+
+
Shares

कार्यवाहक राजदूतसँग प्रधानमन्त्रीले भने– अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्छ

नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्रीले अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्ने बताएको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरे ।
  • बोल्डिनले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न तत्परता जनाइन् ।

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छिन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता भएको सचिवालयले जानकारी गराएको छ ।

सो अवसरमा प्रधानमन्त्री शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए । उनले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको समेत राजदूत बोल्डिनसमक्ष जानकारी गराए ।

साथै, उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्रीले अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्ने बताएको सचिवालयले जनाएको छ ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् ।

यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुन:स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?