Comments Add Comment

भृकुटीमण्डपमा ब्रह्मलुट !

वार्षिक ७ करोड कमाएर १४ हजार भाडा तिर्छ ल्याम्ह पुचः

२१ जेठ, काठमाडौं । राजधानी काठमाडौंको केन्द्रमा अवस्थित भृकुटीमण्डपको प्रवेशद्वारकै दायाँतर्फ एउटा शौचालय छ । उपत्यकाको थोरै अशक्तमैत्री शौचालयमध्ये यो एक हो । केपी बिल्डर्स प्रालिको नामबाट तीर्थबहादुर राईले यो शौचालय सञ्चालन गर्ने जिम्मा लिएको डेढ बर्ष भयो ।

समाज कल्याण परिषदले आह्वान गरेको बोलपत्रबाट छानिएर राईले ५ वर्षका लागि यो ठेक्का पाएका हुन् । तीन महिनाको भाडा बराबरको रकम धरौटी राखेका राईले परिषदलाई मासिक एक लाख १६ हजार १९९ रुपैयाँ बुझाइरहेका छन् ।

यही शौचालयको बाँयातर्फ करिब पाँचसय मिटर पूर्वतर्फ ल्याम्ह पुचः बाल उद्यान सञ्चालनमा छ । २५ रोपनी जमिनमा फैलिएको यो उद्यानमा ल्याम्ह पुचः नामक गैरसरकारी संस्थाले फनपार्क सञ्चालन गरेको २३ वर्ष भयो ।

एउटा शौचालयले मासिक एक लाख १६ हजार बढी भाडा समाज कल्याणलाई तिर्छ तर २५ रोपनी जमिनको भोग चलन गर्ने ल्याम्ह पुचःले परिषदलाई मासिक १३ हजार ९३० रुपैयाँ मात्र बुझाउँछ । मासिक ५ हजारबाट सुरु भएको भाडा २३ वर्षमा १४ हजार पुग्न लागेको ०५३ सालको सम्झौताले देखाउँछ ।

ल्याम्ह पुचः खोज्दै जाँदा

नेवारी नाम ल्याम्ह पुचः को नेपाली अर्थ ‘युवा समूह’ हुन्छ । सरकारी जग्गामा पूर्ण व्यापारिक फनपार्क चलाएर वार्षिक सात करोड रुपैंयाभन्दा बढी कमाइरहेको यो संस्थाले आफूलाई भने अचम्मै लाग्ने गरी गोप्य राख्न चाहेको बुझियो ।

ल्याम्ह पुचः को कार्यालय

त्यत्रो कमाइरहेको संस्थाको वेबसाइट त के फेसबुक अकाउण्ट समेत नभेटिएपछि कार्यालय खोज्दै जाँदा बागबजारको अद्वैत्त मार्गस्थित शहीद शुक्र माध्यमिक विद्यालयको वाँया पट्टिको सडकबाट अर्को वायाँ गल्ली छिचोलेपछि चिनियाँ ईटाबाट बनेको तीन तले घर भेटियो । त्यही रहेछ ल्यम्ह पुचःको आफ्नै कार्यालय भवन । त्यहाँ साईनवोर्डसम्म राखिएको छैन ।

घरको दोस्रो तल्लाको एउटा कोठामा संस्थाको अस्तव्यस्त कार्यालय रहेछ । बाँकी सबै कोठा र तला भाडामा लगाइएको रहेछ ।

कार्यालयमा भेटिएकी महिला कर्मचारीले संस्थाको अध्यक्ष सहनशीला श्रेष्ठ र महासचिव टंक पन्त रहेको बताइन् । महासचिव पन्त पत्रकार रहेकाले प्रवक्ताको भूमिकामा पनि उनै रहेको बाहेक आफूलाई अरु जानकारी नभए उनले बताइन् ।

तर, उनैले दिएको नम्बरमा फोन गरेर संस्था र फनपार्कबारे जिज्ञासा राख्नासाथ पत्रकार टंक पन्तले ‘म त्यो व्यक्ति होइन, फोन राख्नुस्’ भन्दै काटे ।

संस्थाका अन्य पदाधिकारीहरुसँग सम्पर्क गर्न खोज्दा कसैले पनि कुरा गर्न चाहेनन् । निक्कै प्रयासपछि अनलाइनखबरसँग बोल्न तयार भएकी संस्थाकी अध्यक्ष श्रेष्ठले फनपार्कको आम्दानीलाई समाज सेवामा लगाएको दाबी गरिन् । भनिन्, ‘हामीले गन्हाउने झाडी फाँडेर राम्रो बनाएपछि सबैको आँखा लाग्न थालेको मात्र हो ।’

पछिल्लो समय उनी र महासचिव पन्त सम्पर्कविहीन छन् । कार्यालयमा संस्थाबारे जे बोल्नुपर्ने त्यो प्रवक्ताले नै बोल्छन्, अरुलाई नबोल्न भनिएको छ । दोस्रोपटक गएर सोध्दा कार्यालयकी कर्मचारीले महासचिव पन्त देश बाहिर रहेकाले सम्पर्क हुन नसकेको हुन सक्ने बताइन् ।

पूर्वसभामुखदेखि पत्रकारसम्म

समाज कल्याण परिषदको रेकर्डमा ल्याम्ह पुचः ०५० सालमा काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको देखिन्छ । प्रेमपूर्ण कर्माचार्य संस्थापक अध्यक्ष रहेको यो संस्थाले भृकुटीमण्डपको २३ रोपनी जमिन ०५३ सालमा भाडामा लिएको परिषदको रेकर्डले देखाउँछ ।

परिषदमा बुझाइएको रेकर्ड अनुसार, ०५६/०५७ सालमा वासुदेव ढुंगाना र पूर्वसभामुख दमननाथ ढुंगानालाई यो संस्थाको संरक्षक देखाइयो । त्योबेला संस्थाको अध्यक्षमा श्रीमती साबी पहारी र उपाध्यक्ष हालकी अध्यक्ष शहनशीला श्रेष्ठ थिइन् । त्यस्तै, सदस्यहरुमा ज्ञानदास श्रेष्ठ, श्याम श्रेष्ठ, दिलकुमार तण्डुकार र सरोज प्रधान थिए भने ज्योति वैद्य कार्यकारी निर्देशक ।

केन्द्रीय कार्यकारणी समिति हेरफेर हुँदा ०५७/०५८ मा पत्रकारद्वय महेन्द्र विष्ट र टंक पन्त ल्याम्ह पुचः मा जोडिन आइपुगेको समाज कल्याण परिषद स्रोतबाट प्राप्त कागजातले देखाउँछ । सशनशीला श्रेष्ठ अध्यक्ष रहेको उक्त कार्यसमितिमा बिष्ट, पन्त र धनश्याम अमात्य उपाध्यक्ष बनेको देखिन्छ । त्यस्तै, महासचिवमा ज्ञानदास श्रेष्ठ, कोषाध्यक्ष श्याम श्रेष्ठ र सचिव सिजन लामिछानेको नाम उल्लेख छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका वर्तमान अध्यक्ष बिष्ट अहिले ल्हाम पुचः का संरक्षक र सल्लाहकार छन् । त्यस्तै, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य रहेका पत्रकार पन्त ल्हाम पुचःका महासचिव र प्रवक्ता छन् ।

ल्याम्ह पुचःको शक्ति

सामाजिक संस्थाको स्वामित्वमा रहेको जमीन प्रचलित दरभाउभन्दा निकै न्यून भाडामा लिएर करोडौं आर्जन गरिरहेको ल्हाम पुचः आफैं गैर–नाफामूलक संस्थाको रुपमा दर्ता छ । यस्तो संस्थाले न कमाएको रकम सार्वजनिक गर्छ, न त खर्च विवरण । कतिसम्म भने ल्हाम पुचःले संस्था नवीकरण र लेखापरीक्षणसम्म गरेको छैन ।

गैर–नाफामूलक सामाजिक संस्थाका रुपमा ०५० सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको देखिन्छ । नियामक निकाय समाज कल्याण परिषद ल्हाम पुचःको हिसाब–किताब हेर्ने हैसियतमै नभएको परिषद स्रोत बताउँछ ।

‘परिषदमा पदाधिकारी नियुक्तिदेखि कर्मचारी सरुवा–बढुवा र पदस्थापनसम्म ल्याम्ह पुचः हाबी हुन्छ’, स्रोत भन्छ, ‘अनि कसले आँट गरोस् उसलाई चलाउन ?’

स्रोतका अनुसार, ल्याम्ह पुचःले न हरेक तीन वर्षमा संस्था नवीकरण गरेको छ न त वार्षिक लेखा परीक्षण । नवीकरण, लेखापरीक्षण र आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, दीप बस्न्यात प्रमुख आयुक्त रहँदा अनुसन्धान नै नगरी फाइल फर्काइएको परिषद स्रोत बताउँछ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइराला ल्याम्ह पुचःको उजुरीबारे अनविज्ञता प्रकट गर्छन् । काठमाडौं फनपार्क र टुकुचा तरकारी बजार सम्बन्धमा मुद्दा अदालत गइसकेको भन्दै कोइरालाले ल्याय्म्ह पुचः सम्बन्धी उजुरी फेला परे वा पुनः उजुरी आए आयोगको निश्पक्षताका साथ कारबाही अगाडि बढाउने अनलाइनखबरलाई बताए ।

पहुँच बनाएर मनपरि

समाज कल्याण र ल्याम्ह पुचः बीच ०५३ सालमा भएको सम्झौतामा भृकुटीमण्डपका कुनै संरचना भाडामा लगाउन नपाइने उल्लेख छ । त्यसविपरीत ल्याम्ह पुचःले २६ वटा खेल र ११ वटा रेष्टुरेन्ट भाडामा लगाएको छ ।

फनपार्कमा सञ्चालित रेष्टुरेन्टबाट मासिक भाडा उठाइन्छ भने खेल स्टलबाट दैनिक असुलिन्छ । दैनिक पैसा उठाउने काम कवित राजपुत नामका भारतीयले गर्ने फनपार्ककै एक कर्मचारीले बताए । उनका अनुसार, राजपुतका भिनाजुले पार्कको खेल–तमासा संरचना निर्माणमा करिब तीन करोड रुपैंयाँ लगानी गरेका छन् ।

फनपार्कको मुख्य आकर्षण बाल रेल हो । समाज कल्याण परिषदसँग भएको सम्झौताअनुसार, रेलको टिकट परिषदमा छाप लगाएर मात्र बिक्री गर्न पाइन्छ ।

तर, ल्हाम पुचःले त्यसको पनि उल्लंघन गर्दै आएको छ । परिषद स्रोतका अनुसार, ल्हाम पुचःले चालु आर्थिक वर्षका लागि ३० हजार टिकट छपाएको थियो ।

पुचःले प्रति टिकट रु.३० लिने गरेको छ । यसको सोझो वार्षिक हिसाब नौ लाख रुपैयाँ हुन्छ । फनपार्क प्रवेश शुल्क, वाल रेलसहित २६ वटा खेल–तमासका फरक टिकट र ११ वटा रेष्टुरेन्टको मासिक भाडा ल्याम्ह पुचःको एकलौटी कमाइ हो ।

सहनशीला श्रेष्ठ

यो संस्थाले फनपार्कबाट मासिक न्यूनतम ४० लाखदेखि अधिकतम ६० लाख रुपैयाँसम्म आम्दानी गर्छ । वर्षात र चिसो मौसममा न्युनतम् कमाइ हुन्छ । तर समग्रमा फनपार्क प्रवेश शुल्क, २६ वटा खेल र ११ वटा रेष्टुरेन्ट समेतबाट ल्याम्ह पुचःले वार्षिक रु.७ करोड भन्दा बढी आम्दानी गरिरहेको परिषदले बिभिन्न समयमा गरेको गुप्त अध्ययनहरुले देखाएको स्रोत बताउँछ ।

यसरी मासिक ६० लाख कमाउनेले ल्हाम पुचःले बार्षिक तिर्ने भाडा भने १३ हजार तिरेर करको दायित्व समाज कल्याण परिषदलाई नै छोडेको छ । ०५३ सालमा भएको सम्झौतामा करबारे केही उल्लेख नहुनुको फाईदा पुचःले उठाइरहेको छ ।

परिषदको तत्कालीन नेतृत्वलाई प्रभावमा पारेर सम्झौतामा जानाजान करको बिषय नराखिएको स्रोतको भनाइ छ । करसमेत तिर्न नपर्ने यत्रो अकूत कमाइ कहाँ जान्छ त ? अनलाइखबरको प्रश्नमा ल्हाम पुचःकी अध्यक्ष सहनशीला श्रेष्ठले भनेकी थिइन्, ‘सबै आम्दानी समाज सेवामा खर्च गरेका छौं ।’

भृकुटीमण्डपमा राजनीतिक भागबण्डा

भृकुटीमण्डप खुल्ला बजार, प्रर्दशनी केन्द्र, फनपार्क र तरकारी बजारमा विभाजित छ । खुल्ला बजारमा लत्ताकपडाको अव्यवस्थित र असुरक्षित कारोबार चल्छ । प्रदर्शनी केन्द्रलाई समाज कल्याण परिषद् आफैंले आय स्रोत बनाएको छ भने तरकारी बजारमा तरकारीको खुद्रा बजार लाग्छ ।

टुकुचा खोलाको उत्तरतर्फ रहेको तरकारी बजारमा तत्कालीन माओवादी कार्यकर्ताको प्रभाव छ भने ल्याम्ह पुचः बाल उद्यानमा तत्कालीन एमालेका कार्यकर्ताको हालीमुहाली चलेको वर्षौं भइसक्यो । प्रर्दशनीस्थलका सटरहरुमा पनि नेकपा कार्यकर्ताले नै कब्जा जमाएका छन् ।

नेपाली कांग्रेसको भागमा परेको काठमाडौं फनपार्कको जग्गामा टेकबहादुर गुरुङ हावी थिए । अहिले भने कांग्रेस नेता समेत रहेका गुरुङ भृकुटीमण्डपको ६० रोपनीमा चलाएको काठमाडौं फनपार्कबाट बाहिरिनु मात्र परेको छैन, अख्तियारको मुद्दासमेत खेप्नु परेको छ । उनी ५ लाख धरौटीमा विशेष अदालतबाट छुटेका छन् तर, मुद्दाको अन्तिम पुर्पक्ष भने भएको छैन ।

भृकुटीमण्डप

पूर्वराज्यमन्त्री गुरुङविरुद्ध ३१ करोड ५२ लाख अनियमितता गरेको अभियोग मागदाबीसहित २१ माघमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । यस्तै तत्कालीन समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने, तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, परिषदका तत्कालीन कोषाध्यक्ष कुञ्‍ज बिहारीप्रसाद चौधरी, परिषदका तत्कालीन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र सदस्य–सचिव ई रविन्द्र कुमारबिरूद्ध जनही ३१ करोड ५२ लाख १७ हजारभन्दा बढी रूपैयाँ बिगो मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा हालेको छ ।

तत्कालीन कोषाध्यक्ष रत्न गाहमगर, निर्देशक मदनप्रसाद रिमाल, उप निर्देशक बलबहादुर स्वार, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेब चौधरीबिरूद्ध बिगो मागदाबी गरेको छैन । भ्रष्टाचार ऐन अनुसार सजायँ मागदाबी मात्रै गरिएको छ ।

मन्त्रिपरिषद बैठकबाटै निर्णय गराएर समाज कल्याणमाथि छनविन गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग समेत बनाइएको थियो । स्रोतका अनुसार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ तर, अझै सार्वजनिम भएको छैन । केही निर्देशनात्मक सुधारका कार्यबारे महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सुझाबको पाना दिइएको छ, यसमा छानविनको गुदी कुरा उपलब्ध छैन ।

छानविन प्रतिवेदनलाई हवाला दिएर काठमाडौं फनपार्कलाई भ्रष्टाचार मुद्धा झोसिँदा ल्याय्म्ह पुचः र टुकुचा तरकारी बजार भने उक्त आरोपबाट उम्काइएका छन् ।

माघ २१ मा काठमाडौं फनपार्कलाई भ्रष्टाचार मुद्दा दायर गरिँदा वैशाख पहिलो साता ल्यायम्ह पुचः र टुकुचा तरकारी बजारसँगको सम्झौता खारेजी गर्ने निर्णय समाज कल्याण परिषदले गरेको छ । जसलाई पार्टी सर्मथित कार्यकर्ता संलग्न अनियमितता जोगाउन गरिएको प्रपञ्च ठानिएको छ ।

पूर्णरुपमा व्यवसायिक सञ्चालनमा आएको खण्डमा भृकुटीमण्डप क्षेत्रबाट परिषदले बार्षिक ६० करोड भन्दा धेरै कमाइ गर्न सक्ने एक अधिकारी बताउँछन् । तर, दलगत भागबण्डाका आधारमा भृकुटीमण्डपमा भएको बेतिथि समाज कल्याण परिषद् आफ्ना कर्मचारीलाई तलब खुवाउने हैसियतमा समेत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment