News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका क्रममा भेटेरिनरी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य गर्ने महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
- नेपाल भेटेरिनरी एसोसिएसनसहितका संस्थाबीच शिक्षा, अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र वन हेल्थ अवधारणा प्रवर्द्धन गर्ने विषयमा सहमति जुटेको छ ।
- समझदारीले पशु स्वास्थ्य, खाद्य सुरक्षा र जनस्वास्थ्य संरक्षणमा टेवा पुर्याउने विश्वास गरिएको छ भने यसलाई ऐतिहासिक उपलब्धि मानिएको छ ।
१९ साउन, काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणमा छन् ।
उनको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्त्वपूर्ण कूटनीतिक तथा प्राविधिक विषयहरूमा हस्ताक्षर गरेको छ ।
विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल हुनुका साथै ‘वन हेल्थ’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन वन हेल्थ फुकुओका अफिस तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसनबीच भेटेरिनरी शिक्षा, अनुसन्धान, जनस्वास्थ्य, वन हेल्थ अवधारणाको प्रवर्द्धन, प्राविधिक ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा अन्य साझेदार संस्थाहरूका तर्फबाट विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीले हस्ताक्षर गरे ।
समझदारीअनुसार सहभागी संस्थाहरूले भेटेरिनरी शिक्षा, अनुसन्धान, प्राविधिक ज्ञान आदान–प्रदान, संयुक्त तालिम तथा वन हेल्थ अवधारणाको प्रवर्द्धनमा सहकार्य गर्ने सहमति गरेका छन् । यसबाट नेपालका भेटेरिनरी चिकित्सकहरूको क्षमता अभिवृद्धि, पशु स्वास्थ्य सेवा सुदृढीकरण, खाद्य सुरक्षा तथा जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउची तथा उनको प्रतिनिधिमण्डल, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ वैज्ञानिक डा. निना अमात्य, नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्षहरू डा. सितलकाजी श्रेष्ठ, डा. प्रह्लाद सापकोटा र डा. विमलकुमार निर्मल, फाभा जेड्सी कार्यक्रमकी प्रतिनिधि डा. सम्झना काफ्ले, नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा पशुपन्छी विकास क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले उक्त समझदारी नेपालको भेटेरिनरी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए । यसले अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि हस्तान्तरण, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा वन हेल्थ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4