Comments Add Comment

बाबुराम र उपेन्द्रको दावी : अबको चुनावमा पहिलो शक्ति

१७ जेठ, बुटवल । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गरे ।

समाजवादी पार्टीले २०५२ सालपछि उदय भएका क्रान्तिकारी, पहिचानवादी र परिवर्तनकारी पार्टी, शक्ति र समूहलाई पार्टी एकतामा ल्याई आगामी चुनावपछि देशको नेतृत्व गर्ने भट्टराईले दावी गरे ।

‘समाजवादी पार्टी अब ४०–५० सिटमा चित्त बुझाएर नेकपा वा कांग्रेसको पुच्छर बनेर २÷४ जना मन्त्री खाने पार्टी बन्दैन’ भट्टराईले भने ‘देशभर संगठन बनाएर सरकारको नेतृत्व गर्ने हो ।’

कांग्रेसको पुँजीवाद र नेकपाको साम्यवाद दुबै विचारधारा विश्वमै असफल भइसकेको भन्दै उनले समाजवादी पार्टी विकल्प बन्ने दावी गरे । संघीय परिषद अधयक्ष डा. बाबुराम भट्टराईले भने ‘समाजवादी पार्टीको गठनसंगै नेकपा र कांग्रेसको दिनगन्ती शुरु भएको छ ।’

सत्तारुढ नेकपा र कांग्रेस एकल जातीय, एकल लिंगीय पार्टी भएको आरोप लगाउंदै भट्टराईले समाजवादी पार्टी नै वैचारिक ढंगले नयां र हिमाल, पहाड, तराई मधेसलाई जोड्ने समावेशी पार्टी भएको दावी गरे ।

प्रचण्डले जनयुद्धकालमा एजेण्डा छाडेर पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाउंदै भट्टराईले प्रचण्ड भन्दा आफू क्रान्तिकारी भएको जिकिर गर्दै नेकपाका क्रान्तिकारी, पहिचानवादी नेता कार्यकर्तालाई समाजवादी पार्टीमा आउन आग्रह गरे ।

अहिलेको राज्य पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली गलत भएको तर्क गर्दै भट्टराईले सरकार, सदन र सडक आन्दोलनमार्फत सरकारलाई झुकाएर संविधान संशोधन गराएरै छाड्ने बताए ।

पहिलो संविधानसभाको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार ११ प्रदेशसहितको राज्यको पुनःसंरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद भएपछि मात्र मुलुकमा समृद्धि र दिगो शान्ति आउने उनले स्पष्ट पारे ।

विज्ञहरुले सिफारिस गरेको ११ प्रदेशमा कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्र पनि सहमत भएको स्मरण गर्दै भट्टराईले दोस्रो संविधानसभामा एमाले र कांग्रेसको वहुमत भएपछि ७ प्रदेश आएको बताए ।

केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्तिसंगको पार्टी एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै अब राजपा, जनमुक्ति र अन्य पार्टीसंग पनि एकता गर्ने बताए ।

समावेशिताका हिसाबले समाजवादी पार्टी पहिलो बनिसकेको र संगठनलाई गाउँटोलसम्म पु¥याएर अबको चुनावमा पहिलो पार्टी बनाउने दावी गरे ।

‘नयाँ शक्तिसंग मिल्यौं, अब पुग्यो भन्ने होइन, यो एकता शुरुवात मात्रै हो, अब राजपा, जनमुक्तिलाई पनि एकतामा आउन अपील गर्छौं’ यादवले भने ‘हामी सांच्चिकै लोकतान्त्रिक, समावेशी र वैकल्पिक पार्टी बनाउने लक्ष्यका साथ अघि बढेका छौं र अर्को चुनावसम्म तरक्की गरेर नम्बर वान पार्टी बनाउँछौं ।’

विगतमा आफ्नो पार्टीलाई जातीय र क्षेत्रीय पार्टीको आरोप लाग्ने गरेको स्मरण गर्दै यादवले नयाँ शक्तिसँगको एकतापछि साँचो अर्थमा राष्ट्रिय पार्टी बनेको दावी गरे ।

‘खस आर्य, जनजाति, मधेशी, मुस्लिम, दलित, महिला सबैको नेतृत्वमा सार्थक सहभागिता छ’ यादवले प्रश्न गरे ‘आफूलाई राष्ट्रिय पार्टी गर्ने नेकपा र कांग्रेसमा यस्तो कहां छ ?’

अभिमुखीकरणमा पार्टीका उपाध्यक्ष परशुराम खापुङ, नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ, शहरी विकास मन्त्री इस्तियाक राईलगायतले तल्लो तहसम्म एकताका क्रममा लचकता अपनाएर भावनात्मक रुपमै एक हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

अभिमुखीकरणमा प्रदेश ५ का करिब एक हजार अगुवा कार्यकर्ता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment