+
+
Shares

असोज १५ सम्मको संसदीय क्यालेन्डरमा आएन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको असोज १५ गतेसम्मको क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश छैन।
  • भदौ १० गते तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भोटेकोशीको विनाशकारी बाढीपछि स्थगित भएको थियो।
  • क्यालेन्डरअनुसार भदौ ३० र ३१, असोज १, ५, ६, ७, १३, १४ र १५ गते प्रतिनिधिसभा बैठक बस्नेछ।

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आगामी असोज १५ गतेसम्मको क्यालेन्डर आएको छ । जसमा कुन–कुन दिन बैठक बस्ने र कुन बैठकमा के एजेण्डा अगाडि बढाउने भनेर सम्भावित कार्यसूची समावेश छ ।

तर, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषय क्यालेन्डरमा छैन ।

यसअघि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तय भएको थियो । तर सोही दिन रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएपछिको अवस्थामा त्यसदिनको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको थियो ।

त्यसयता फेरि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले सञ्चालन गर्ने भनेर तय भएको छैन ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यससम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।

नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’

तर, यस्तो प्रावधान आगामी असोज १५ गते सम्मको संसदीय क्यालेन्डरमा परेको छैन ।

क्यालेन्डरअनुसार भदौ ३० र ३१ गते प्रतिनिधिसभाको बैठक बस्नेछ । असोज १ गते, ५ गते, ६ गते, ७ गते, १३ गते, १४ गते र १५ गते बैठक बस्नेछ ।

यसबीचमा प्रतिनिधिसभामा रहेका विधेयकहरूलाई संसदीय विषयगत समितिमा दफावार छलफलका लागि पठाउने तयारी छ । यससँग सम्बन्धित रहेर सम्भावित कार्यसूचीहरू राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?