+
+
Shares

श्वेतपत्र जारी गर्दै चीनले भन्यो- व्यापार युद्ध होइन, वार्ता गरौं

'अमेरिका र चीन सँगसँगै अगाडि बढेमा संसारलाई लाभ'

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते ८:१४
Photo Credit : Reuters

२१ जेठ, काठमाडौं । चीनले अमेरिकालाई व्यापार युद्ध नभई वार्ता गर्न प्रस्ताव गरेको छ । व्यापार युद्धले अमेरिका र चीनलाई मात्र नभई संसारलाई नै बेफाइदा हुने भन्दै चीनले वार्ताको प्रस्ताव गरेको हो । तर वार्ता बराबरी जितको हैसियतमा र विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्ने चीनको सर्त छ ।

चीनको राज्य परिषद सूचना कार्यालयले श्वेतपत्र जारी गर्दै वार्ताका लागि प्रस्ताव गरेको हो । श्वेतपत्रमा प्रयोग भएका शब्दहरु कतै अमेरिकाप्रति आक्रामक र कतै नरम देखिन्छन् ।

यदि अमेरिकाले व्यापार युद्धलाई नरोके चुनौतीलाई अवसरमा बदल्दै चीनको इतिहासमा नयाँ अध्याय स्थापित गर्न आफू प्रतिबद्ध रहेको चीनले जनाएको छ । त्यसका लागि चीन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने श्वेतपत्रमा उल्लेख छ ।

चीन-अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा जारी गरिएको श्वेतपत्रमा सन् २०१७ देखि नै ट्रम्प प्रशासनले मुख्य व्यापारिक साझेदारलाई उनीहरुका सामानमा थप महशुल र अतिरिक्त शुल्क लगाउने धम्की दिँदै उत्तेजना फैलाएको उल्लेख छ ।

वर्तमान अमेरिकी प्रशासनले ‘अमेरिका फस्ट’ भन्ने नारा अघि सार्दै एकपक्षीय रुपमा संरक्षणवादलाई प्रवर्द्धन गरेको चीनको आरोप छ । अमेरिकाले अपारदर्शी, एकतर्फी र अहिले भइरहेका विश्वव्यापी मानकहरुविपरित संरक्षणवादलाई प्रवर्द्धन गर्दै व्यापार युद्ध घोषणा गरेको चीनको भनाइ छ ।

चीनले अमेरिकालाई लगाएको गुन

खासगरी हुवावे काण्डपछि अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था छ । सूचना प्रविधिमा चीनको अग्रणी कम्पनी हुवावेले आफ्ना उत्पादनलाई जासुसी गर्न उपयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ र चीनले त्यसको खण्डन गर्दै आइरहेको छ । जासुसीको प्रमाण पेश गर्न नसकेपछि अमेरिकाले चिनियाँ स्टिल र आल्मुनियम आयातमा भारी कर वृद्धि गरेको थियो । त्यसको करिव एक महिनापछि सन् २०१८ जुलाई १५ मा ट्रम्पले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा लाग्ने करमा २५ प्रतिशत वृद्धिको घोषणा पनि  गरे । त्यसको प्रतिउत्तरमा चीनले पनि केही अमेरिकी सामानमा कर बढायो । अमेरिका र चीनबीच भइरहेको यही लडाइँ व्यापार युद्धको रुपमा परिचित छ ।

विगत हेर्ने हो भने अमेरिका त सन् २००८ देखि चीनसँग सबैभन्दा बढी ऋण लिएको राष्ट्र हो । सन् २००८ देखि सुरु भएको अमेरिकी अर्थतन्त्रको संकट टार्न अमेरिकाको एक ट्रिलियन ‘ट्रेजरी बिल’ समेत चीन एक्लैले किनिदिएको थियो ।

विश्व आर्थिक मन्दीपछि अमेरिकी अर्थतन्त्र जोगाउन चीनले सबैभन्दा बढी सहयोग गर्‍यो । सन् २००८ को आर्थिक संकटको पूर्वार्द्धमा विश्वको कूल गार्हस्थ उत्पादनमा अमेरिकाको हिस्सा २० प्रतिशत र चीनको १३ प्रतिशत थियो ।

सन् २००८ मा झन्डै विघटन हुन लागेको आफ्नो अर्थतन्त्र जोगाउन त्यत्रो सहयोग गरेको चीनलाई त्यसको एक दशक पछाडि नै अमेरिकाले व्यापार युद्धमा आमन्त्रण गरिरहेको छ ।

बराबरी जीतको हैसियतमा सम्झौता गर्न तयार

व्यापार युद्धले स्वयं अमेरिकालाई पनि घाटा लाग्ने चेतावनी दिँदै चीनले अहिले भइरहेको व्यापारिक अवरोध वार्ता र छलफलको माध्यमबाट टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।

‘अहिलेको समस्या समाधानको लागि चीनले दुवै पक्षको बराबरी जितको हैसियतमा वार्ता र छलफल होस् भन्ने चाहन्छ,’ श्वेतपत्रमा लेखिएको छ, ‘तर त्यो विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्छ ।’

चीनले कुनै पनि सिद्धान्तमा सम्झौता नहुने, आफूले व्यापार युद्ध नचाहेको र सहमति तथा सहकार्यबाट दुवै देशको बराबरी जितको हैसियतमा सम्झौता गर्न तयार रहेको बताएको छ । तर आफू कुनै पनि स्थापित सिद्धान्तको विपरित नजाने चीनले स्पष्ट पारेको छ ।

अमेरिकाले एकतर्फी रुपमा व्यापारिक सिद्धान्तलाई लागू नगरेको र सारा विश्वलाई असर पर्ने गरी नयाँ खालको शुल्क र महसुल लगाएको चीनको भनाइ छ ।

अन्तर्राष्ट्रिय नियम कानुनप्रति आफू पूर्णप्रतिबद्ध रहेको बताउँदै चीनले नयाँ खालका कानुनी उपचारलाई पनि सम्मान गर्ने र सकारात्मक नतिजा निकाल्नका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । चीनले कुनै पनि प्रमुख सिद्धान्तहरुमा सम्झौता नगर्ने, व्यापार युद्ध नचाहने, तर व्यापार युद्ध भइहाले त्यसको निम्ति जस्तोसुकै कदम चाल्न नडराउने चेतावनी पनि दिएको छ ।

‘अमेरिकाले धोकेबाज चरित्र देखायो’

आइतबार जारी भएको श्वेतपत्र कतै अमेरिकाप्रति आक्रामक र कतै नरमजस्तो देखिन्छ । समग्रमा चीनले अहिले आफ्नो स्थान स्पष्ट पार्दै अमेरिकाले अपारदर्शी र धोकेबाज चरित्र देखाएको आरोप लगाएको छ ।

श्वेतपत्रमा भनिएको छ, ‘चाइना, अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा भएका गम्भीर धक्काको सम्पूर्ण जिम्मा अमेरिकाले लिनुपर्छ ।’

चीन र अमेरिकाको विकासको चरण, आर्थिक संरचनाको वास्तविकता तथा अन्तर्राष्ट्रिय औद्योगिक श्रम सम्बन्धको विषयमा नजरअन्दाज गर्दै अमेरिकाले गलत तरिकाले व्यापारिक नीतिहरु अगाडि सारेको र व्यापारमा अवरोध सिर्जना गरेको चीनको भनाइ छ ।

अमेरिकाले खुला व्यापार नीतिको विरुद्धमा बिभिन्न हतकण्डाहरु अपनाएको र यसक्रममा २०१७ को अगष्टदेखि एकतर्फी ढंगबाट आफ्ना कम्पनीविरुद्ध जासुसी गर्न थालेको चीनले आरोप लगाएको छ ।

वौद्धिक सम्पत्ति चोरी गरेको भनेर अमेरिकाले चीनलाई एकतर्फी आरोप लगाएको बताउँदै चीनले, वौद्धिक सम्पत्ति संरक्षणमा लिएको नीति असाध्यै पारदर्शी भएको दावी पनि गरेको छ । श्वेतपत्रमा चीन बौद्धिक सम्पत्ति संरक्षणमा पूर्णप्रतिबद्ध रहेको, केही कानुनी प्रणालीमा पनि सचेत रहेको र चीनको वौद्धिक सम्पत्ति मौलिक रहेको स्पष्ट पारेको छ ।

बौद्धिक सम्पत्ति संरक्षणका लागि चीनले अगाडि सारेको कदमप्रति व्यापक अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति संरक्षण संघका महानिर्देशक अर्पाड बोसेचको भनाइ उद्धृत गर्दै श्वेतपत्रमा चीनले वौद्धिक सम्पत्ति संरक्षणको क्षेत्रमा धेरै सकारात्मक प्रगति हासिल गरेको उल्लेख गरेको छ । वौद्धिक संरक्षणको क्षेत्रमा चीनको उपलब्धी इतिहासमै अतुलनीय भएको चीनको दाबी छ ।

सो दस्तावेजमा वर्तमान विश्वव्यापी समयमा चीन र अमेरिकाका अर्थतन्त्रहरु एकापसमा सबैभन्दा महत्वपूर्ण तरिकाले एकीकृत र एउटै श्रृंखलामा जोडिएको स्मरण पनि गरिएको छ ।

अमेरिकालाई पनि घाटा

श्वेतपत्रमा लेखिएअनसार सन् १९७९ मा अमेरिका र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बेलामा दुई देश बीचको व्यापार जम्मा २.५ बिलियन डलर थियो भने सन् २०१८ मा आइपुग्दा दुई देशबीच ६३३.५ बिलियन डलरको व्यापार पुगेको छ ।

सन् २०१८ मा अमेरिका चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसैगरी चीन अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार, तेस्रो ठूलो निर्यात बजार र सबैभन्दा ठूलो आयातकर्ता मुलुक हो ।

अहिलेको व्यापार युद्धले अमेरिकालाई लाभ नगरेको भन्दै चीनले बुँदागतमा रुपमा केही तथ्यहरु पनि प्रस्तुत गरेको छ । अहिलेको अतिरिक्त शुल्कले अमेरिकन कम्पनीको उत्पादन खर्च ह्वात्तै बढाएको, अमेरिकन बजारमा आन्तरिक बजारको मूल्य थप बढेको, अमेरिकी अर्थतन्त्रको वृद्धिदर र जनताको जीवनस्तरमा नकारात्मक प्रभाव परेको, चीनतिर हुने अमेरिकन वस्तुको निर्यातमा थप अवरोध सिर्जना भएको उल्लेख छ ।

चुनौतीलाई अवसरमा बदल्न चीन प्रतिबद्ध

पछिल्लो व्यापार युद्धले चीनको विकासमा चुनौति आइपर्ने विश्वव्यापी अनुमानस्वरुप नै चीनले आफ्नो विकास सरल रुपमा अगाडि नबढ्ने कुरा स्वीकार गरेको छ । ‘थप कठिनाइहरु देखापर्ने निश्चित छ तर भविष्यमा आइपर्ने जुनसुकै चुनौतिहरु पनि सामना गर्नको लागि चीन दृढ छ,’ श्वेतपत्रमा लेखिएको छ, ‘चुनौतीलाई अवसरमा बदल्दै चीनको इतिहासमा नयाँ अध्याय स्थापित गर्न चीन सरकार प्रतिबद्ध छ ।’

अमेरिकाले एकतर्फीरुपमा आर्थिक तथा व्यापारिक अवरोध गरेपछि त्यसको प्रतिउत्तरमा केही बाध्यकारी कदमहरु चाल्ने चेतावनी चीनले दिएको छ र त्यो कदम चिनियाँ जनताको निम्ति हुने स्पष्ट पारेको छ ।

अमेरिका र चीन सँगसँगै अगाडि बढेमा दुई देशलाई मात्र होइन, संसारलाई लाभ हुने श्वेतपत्रमा उल्लेख छ । सो दस्तावेजमा लेखिएको छ, ‘अमेरिकाले अहिले लागू गरेको अतिरिक्त शुल्क चीनको लागि पनि राम्रो छैन र अमेरिकाका लागि पनि फाइदाजनक छैन । सारा संसारको लागि झन् खराब छ ।’

हेर्नुहोस् चीनले जारी गरेको श्वेतपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?