Comments Add Comment

केपी ओली र माधव नेपाल जोड्ने कडी बन्ला त जबज ?

ओलीले धोका दिने प्रचण्डलाई आशंका

२१ जेठ, काठमाडौं । ‘लेखेर राख्नुस, जनताको बहुदलीय जनवाद (जबज) ले केपी ओली र माधव नेपाललाई एक ठाउँमा ल्याइदिन्छ’ नेकपाका एकजना शीर्षस्थ नेताले आइतवारको अनौपचारिक भेटमा ठोकुवा गरे । उनले यतिमात्र भनेनन्, झलनाथ खनाल र वामदेव गौतम पनि जबजको मूल्यमा ओली र नेपालसँगै उभिन बाध्य हुने लामै विश्लेषणसमेत सुनाए ।

उनले आफ्नो तर्क पुष्टि गर्ने क्रममा बामदेवले पार्टी एकताका बेला अरु सबैले छाडे पनि आफूले जबज नछाड्ने भनी दिएको अभिव्यक्ति र झलनाथले जबजलाई पार्टीको सिद्धान्त मानेपछि मात्रै बुटवल महाधिवेशनबाट तत्कालीन एमालेको अध्यक्ष निर्वाचित भएको प्रसंगसमेत स्मरण गरे । अझ बामदेवले त जबज नेपालमा मात्र सिंगो ब्रम्हाण्डमै लागु गर्न चाहेको इतिहास पनि कोट्याए ।

ती नेताले यी प्रसंग यस्तोबेलामा उठाए जतिबेला अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विगतको अनौपचारिक तर लिखित सहमति बमोजिम १५ महिनापछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने अपेक्षासहितको अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । अनि सो अभिव्यक्तिबाट आहत भएका ओलीलाई राहत दिने गरी माधव नेपालले ५ वर्षसम्म ओलीकै नेतृत्वमा सरकार सञ्चालन हुने जवाफ फर्काएका थिए ।

यसबीचमा प्रचण्ड स्वयंले पनि आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै ओली सरकार ५ वर्षसम्मै निरन्तर हुन पनि सक्ने बताए, तर उनको अन्तर्य एकल अध्यक्ष पाएमा मात्र ओलीको निरन्तरता हुन सक्छ ।

आफू दिल्ली भ्रमणमा रहेका बेला आफ्नै सहयोद्धाबाट सरकारलाई अस्थिर देखाउने गरी आएको अभिव्यक्तिले ओलीको चित्त दुःखेको उनीनिकट नेताहरु बताउँछन् । विपक्षी दलबाट समेत प्रधानमन्त्री विदेश हुँदा सरकार कमजोर पार्ने खालका अभिव्यक्ति नदिइने संसदीय प्रचलन विपरीत सत्तारुढ अध्यक्षबाटै प्रधानमन्त्रीको अवधि तोकिनु सामान्य विषय नभएको उनीहरु बताउँछन् ।

मसी लत्पतिएको समझदारीपत्र

प्रचण्ड अधैर्य भएका हुन् कि ओलीबाट डराएका ? यो प्रश्नमाथि पनि नेकपा नेताहरुबीच अनौपचारिक भेटघाटहरुमा छलफल हुन थालेको छ । नेकपा एकीकरणअघि ओली र प्रचण्डबीच सार्वजनिक भएका वक्तव्य बाहेक भित्री केही सम्झौता पनि भएका थिए, जुन समझदारीबारे पार्टीलाई जानकारी नभएकाले सम्बन्धित व्यक्तिहरु नै जिम्मेवार हुनुपर्ने माधव नेपाल लगायतका नेताहरुले भन्दै आएका छन् ।
यो पनि पढ्नुहोस ‘ओलीपछिको नेता प्रचण्ड नै हो, जबजमा विवाद नगरौं’

यसबीचमा सार्वजनिक भएको सत्ता आलोपालो गर्ने समझदारी यसअघि नै शुभशंकर कँडेलको पुस्तकमा छापिएको थियो । विष्णु पौडेल र जनार्दन शर्मा समेतको हस्ताक्षर रहेको सो अनौपचारिक समझदारीपत्र चार कपी छापिएको र एउटामा विष्णु पौडेलको कलमको मसी लत्पतिएको थियो । स्रोतका अनुसार त्यही लत्पतिएको कपी बाहिर आयो ।

चार नेताले बोकेका चार कपीमध्ये लत्पतिएको मसीसहितको समझदारीपत्र कोबाट सार्वजनिक भयो भन्ने पनि नेकपा नेताहरुबीच ओपन सेक्रेट विषय हो । प्रचण्ड र ओलीबीच सरकारको ५ वर्ष आधा आधा कार्यकाल नेतृत्व गर्ने समझदारी नयाँ होइन । उक्त समझदारीलाई पार्टीमा छलफलको विषय बनाउन अन्य नेताहरुले माग गर्दा दुई अध्यक्षले नचाहेका हुन् ।

ओलीले फेरि धोका दिने आशंका

भोलि उक्त सहमति ओलीले नमान्दा पार्टीले त्यसको जवाफदेहिता नबोक्ने कुरा पनि अन्य नेताहरुले प्रष्ट पारिसकेकै हुन् । ओलीबाट ०७३ सालमा एकपटक धोका पाइसकेका प्रचण्ड अलग पार्टी हुँदा त नटेर्ने व्यक्तिले एउटै पार्टी भइसकेपछि सरकारको नेतृत्व सहज हस्तान्तरण नगर्ने कुरामा सशंकितमात्र होइन, आश्वस्त पनि हुन सकेका छैनन् ।

यदि ओलीले सहमतिअनुसार १५ महिनापछि प्रचण्डलाई सत्ता हस्तान्तरण गरेनन् भने प्रचण्डसँग सीमित विकल्प हुनेछन् । कि त पार्टीमा बहुमत पुर्‍याएर ओलीलाई सत्ताच्युत गर्ने र त्यो सम्भव नभए वा माधव नेपालहरुले साथ नदिए पार्टी फुटाउने । ओलीले दिल्लीमा हुँदै पार्टी फुटाउने तत्व सक्रिय रहेको भने पनि नेकपा विभाजन त्यति सजिलो छैन ।

केन्द्रीय कमिटीमा ४० प्रतिशत शक्ति प्रचण्डको रहे पनि संसदीय दलमा ४० प्रतिशत पुग्दैन । पार्टी बिभाजनको पीडा भोगिसकेका नेताहरु अब पुनः त्यो गल्तीमा सामेल हुन सम्भव नरहेकाले समझदारी अनुसार नै पार्टी सञ्चालन गर्नुको विकल्प नरहेको नेताहरु बताउँछन् । यस सन्दर्भमा ओली र प्रचण्डबीच अपारदर्शी रुमपा भएका सम्झौताहरुको जिम्मा पार्टीले लिन नसक्ने समेत कतिपय शीर्ष नेताले भनिसकेका छन् ।

प्रचण्डमा ओलीबाट कता–कता असुरक्षाभाव उत्पन्न हुने गरेको छ । त्यसैले उनले बेलाबेलामा आफू पनि ओलीसरह सत्ता र पार्टी नेतृत्वको हकदार रहेको स्मरण गराउने क्रममा पछिल्लो अभिव्यक्ति आएको हुनुपर्छ । जुन अभिव्यक्तिले उनले सोचेभन्दा फरक र नकारात्मक तरंग पार्टीभित्र उत्पन्न गरायो । साथसाथै पूर्वएमाले पंक्तिलाई विशेष गरी ओलीनिकट समूहलाई उत्तेजित समेत बनायो ।

ओली–नेपाल अन्तरबिरोध

प्रचण्डको पछिल्लो अभिव्यक्तिले ओली र माधव नेपाललाई नजिक्याएको विश्लेषण समेत पूर्वमाओवादी नेताहरुले गरिरहेका छन् । यही मौकामा विगत लामो समयदेखि ओली र माधव नेपालबीच समझदारी बनाउन मेहनत गरिरहेका केही प्रभावशाली नेताहरुले ‘जबज र पार्टीको मूल नेतृत्वको निरन्तरता’को मूल्यमा दुई नेता एक ठाउँमा उभिनैपर्ने भन्दै मैदान निर्माण गरिरहेका छन् ।

ओली र नेपालबीचको असमझदारी भनेको संगठनात्मक काममा हो । विशेषतः तत्कालीन एमालेका दुई ठूला गुटमध्ये कसको बलियो बनाउने भन्ने सन्दर्भमा ओली र नेपालबीच विवाद हुने गरेको छ । पार्टी एकीकरणपछि स्थायी कमिटी गठनसम्म नेपालले ओलीको विरोध गरेका थिएनन् । किनकि पूर्वएमालेबाट थपिने चार सदस्यमध्ये ओली र नेपालले दुई–दुई जना बाँडेका थिए

ओली नेतृत्वको मन्त्रिपरिषद गठनमा पनि माधव नेपालले साथ दिएका हुन् । विशेष गरि प्रदेश कमिटीका पदाधिकारी चयनमा नेपालले ओलीसँग लिखित असहमतिनै राखे । जुन क्रम जिल्ला पदाधिकारी चयनमा बढ्दै जाँदा कुनै मापदण्डले काम नगरेपछि र नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिएपछि ओली एक कदम पछि हटेर साबिक अध्यक्षलाई नै पदाधिकारी बनाउन तयार भएका हुन् ।

ओली र नेपालबीच संगठनमा कसले कति पाउने भन्ने विषयका कारण ठूलो दूरी नबनोस् भनेर महासचिव बिष्णु पौडेलले सहजीकरण समेत गरे । किनकि, ओली र नेपालबीच न्युनतम समझदारी नहुँदासम्म पार्टी एकीकरण प्रक्रिया विवादरहित ढंगले सम्पन्न हुने अवस्था थिएन । यसक्रममा नेपालले पटक ओलीसँग रुखो ब्यवहारसमेत गर्नुपरेको थियो ।
यो पनि पढ्नुहोस नेकपाको जबज : ‘कलियुगको धर्म’

प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी तथा पोलिटव्यूरो सदस्य चयनका सन्दर्भमा समेत महासचिव पौडेल लिष्ट बोकेर बालुवाटार र कोटेश्वर धाइरहे । पछिल्लो समय माधव नेपालमाथि ओलीसँग कि वार कि पार गर्न कि त नजिकको दूरी बनाउँदै जान उनी निकट नेताहरुबाटै दबाब पनि थियो । किनकि ओलीसँग वार कि पार गर्दा प्रचण्डतिर पुग्नुपर्ने हो । प्रचण्ड आफैं पार्टीको भावी एकल अध्यक्ष र प्रधानमन्त्री दुवै पदको दाबेदार भएकाले नेपालका लागि ओली विरुद्ध प्रचण्डसँगको सहकार्य फाइदाजनक नहुने नै भयो ।

यसबीचमा झम्सिखेलमा भएको सचिवालयका पाँच सदस्यहरुको भेलामा कसले के भने भन्ने जस्ताको त्यस्तै विवरण बालुवाटार पुगेपछि नेपाल प्रचण्डसँगै झस्किएको उनी निकट स्रोत बताउँछ ।

नेकपाको महाधिवेशन २ वर्षभित्र गर्ने भनिए पनि एक वर्ष पूरा भइसकेको छ । अब एक वर्षमा महाधिवेशन असम्भव छ । महाधिवेशनअघि नेकपामा गुटहरुको कित्ताबन्दी तत्कालीन सन्दर्भहरुमा फरक–फरक ढंगले हुन सक्छ । भावी अध्यक्षका प्रमुख दाबेदार प्रचण्ड र माधव नेपाल देखापरेका छन् । केपी ओली पुनः अध्यक्ष नहुने र ईश्वर पोखरेलको दाबी ओलीमा निर्भर हुने भएकाले अहिले प्रचण्ड र माधव नेपालनै प्रतिस्पर्धी देखिन्छन् ।

जबजले जोड्ला ?

नेकपामा सानातिना गुट नेतैपिच्छे भएपनि ओली, प्रचण्ड र माधव नेपालका गुट बलिया छन् । चौथो शक्तिशाली गुट बादलको छ भने नारायणकाजीसँग स्थायी गुट छ, तर सानो आकारमा । ईश्वर पोखरेल र बिष्णु पौडेल ओली समूहमै छन् र उनीहरुका आ–आफ्ना उपसमूह पनि छन् । पोखरेल र माधव नेपालबीच सम्बन्ध न्यानो छैन, ठीक विपरीत पौडेल चाहिँ नेपालसँग पनि निरन्तर संवादमा छन् ।

पूर्वएमाले समूहका कतिपय मध्यमार्गी नेताहरुले नेपाललाई केही समयअघि भेटेरै भावी नेतृत्वमा स्थापित हुनका लागि प्रचण्डसँगको सहकार्यले सम्भव नहुने सुझाव दिएका थिए । यसबीचमा नेपालको अभिव्यक्ति र ओली समूहबाट थालिएको जबजको बहसले नेकपामा तरंग अवश्य ल्याएको छ । यद्यपि अहिले नै नेपाल र ओली एक ठाउँमा आइहाल्ने अवस्था भने छैन ।

नेकपाका एक प्रभावशाली नेताले भने– केपी ओली र माधव नेपालबीचको अहिलेको अन्तरबिरोध अस्थायी हो भनेर बुझ्नुपर्छ । सांगठानिक सवालमा कसलाई कुन पद दिने भन्नेमा बिरोध छ, तर बिचारमा दुवै नेता एक ठाउँमा छन् । जनताको बहुदलीय जनवाद नै यस्तो कडी हो, जसले ओली र नेपाललाई जोड्नेछ ।

यसो भनिरहँदा उनले पार्टी एकीकरणअघि मानभवनमा ठेकेदार शारदा प्रसाद अधिकारीको घरको अन्तिम बैठक सम्झिए । त्यो बेला ८ सदस्यीय पार्टी एकता संयोजन समिति थियो । समितिको बैठकमा सबै कुरा मिलेपछि माधव नेपालले जबज छाड्न नसकिने भन्दा बैठक भाँडिएको थियो । बामदेव गौतमले तपाईका कारण एकता भाँडिने भयो भन्दै बैठकमै नेपाललाई झपारेका थिए ।

पछिल्लो समय ओलीले संगठनमा पेल्न थालेपछि नेपाल र प्रचण्ड नजिकिए पनि जनताको बहुदलीय जनवादले नेपाललाई ओलीसँगै जोड्ने सम्भावना छ । जबकि पूर्वमाओवादी पक्षले जबजको सान्दर्भिकता इतिहासमा सिद्ध भइसकेकाले अब नयाँ बिचार निर्माण गर्नुपर्ने भनिरहेको छ । तर, ईश्वर पोखरेलले जबजको अभियान लिएर देशब्यापी कार्यकर्ताबीच जाने अभिव्यक्ति दिएपछि प्रचण्ड पक्ष सशंकित छ ।

यसबीचमा पोखरा पुगेर ओलीले पनि जबज छाड्न नसिके अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । यसले माधव नेपाललाई दबाब पारेको छ । जबजको कुरा गर्दा उनी ओलीसँगै हुनुपर्नेछ भने अन्य आन्तरिक पार्टी व्यवस्थापनका कुरा गर्दा ओलीसँगै मुख्य अन्तरबिरोध छ । हालसम्म नेपालसँगै रहेका घनश्याम भुसाल लगायतका नेताहरु जबजको सन्दर्भमा के गर्छन् ? यो पनि प्रष्ट हुन बाँकी छ ।
यो पनि पढ्नुहोस नेकपामा बहस : जबज, जज अथवा एशज ?

माधव नेपाल निकट कतिपय नेताहरु ओली पक्षले जानाजान जबजको बेमौसमी बाजा बजाएर ‘इमोसनल ब्ल्याकमेल’ गर्न खोजेको बताउँछन् । महाधिवेशनको मिति तय नभएको र पार्टीमा बैचारिक बहस खुला भएको घोषणा नगरी जबजको असान्दर्भिक बहस चलाएर नेताहरुबीच खेल्न खोजिएको बुझाई उनीहरुको छ ।

यद्यपि, जबजको मूल्यमा माधव नेपालले प्रचण्डसँग सम्झौता नगर्ने उनीहरुको बुझाइ छ ।

नेकपामा अहिले दुईथरी बुझाइ छ । ईश्वर पोखरेल लगायतका नेताहरु पार्टी कुनै बिचारबिना चलिरहेको दावी गर्छन् भने प्रचण्ड पक्षधर नेताहरु जनताको जनवाद नै तत्कालीन कार्यक्रम हो भनिरहेका छन् । जनताको जनवाद भन्ने शब्द बाहेक यसको विस्तृत ब्याख्या भएको छैन । साथसाथै नेकपामा जबज र माओवाद लगायत अन्य बिचारमा बहस गर्न निषेध नभए पनि औपचारिक रुपमा बहस खुला भएको पनि छैन ।

पूर्वएमाले पंक्तिका नेताहरु एकीकृत पार्टीले बिधानको प्रस्ताबनामै जनताको बहुदलीय जनवादका मुख्य विषय जस्ताको त्यस्तै राखिएकाले नेकपाले जबज स्वीकार गरिसकेको दावी गर्छन् । जबजसँग एमाले पंक्तिको भावना समेत गाँसिएकाले पूर्वएमाले समूहका नेता यसको स्वामित्व छाड्न चाहान्नन् ।

उनीहरु विषयवस्तु त्यहि मानेपछि नामलाई प्रतिष्ठाको विषय बनाउन नहुने भन्दैछन् भने पूर्वमाओवादी पंक्तिका नेताहरु जबज र एक्काइशौं शताव्दीमा जनवादको विकास कार्यक्रमका कार्यभार पूरा भएकाले अब समाजवादमा जाने नयाँ बिचारको निर्माण हुनुपर्ने भनिरहेका छन् । सम्भवतः अब नेकपाको बैचारिक बहस यही बीचबाट अघि बढ्नेछ ।

प्रचण्डको बाध्यता

फाइल तस्वीर

जनताको बहुदलीय जनवाद साविक नेकपा एमालेको जीवनपद्दति नै बनिसकेको छ । पूर्वएमालेभित्र जति गुट भए पनि कार्यकर्तालाई एउटै मालामा जोड्ने भावनात्मक सूत्र नै जबज हो भन्ने कुरा साविक एमालेका नेताहरुले बुझेका छन् । त्यसैले विगतमा जबजलाई दक्ष प्रजापति टाउको भन्नेहरु पनि खुलेर जबजको विकल्प खोज्न सक्दैनन् ।

अझ केपी ओली, माधव नेपाल र वामदेव गौतम, ईश्वर पोखरेलहरु त जबजका ब्याख्याता समेत हुन् । मदन भण्डारीले जबजको कार्यक्रम अघि सार्दा उनलाई सघाउनेदेखि समयक्रममा यसको आधिकारिक ब्याख्या गर्दै सिद्धान्तको रुपमा स्थापित गर्नमा यी नेताहरुको योगदान छ । त्यसैले जबजको बर्को फाल्न साबिक एमालेका नेताहरुलाई सम्भव छैन ।

प्रचण्डलाई पनि यही कुराको डर छ । कतिपय पूर्वएमाले नेताहरुले प्रचण्डले जनताको बहुदलीय जनवादको झण्डा बोक्छु भनेर घोषणा गरेका दिन उनलाई नेकपाको एकल अध्यक्ष स्वीकार गर्न कुनै समस्या नहुने सन्देशसमेत पठाइसकेका छन् । जसरी एमाले पंक्तिमा जबज छाड्न सकस छ, त्योभन्दा कैयौं गुणा सकस प्रचण्डलाई जबज बोक्नुमा छ । त्यसैले उनले ‘कन्टेन्ट’ मानेपछि नाममा अत्तो नथाप्न आग्रह गर्ने गरेका छन् ।

यी बाध्यताबाट गुज्रेका प्रचण्ड यतिबेला केपी ओलीसँग संघर्ष होइन, सहकार्य गरेरै मात्र पार्टी एकता जोगिन्छ भन्नेमा छन् । किनकि, ओली र प्रचण्ड दुईतिर लाग्नासाथ नेकपा अनिर्णयको बन्दी हुने अवस्था छ । अहिलेसम्म धेरैजसो निर्णय पार्टी कमिटीबाट भन्दा पनि दुई नेताको बोलीका भरमा भएकाले पनि पार्टी सहज ढंगले अघि बढाउन ओली प्रचण्ड समझदारीको विकल्प देखिँदैन ।

ओलीको कार्यशैली र एकल अध्यक्षको अभ्यासप्रति धेरै विमति हुँदा हुँदै पनि ओलीलाई चिढ्याएर चीज (उनकै भाषामा) अघि बढ्दैन भन्नेमा प्रष्ट छन् । दुई अध्यक्षले पालोपालो बैठकको अध्यक्षता गर्ने समझदारी समेत ओलीबाट पालना नभएको गुनासो प्रचण्डपक्षको छ । तर पनि उनी लगातार ओलीसँग ‘वान टु वान’ छलफलमा छन् । किनभने बिगत डेढ वर्षमा जे जति काम भए त्यो ओली र प्रचण्डको समझदारीमा भएका छन् ।
यो पनि पढ्नुहोस जबजको ‘च्याप्टर ओपन’ छ, म देशभरका कार्यकर्ताबीच जान्छु : ईश्वर पोखरेल

बादललाई आफूविरुद्ध ओलीले प्रयोग गरेको बुझाई प्रचण्डको छ । प्रचण्डले पनि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई आफूविरुद्ध प्रयोग गरेको ओलीको बुझाइ छ । प्रचण्डनिकट नेताहरु भने ओली विरुद्ध मोर्चाबन्दी गर्ने प्रचण्डको कुनै पनि सोचाई नरहेको तर माधव झलनाथ जस्ता नेताहरुलाई पनि समझदारीमा लैजानुपर्छ भनेर छलफलहरु हुने गरेको बताउँछन् ।

प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य भन्छन्– पूर्वएमालेमा गुटबन्दी तिक्ततापूर्ण हुँदोरहेछ । कुन नेता कार्यकर्ताले फेसबुकमा कस्तो स्टाटस लेख्यो भन्नेसमेत रिपोर्ट हुँदो रहेछ । प्रचण्डले माधव नेपाललाई पनि अपमानित गर्नु हुँदैन सँगै लिएर जानुपर्छ भन्ने उद्देश्यले भेटघाटहरु गर्दा ओलीजीमा चाहिँ लौ अब यिनीहरु मिलेर मलाई हटाउन लागे भन्ने पर्दो रहेछ । अहिलेको बुझाइ त्यही नै हो ।

भावी प्रतिस्पर्धामा प्रचण्ड र माधव ?

अहिले नेकपामा महाधिवेशन घोषणा नहुँदासम्म र जिल्ला तथा प्रदेश अधिवेशनहरु नहुन्जेल गुटहरुको स्थायी कित्ताबन्दी हुने अवस्था छैन । ओली अब नेतृत्वको दाबेदार नहुने अवस्थामा भावी नेतृत्वका लागि प्रचण्ड र माधव नेपाल दुवैलाई उनको साथ निर्णायक हुनेछ । प्रचण्डले सरकारको आधा कार्यकाल स्मरण गराउनुका पछाडि पनि ओली ५ वर्ष प्रधानमन्त्री हुने हो भने आफू एकल अध्यक्ष हुन पाउँ भन्ने हो ।

यद्यपि तत्कालीन एमालेको नेतृत्वमा पूर्वमाले समूहका नेताहरु बाहेक अरुलाई आउन नदिइएको इतिहास पढ्नेहरुले बरु सरकारमा प्रचण्डलाई पालो दिन सक्छन् तर पार्टीको एकल कमाण्ड प्रचण्डलाई दिने सन्दर्भमा एमाले बिरासतका नेताहरु अनुदार हुने निश्चित छ । ब्युरोक्रेटिक प्रणालीमा पार्टी निर्माण गरेका पूर्व एमालेका नेताहरु प्रचण्डलाई नेतृत्व सुम्पिन कदापि सहमत हुने छैनन् ।

त्यसैले प्रचण्डका लागि सत्तामा आधा कार्यकालको लिखित सहमति ओलीलाई बेला बेलामा स्मरण गराउनु र एकल अध्यक्ष नपाए पनि पार्टी सन्चालनका अधिकार लिखित रुपमै लिनुपर्ने बाध्यता आइलागेको छ । त्यसका लागि आन्तरिक र बाह्य दुवै ठाउँबाट वातावरण बनाउन प्रचण्डले कसरत गरिरहनुपर्नेछ ।
यो पनि पढ्नुहोस नेकपामा दुईलाइन : ओली जनवादतिर, प्रचण्ड समाजवादतिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment