Comments Add Comment

एपीएफ ४१ रनमै अलआउट ! सबै खेलाडी दोहोरो अंकविहीन

उपाधिका लागि फाइनलमा पुलिस र आर्मी भिड्ने

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा एउटा अचम्मकै घटना भएको छ । साविक विजेता एपीएफ क्लब पुलिसविरुद्ध ४१ रनमै अलआउट भएको छ । अझ रोचक कुरा के छ भने एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ क्लब २२.१ ओभरमा ४१ रनमै अलआउट हुन्छ भनेर कसैले सोचेका थिएनन् । तर भयो यस्तै यो । प्रधानमन्त्री कपकै सबैभन्दा कम स्कोर पनि हो ।

नेपाली क्रिकेटका चर्चित अनुहार जसले अन्तर्राष्ट्रिय स्तरमा तहल्का नै मचाएका छन् । तर, ती सबै खेलाडी आज पुलिसविरुद्ध फ्लप बनेका छन् । एपीएफका शरद भेषवाकर र पृथु बास्कोटाले ७-७ रन बनाए । एपीएफको लागि खेलाडीले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो । त्यस्तै, अमरसिंह रौटेला ६ रनमा अविजित रहँदा नेपाली राष्ट्रिय टिममा स्थान बनाएका सन्दीप जोरा ५ रनमा आउट भए । अविनाष बोहराले ३ रन बनाए ।

प्रदीप ऐरी, सुमित महर्जन र आफिस शेखले २-२ रन बनाउँदा कप्तान बसन्त रेग्मी शून्य रनमा आउट भए ।

अधिकांश खेलाडी राष्ट्रिय टिमका भए पनि यस्तो नतिजाले सबैलाई अचम्मित बनाएको छ ।

एपीएफलाई धरासायी बनाउन पुलिसका ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । उनले ६ ओभर बलिङ गर्दै ८ रन मात्र खर्चिएर चार विकेट लिए । त्यस्तै, सागर ढकाल र कुशल भुर्तेलले समान ३-३ विकेट लिए ।

४२ रनको झिनो लक्ष्य पछ्याएको पुलिसले ९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । तर पुलिसको पनि छिट्टै पाँच विकेट गुम्यो । पुलिसका लागि पवन सर्राफले २१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए ।

बलिङतर्फ बसन्त रेग्मीले तीन र शरद भेषवाकरले दुई विकेट लिए ।

पुलिसले अब उपाधिका लागि आर्मीसँग टियु क्रिकेट मैदानमा शनिबारको दिन प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment