हुनुपर्ने उनीहरुको माग प्रस्तावमा गरिएको छ ।

मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगीने क्रम बढदै गईरहेको दर्ता भएको प्रस्तावमा उल्लेख छ ।

‘मलेसिया जान चाहने युवाहरुको मेडिकल जाँच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको छ,’ प्रस्तावमा भनिएको छ,’यसको प्रमाणका लागि मलेसियासँग शून्य लागतमा श्रम सम्झौता भएपनि ७ महिनासम्म पनि मेडिकल गर्ने संस्था सूचीकरण र छनोट गर्न नसक्दा रोजगारी खुल्न सकेको छैन ।’

नेपालको एक प्रमुख रोजगार गन्तव्य मलेसियाको वैदेशिक रोजगारी रोकिएसँगै लाखौं नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वन्चित भएको संग्रौलाले उल्लेख गरेकी छिन् ।

‘झन्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र बर्षेनी दशौं अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको छ र मलेसियाली रोजगारदाताहरू विकल्प खोज्न थालेका छन्,’ उनले प्रस्तावमा भनेकी छिन्,’गत वर्ष कार्तिक १२ मा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम शुरु गर्न सकेको छैन । हजारौं मजदूरहरुलाई ठगी गर्ने कम्पनीविरुद्ध कुनै कारबाही भएको छैन ।’

उनले १० हजार भरपाई दिएर २ लाख रुपैयाँसम्म लिने एजेन्सीलाई पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप पनि लगाएकी छिन् ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाइ वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने बारेर संसदमा छलफल हुनुपर्ने प्रस्ताव संग्रौलाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment