Comments Add Comment

पशुपतिनाथ मन्दिर कति धनी ?

२२ जेठ, काठमाडौं । इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल-अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरियो । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।

तर, यो प्रतिवेदनमा मन्दिरको मुल ढुकुटीमा रहेको सुन, चाँदी तथा जवाहरतको पूर्ण विवरण छैन । सर्वोच्च अदालतले मुल ढुकुटी खोल्न रोक लगाएकाले अध्ययन समितिले २०१९ सालदेखि ७५ सालसम्म अभिलेखित विवरणलाई नै आधार बनाएको छ । प्रतिवेदनअनुसार हिन्दु धर्मालम्बीहरुको आस्थाको मुख्य धरोहरमा पर्ने पशुपति मन्दिरसँग ९ किलो सुन तथा ३१६ किलो चाँँदी तथा एक अर्व ३० करोड नगद एवं करिब १८ हजार रोपनी जमिन छ ।

पशुपतिनाथको चल सम्पत्ति

पशुपतिनाथ मन्दिरको चल सम्पत्ति चार ढंगबाट राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार मुल ढुकुटीमा हालसम्मको सुन तथा चाँदी र जवाहरत राखिएको छ ।

पशुपतिनाथ भण्डार तहविलबाट प्राप्त मुुचुल्काअनुसार मुल ढुकुटीमा ९ किलो २७६.६४ ग्राम सुन, ३१६ किलो ५८६ ग्राम चाँदी मूल ढुकुटी अभिलेखबाट देखिन आएको छ । यस्तै कोषको सम्पत्ति संरक्षण तथा आर्थिक प्रशासन महाशाखाबाट प्राप्त विवरण अनुसार एक अर्व २९ करोड ३८ लाख ३१ हजार २१५ नगद बैंकमा मौज्दात छ । जसमध्ये एक अर्वको अक्षय कोष निर्माण गरिएको छ । अक्षय कोषको व्याजबाट प्राप्त हुने रकम समाज सेवामा खर्च गरिने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

कोषको बम्बे ढुकुटीको भाडा वर्तन अभिलेख र गुठीतर्फको १९५ गुठीको सुन, चाँदी तथा जिन्सीको हिसाब अझै प्राप्त हुन सकेको छैन ।

अचल सम्पत्ति

पशुपतिनाथको अचल सम्पत्तिको रुपमा जग्गा-जमीन तथा पाटी, पौवा, सत्तल पर्दछन् । हाल कोष मातहत तीन कार्यालयको जग्गा कुल १८ हजार ३४२ रोपनी रहेको प्रतिवेदनमा उल्लेख छ ।

पशुपतिनाथको स्वामित्वमा दर्ता प्रमाणित जग्गा ३ हजार ६६७ रोपनी ४ आना ३ पैसा, साविक लागतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २ सय ३१ रोपनी १० आना एक दाम छ । त्रिभुवन विमानस्थल र गल्फ कोर्समा रहेको ११६१ रोपनी, १४ आना ३ पैसा जमिन तथा तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जमिन पनि पशुपतिनाथको हो ।

यस्तै कोषले विभिन्न समयमा अधिग्रहण गरेर ल्याएको १५ सय ५ रोपनी २ आना दुई पैसा तथा सरकारले २०४६ सालमा उपलब्ध गराएको ५३४ रोपनी जमिन पनि पशुपतिनाथसँग छ । पशुपतिनाथको स्वमित्वमा ११९ वटा पाटी, पौवा, सत्तल छन् भने गुठी संस्थानतर्फ १९५ गुठी अन्तर्गत ११ हजार २६१ रोपनी जमिन पनि छ । जसमध्ये २३१ रोपनी जग्गा लगत दर्ता प्रमाणित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment