Comments Add Comment

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास

पार्टी नेतृत्व सुम्पिए पाँच वर्ष प्रधानमन्त्री बनाउन तयार

१६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।

पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ ।

प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग गरिएको कुराकानीमा क्रममा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने बताए ।

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७५ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साथीएका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।

हेर्नुहोस् गोप्य सहमति

समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।

यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने प्रचण्डले बताएका छन् । तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने प्रचण्डको माग छ ।

ऋषि धमलासँगको गफगाफमा प्रचण्डले यसो भनेका छन्–

पार्टी एकता गर्दा पक्कै पनि हाम्रोवीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।

केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न । यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टीभित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।

देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को चाहिँ अध्यक्षले प्रधानमन्त्री मुख्यरुपमा हेर्ने गरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने, चाहिने भनेर मैले सोचेको छैन । मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन बोल्या हो कि भन्ने पनि मान्छे छन् । तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन । म समर्थन गरिराख्छु ।

म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्नेमा म छैन । तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु ।
अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ ।

तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ । म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।

राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।

(वीचैमा ऋषि धमलाको प्रश्न– ओलीजीले छाड्नुभएन भने ?)

सबैचिज सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ । त्यो त पार्टीले गर्ने कुरा हो । त्यस्तो कुराको म अहिले कल्पना गर्न चाहँदिनँ । मैले प्रधानमन्त्रीजीलाई दुःख–सुख, अप्ठ्यारो सबैमा रक्षा गर्न मैले मेरो ठाउँबाट बल गरिराखेकै छु । तपाईहरुले देखिराख्नुभएकै छ ।
मैले सरकारको पक्षमा, प्रधानमन्त्रीजीको पक्षमा जनताका वीचमा, पब्लिक कार्यक्रमहरुमा सरकारले गरेका राम्रा कामहरु के–के हुन् भन्ने कुरा पनि मैले भनिराखेकै छु । त्यसकारण, तपाईको यो प्रश्नमा म अहिले जान चाहँदिनँ । त्यसो गर्नु वास्तवमा उचित पनि हुँदैन । किनभने, हामी सहज ढंगले कुराकानी गरी पनि राख्या छौं । हामीमा केही कमी छन् भने त्यसलाई सच्याउनुपर्छ भन्नेतिर हामी गई पनि राखेका छौं । त्यसकारण भोलि उहाँले छोड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्न ।

यो विषय हामीले जे समझदारी गरेका छौं, त्यो समझदारीअनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो । यसमा यसरी नै बुझ्नु होला । योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ ।

दोस्रो, म फेरि पनि के भन्न चाहन्छु भने सवाल सुशासन र जनताको विकास र समृद्धिको आकांक्षालाई सम्वोधन गर्ने कुरा हो । जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएका बेलामा सुशासनको अनुभूति ग¥यो कि गरेन ? यो एउटा सवाल हो भने जनताले अबचाहिँ देशमा विकास हुने भयो, भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो, विकास र समृद्धितिर पनि अगाडि गयो, सरकार र पार्टीका नेताहरुको अर्को कुनै स्वार्थ छैन भन्ने कुरा जनताले बुझ्यो, चिज एक ढंगले जान्छ ।

जनताले होइन, भ्रष्टाचार त उस्तै छ, झन बढी बढेको पो छ, विकास पनि भन्याजस्तो गरी अगाडि आइराख्या छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नु भो त ?

पार्टीभित्र सबै कुरा छलफलले, हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले जान्छ ।

म पार्टीको अध्यक्षको नाताले, यो पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले पनि मेरोचाहिँ के छ भने यसलाई बचाउने, यसलाई सुदृढ गर्ने एकताको आधार भनेर हामीले सैद्धान्तिक राजनीतिकरुपले पनि एउटा बनाएका छौं, त्यो आधारमा टेक्ने । त्यो आधार भत्किन नदिने । र, जे सहमति गरिएको छ, त्यो इमान्दारितासाथ कार्यान्वयन गर्ने । केका लागि भने यो देशका लागि र जनताका लागि । राष्ट्रको एकता र स्वाधीनताका लागि । र, अनि जनताको विकासको आकांक्षा सम्वोधन गर्नका लागि ।

तर, त्योबाट दायाँवायाँ भयो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । दायाँ वायाँ कोही गर्न खोज्यो भने त्यो टिक्नेवाला छैन भन्ने छ मेरो । मैले गर्न खोजें भने म टिक्दिनँ । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।

आपसी समझदारीमा आवश्यक गम्भीरता, निर्णय लिँदाखेरि इमान्दार र पारदर्शी तरिकाको छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ । त्यहाँ गम्भीर भइएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ ।

तर, केपीजीसँग मेरो खुलेर छलफल हुन्छ । दुई चार दिनअघि हामी बालुवाटारमा बस्यौं । खुलेर मनमा लागेका कुरा एक–अर्कालाई भनियो । खुल्लम खुल्ला नै भनियो दुईजना मात्रै बसेर । यसले गर्दा हिजो हामीले गरेको एकता र विश्वास तोड्नेतिर हैन, ठीकै दिशातिर जान्छ भन्ने नै मेरो विश्वास छ ।

बिराटनगरमा पनि उस्तै संकेत

नेकपा अध्यक्ष प्रचण्डले तीन दिनअघि बिराटनगर पुगेका बेला विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दाखेरि पनि आलोपालो सरकार सञ्चालनको सहमति भएको स्पष्ट संकेत दिएका थिए ।

बिराटनगरका पत्रकारले प्रचण्डलाई सोधेका थिए, ‘यही सरकार र मन्त्रीहरु नै ५ वर्ष चल्ने कुरा छ, तपाई यसमा के भन्नु हुन्छ ?’
पत्रकारको जवाफमा प्रचण्डले भनेका थिए, ‘यो कुरा अहिलेको प्रश्न पनि होइन र अहिलेको आवश्यकता पनि होइन । हामीले चुनावका बेलामा, चुनावपछि पार्टी एकता गर्ने बेलामा एउटा समझदारी गरेका छौं, समझदारीअनुसार नै सबै चिज अगाडि बढ्छ । एउटा कुरा के पक्का हो भने हाम्रै पार्टीको नेतृत्वमा ५ वर्ष सरकार चल्छ ।’

१८ गते पोलिटब्यूरो गठनको प्रयास

यसैवीच अध्यक्ष प्रचण्डले आगामी शनिबार पार्टीको सचिवालय बैठक बस्ने र पार्टी एकताका बाँकी कामहरु टुंग्याउने बताएका छन् ।

पार्टी एकताबारे बिराटनगरका पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘पोलिटब्युरो गठनको हामी गृहकार्य गरिराखेका छौं, त्यो अन्तिम चरणतिर छ । हामी १८ गते सचिवालयको बैठकबाट यो कुराको टुंगो लगाउने प्रयासमा छौं । नभए पनि कार्यविभाजन र बाँकी रहेका एकतासँग सम्बन्धित रहलपहल कामहरु हामी १८ गते सक्ने गरी प्रयास गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment