Comments Add Comment

सिड्नीमा नेपालीलाई स्वास्थ्य चेतना : डाक्टरको सल्लाह मान्न वकिलको सुझाव

सिड्नी । शनिबार सिड्नीमा आयोजित स्वास्थ्य जागरण कार्यक्रममा यहाँका चर्चित कानून व्यवसायी डा. शम्सेरसिंह थापाले सहभागीहरुलाई सुझाव दिए- आफ्नो स्वास्थ्यबारे सल्लाह नजिकका साथी वा सामाजिक सन्जालबाट होइन कि डाक्टरसँग लिनुपर्छ ।

अहिले सामाजिक सन्जालमा हरेक रोगको उपचारबारे अनावश्यक कुरा प्रकाशित हुने गरेका भन्दै ती सुझाव मान्न थलियो भने स्वस्थ हुने होइन कि झन् थला परिने उनको भनाइ थियो ।

दक्षिण पश्चिम सिड्नीको मिन्टोमा अवस्थित सामुदायिक भवनमा अष्ट्रेलियामा रहेका विभिन्न पेशामा दक्षता हासिल गरेका नेपाली मुलका वरिष्ठ चिकित्सक, अष्ट्रेलियाका सांसद, क्याम्पवलटाउन, लिभरपुल र क्याम्देन काउन्सिलका मेयर, उपमेयर, काउन्सलर, वरिष्ठ वकिल, पत्रकार, समाजका अगुवा, एनआरएनका पदाधिकारी र आसन्न निर्वाचनका उम्मेदवारहरु, नेपालबाट आएका अभिभावक र विद्यार्थीहरुसहित झण्डै तीन सयको  उपस्थिति थियो ।

डा. बाबुराम बस्ताकोटीको प्रस्तुती

सिड्नीमा नेपाली विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा  नेपालीहरुहरुलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य चेतना कार्यक्रम यहाँ हुने अन्य कार्यक्रमभन्दा नौलो थियो । वरपरका अन्य नेपाली कम्युनिटीको सहआयोजनामा साउथवेस्ट नेपलीज कम्युनिटीले आयोजना गरेको स्वास्थ्य जनचेतना कार्यक्रम साच्चिकै शिक्षाप्रद भएको सहभागीहरुले बताएका थिए ।

कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै साउथवेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष डा. देवेन्द्र सापकोटाले समुदायको स्वास्थ्य, शिक्षा, सांस्कृतिक पहिचान र धार्मिक तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि कार्ययोजना अगाडि बढाएर लैजाने प्रतिवद्धता ब्यक्त गरे ।

डा. कुमुद धिताल

‘हामी दक्षिण पश्चिम सिड्नीमा बसोबास गर्ने नेपालीहरुको वृहत्तर हितका लागि कार्य गर्न लागिपरेका छौं र यसमा काउन्सिलको सहयोगात्मक भूमिकाको अपेक्षा गरेका छौं,’ उनले भने । निकट भविश्यमै यस भेगका नेपालीहरुलाई लक्षित गरी आयोजना हुने विविध कार्यक्रमका लागि एउटा सामुदायिक भवनको खाँचो रहेको र त्यसमा काउन्सिलको सहयोगात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए ।

कार्यक्रमका सहआयोजक ल्युमिया नेपलिज कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाईंले स्वास्थ्य जनचेतना जस्तो महत्वपूर्ण र शिक्षाप्रद विषय विशेष गरेर नेपाली समाजमा अत्यन्त आवश्यक रहेको र यस्ता कार्यक्रममा विभिन्न नाममा छरिएर रहेका नेपालीहरु एकढिक्का भई निकट भविश्यमा पनि निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पवलटाउन सिटी काउन्सिलका मेयर जर्ज व्रिटसेभिकले स्वास्थ्य जनचेतना जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाली समुदायले गर्ने कार्यक्रममा काउन्सिल सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाए ।

 

कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालक च्यान्टिभोंग, क्याम्पवलटाउन सिटीका उपमेयर रे लाउन्ड, सांसद पिटर सिडगि्रभ्स, क्याम्पवलटाउन काउन्सिलका काउन्सलर मसुद चौधरी, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्लेलगायतले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तब्य राखेका थिए  ।

आकर्षणका केन्द्रविन्दु भने चिकित्सकहरु नै थिए । कार्यक्रमका मुख्य आकर्षण डा. कुमुद धितालमा थियो । मुटु प्रत्यारोपण मार्फत विश्वमै चर्चित बनेका डा. धितालले कार्यक्रममा मुटुरोग र असल स्वास्थ्यसम्वन्धी विविध जानकारीमुलक सामाग्रीहरु प्रस्तुत गरेर सहभागीहरुलाई उत्साहित बनाएका थिए ।

अर्का चर्चित चिकित्सक डा. सीताराम जोशीले ‘जेरियाटीक स्वास्थ्य’ सम्वन्धी प्रस्तुतीलाई अत्यन्त सरस, आकर्षक र सरल ढंगबाट प्रस्तुत गरेर चेतना कार्यक्रममा सहभागीहरुलाई हौस्याएका थिए ।

अर्का डा. प्रविण पाठकले ‘पुरुष स्वास्थ्य र प्रोस्टेट स्क्रिनिंगसम्वन्धी, डा. बाबुराम बस्ताकोटीले मधुमेह जाँच, परीक्षा र उपचार सम्वन्धी, डा. रुपेश केसीले दाँत सम्वन्धी, डा. महेन्द्र नेपालले मानसिक रोगसम्वन्धी र डा. अन्जु पाण्डेले पाठेघरको क्यान्सरसम्वन्धी विभिन्न चेतनामुलक प्रस्तुती दिएका थिए । त्यस्तै डा. प्रमिला सापकोटाको ‘स्तन क्यान्सर र उपचार’सम्वन्धी प्रस्तुति उपस्थित अभिभावक र विशेष गरेर महिला सहभागिहरुका लागि शिक्षाप्रद थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment