Comments Add Comment

निर्माता संघको विज्ञप्ती–‘शुक्रबारमात्र फिल्म प्रदर्शनको प्रावधान लागू होस्’

बलिउड चलचित्र ‘भारत’लाई बुधबार नै नेपालमा रिलिज गरि पाउँ भनेर वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दायर गरेपछि अदालतले वितरण कम्पनीको पक्षमा फैसला ग¥यो । योसँगै अब जुनसुकै बारमा पनि विदेशी चलचित्र रिलिज हुने बाटो खुलेको छ ।

योसँगै सलमान खान स्टारर चलचित्र ‘भारत’ भोलीदेखि नै नेपालमा रिलिज हुँदैछ । यसको प्रत्यक्ष असर रिलिज भैरहेका नेपाली चलचित्रमा परेको छ । ‘जात्रै जात्रा’को शो आधा घटेको छ भने हलमा चलिरहेको चलचित्र ‘कुम्भ करण’ ५ दिनमात्र मल्टिप्लेक्समा चल्न पाएको छ । नेपाली चलचित्रलाई पाखा लगाउँदे वितरकले यस्ता खालका प्रवृत्ती देखाउँदै आएको यो पहिलो पटक भने होइन ।

चलचित्र निर्माता संघले विज्ञप्ती जारी गर्दै वितरकहरुले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न लागेको भन्दै असन्तुष्टी जनाएको छ । संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपालका चारवटा ठूला चाडपर्व(दशै, तिहार, तिज र नयाँ बर्ष) का निश्चित बिदाका दिन बाहेक अन्य मितिमा अनिवार्य रुपमा चलचित्र शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धती रही सोही अनुसार चलचित्र प्रदर्शन हुँदै आएकोमा केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट चलचित्रको प्रदर्शनलाई असरपार्ने मनसायबाट एक विदेशी चलचित्र उल्लेखित पद्धती र प्रावधानको विपरित शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको सुन्नमा आएको हुँदा यसमा संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

संघको विज्ञप्तीमा अगाडि भनिएको छ–‘चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतीबाट व्यवस्थित गर्नुको ध्येय विशुद्ध रुपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राखी कुनैपनि भाषाका चलचित्रहरुलाई सर्वसुलभ रुपमा प्रदर्शन हुने पद्धती र परिपाटिको विकास गर्नु रहेको हुँदा नेपाल चलचित्र संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्ष समक्ष शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्षण गराउँदछ ।’
निर्माता संघले वार्ता र छलफलका लागि सधै तयार भएको समेत स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment