Comments Add Comment

लोकगीतको भिडियोमा नायिकाः ‘बाध्यता कि आकर्षण’ ?

अहिले लोकगीतको क्रेज गज्जब छ । संगीतिक क्षेत्रमा लोकगीतले निकै राम्रो स्थान बनाइरहेको छ । ‘सालको पात’ हिट भएसँगै लोक गीतका दर्शक(स्रोता फेरि एकपटक बढेका छन् । यो गीतले लोक संगीतको क्षेत्रमा कायापलट गरिदिएको छ । उक्त गीतपछि रिलिज भएका धेरै लोक गीतहरुले दर्शक(स्रोताको राम्रो साथ पाएका छन् । लोकगीतमा दर्शकले फरकपन खोजेका छन् । यस्तो नयाँपन दिने गीतहरु चलेका छन् ।

लोकगीतको क्रेज बढेसँगै ठुलो पर्दाका नायिकाहरु पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । अहिले धेरै नायिकाहरुले लोकगीतमा अभिनय गर्न सुरु गरिसकेका छन् । केही समय अगाडि लोकगीतमा नाम चलेकी एक मोडलले नेपाली चलचित्रका नायिकाले पनि लोकगीतको भिडियोमा काम गरेपछि देश विदेशमा चर्चा पाएको र विदेशमा हुने कार्यक्रममा जान पाएको बताएकी थिइन् । उनले भने जस्तै, अहिले नेपाली चलचित्रका नायिकाहरुले लोकगीतको भिडियोले छपक्कै छोएको छ ।

‘सालको पात’मा नायिका मरिस्का पोखरेलले अभिनय गरेकी थिइन् । धेरै नायिकाले उक्त गीतलाई नकारेपछि मरिस्काको हातको यो गीत आइपुगेको थियो । मरिस्कालाई यो गीतले राम्रै उचाई दियो । चलचित्रबाट भन्दा पनि लोकगीतको भिडियोमा काम गरेपछि बढी सफलता मिल्यो । उनलाई धेरैले चिने ।

मरिष्का पनि यो कुरालाई स्विकार्छिन् । मरिष्का भन्छिन्–‘मलाई चलचित्रबाट १० जनाले चिन्नुभएको थियो होला, यस गीतबाट १० हजारले चिन्नुभएको छ ।’ अहिले जता पुग्दा पनि ‘सालको पात’की मोडल भनेर दर्शकले चिन्ने गरेको मरिष्का बताउँछिन् ।

मरिष्कालाई अफर आएपछि सुरुमा उनले गीत सुनिन् । गीतको मेलोडी मन परेपछि उनले काम गर्छु भनेर भनेकी थिइन् । उनी भन्छिन्–‘अरु म्युजिक भिडियोको जसरी नै अफर आयो । गीत सुने । एकदमै मन पर्याे । लोकगीतमा पनि केही फरक थियो उक्त गीत । त्यसैले पनि गरे । आखिर राम्रै भयो ।’

अहिले मरिस्कालाई सातामा १० बढी लोकगीतबाट अफर आइरहेका हुन्छन् । गीत मन परे गर्छिन्, गीत मन नपरे नकार्छिन् । अहिलेसम्म उनले ४ वटा लोकगीतमा अभिनय गरिन् । मरिष्काको यो सफलतापछि धेरै नायिकाहरु यसतर्फ आकर्षित भएका छन् । प्रियंका कार्की, केकी अधिकारी, नीता ढुंगाना, सुरक्षा पन्त, शिल्पा पोखरेल लगायतले लोकगीतमा अभिनय गरिसकेका छन् ।

लोकगीतमा देखिएको नायिकाको यो उपस्थितीलाई उत्साहजनक रुपमा लिन सकिने संगीतकार तथा गायक वसन्त थापा बताउँछन् । उनी भन्छन्–‘नायिकाहरुले अहिले लोकगीतमा देखाउनु भएको रुचीले हामीलाई पनि खुशी बनाएको छ । अहिले लोकगीतमा गीतदेखि भिडियोसम्म नै उत्कृष्ट बनिरहेका छन् ।’

लोकगीत गुणस्तरिय बन्न थालेपछि नायिकाले प्रस्ताव स्विकार्न थालेको वसन्तले बताए । उनले भने–‘अहिले निर्माण भइरहेका लोकगीतहरु निकै गुणस्तरिय छन् । शब्ददेखि एरेन्जसम्ममा हामीले विशेष ध्यान दिइरहेका छौँ । उहाँहरु गीत सुनेर सन्तुष्ट हुनुहुन्छ र अभिनय गर्न पनि राजी हुनुहुन्छ ।’ गीतहरु राम्रो बनेकाले पनि नायिकाहरुलाई अफर गर्न सहज भएको वसन्तले बताए ।

वसन्तले तयार गरेको रेकर्ड ब्रेक गीत ‘सलको पात’लाई भने धेरै नायिकाहरुले अस्विकार गरेका थिए । यो विषयमा वसन्त भन्छन्, ‘धेरैलाई त्यो समय लोकगीत भनेपछि डर नै हुन्थ्यो । त्यसैले पनि मान्नु भएन होला । तर, केही नायिकाहरुको समय नमिल्ने भएर पनि गर्नुभएन ।’ अहिले वसन्तले तयार गरेको गीतमा अधिकांश नायिका नाच्न तयार हुन्छन् ।

लोकगीतमा नायिकाहरुको क्रेज बढ्दो छ । यसले कतिपय नायिकाहरुलाई फाइदा नै गरेको छ । कतिपय नायिकाहरु भने चलचित्रमा काम पाउन छाडेपछि लोकगीतका म्यूजिक भिडियोमा आकर्षित भएको पाइन्छ ।

तस्वीरः केकी र प्रियंकाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment