Comments Add Comment

प्रधानमन्त्रीको युरोप भ्रमण : जंगबहादुरपछिको संयोग

केपी ओलीलाई जंगबहादुरपछि लण्डनबाट पेरिस जाने संयोग

Photo Credit : फाइल तस्वीर

२२ जेठ, काठमाडौं । दुईतिहाई बहुमतप्राप्त शक्तिशाली सरकारको नेतृत्व गरेपछि अन्तर्राष्ट्रिय सम्बन्ध/सम्पर्क विस्तार गर्न अग्रसर प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न युरोप भ्रमणलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरुले ‘ऐतिहासिक महत्व’को भनेका छन् । सोहीअनुसार तयारी भइरहेको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे बुझ्न परराष्ट्र मन्त्रालय पुग्दा मन्त्री प्रदीपकुमार ज्ञवाली उच्च अधिकारीहरुसँग छलफलमा थिए । यसपटक ओली बेलायत र फ्रान्सका समकक्षीहरुको मैत्रीपूर्ण निमन्त्रणमा ती देशको औपचारिक भ्रमणमा जाँदैछन् ।

त्यसअघि उनले स्वीटजरल्याडको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नेछन् ।

सात वर्षको तयारीपछि हुन लागेको आइएलओको शतवार्षिकी समारोहमा विश्वका ४५ भन्दा बढी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुनेछन् । प्रधानमन्त्री ओली २७ जेठमा सो समारोहलाई सम्बोधन गरेर साँझ अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिन लण्डन पुग्ने छन् ।

उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार, प्रधानमन्त्री ओलीले २८ गते बेलायतकी समकक्षी टेरेजा मेसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । वार्तामा ब्यापार तथा लगानी प्रवद्र्धनलगायत द्वीपक्षीय हितका विषयमा छलफल भए पनि कुनै समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छैन ।

वार्ताका क्रममा पूर्व ब्रिटिस–गोर्खा सैनिकहरुका माग तथा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता पुनरावलोकनको विषय पनि उठ्न सक्ने सम्भावना छ । यी विषय भ्रमणको एजेण्डामा भने छैनन् । त्यस्तै, बेलायतकी महारानीसँगको भेटबारे केही बताइएको छैन । वेलायतबाट हालसम्म प्रधानमन्त्रीस्तरीय नेपाल भ्रमण भएको छैन ।

सबभन्दा पुरानो मित्र बेलायतमा १७ वर्षपछि नेपालबाट हुन लागेको प्रधानमन्त्रीस्तरीय भ्रमण विशेषतः आपसी सम्बन्ध बिस्तारमै केन्द्रित हुने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्ने र पूर्व ब्रिटिस–गोर्खा सैनिकहरुसँग पनि भेटघाट गर्ने छ ।

प्रम ओली २९ जेठमा लण्डनबाट पेरिस पुग्नेछन् । भ्रमण तालिका यसरि मिलाइएको छ कि ओलीले जंगवहादुरको इतिहास पछ्याएको देखिन्छ । बेलायतको औपचारिक भ्रमण सकेर फ्रान्सको भ्रमण गर्ने अवसर १७० वर्षपछि ओलीलाई मिलेको सल्लाहकार भट्टराईले बताए । वि. सं १९०६ मा बेलायत भ्रमणमा गएका श्री ३ जंगवहादुर राणा फ्रान्स हुँदै करिब दुईवर्षमा नेपाल फर्केका थिए । प्रम ओली भने नवौं दिन (३२ जेठ) मा स्वदेश आइपुग्नेछन् ।

प्रम ओलीले फ्रान्सको औपचारिक भ्रमणका क्रममा त्यहाँका समकक्षी एडवर्ड चार्ल्स फिलिपसँग भेटवार्ता गर्नेछन् । नेपाल–फ्रान्स दौत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा उच्चस्तरीय भ्रमणका निम्ति ओलीको पेरिस यात्रा तय भएको हो । नेपालबाट ३५ वर्षपछि यो तहको फ्रान्स भ्रमण हुन लागेको हो ।

बेलायत नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक हो भने फ्रान्स चौथो । बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध फ्रान्ससँग ७० वर्षअघि स्थापित भएको थियो ।

फ्रान्सका तत्कालीन राष्ट्रपति फ्राङ्कोइस मितेराँले सन् १९८३ मा नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट राजा वीरेन्द्रले १९९४ मा फ्रान्सको औपचारिक भ्रमण गरेका थिए । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको थिएन ।

जंगबहादुर राणापछि कृष्णप्रसाद भट्टराईले ०५६ सालमा नेपालबाट प्रधानमन्त्री तहको फ्रान्सको भ्रमण गर्ने तय भएको थियो, तर नेपाली कांग्रेसभित्रको किचलोका कारण गिरिजाप्रसाद कोइरालाले अविश्वास प्रस्ताव ल्याउन लागेपछि भट्टराईले राजीनामा दिएका थिए । त्यसबेला प्रधानमन्त्री भट्टराई फ्रान्सको ऐतिहासिक भ्रमणपछि राजिनामा दिन्छु भन्दा पनि धर पाएका थिएनन् ।

त्यो कारणले पनि अहिले केपी ओलीलाई जंगबहादुरपछि पेरिसको औपचारिक भ्रमण गर्ने नेपाली प्रधानमन्त्री बन्ने संयोग परेको छ । हुन त मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले पनि पेरिस भ्रमण गरेका थिए । तर ती दुवै भ्रमण औपचारिक नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।

उनको फ्रान्स भ्रमणका क्रममा द्वीपक्षीय सम्बन्ध बिस्तारका विविध पाटोसँगै स्याटेलाइट र सुरक्षा मुद्रण सम्बन्धी जिटुजी सम्झौताबारे थप छलफल हुने सम्भावना छ । केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फ्रान्स गएर यी दुई प्रविधि नेपालमा स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्रीको युरोप भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी सामेल हुनेछन् । जेनेभामा परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव डा. भरत पौडेलसमेत सहभागी हुनेछन् ।

प्रम ओलीको यो भ्रमणलाई कूटनीतिक क्षेत्रले महत्वपूर्ण अवसर मानेको छ । यो किन पनि भने बेलायत र फ्रान्स संयुक्त राष्ट्र संघका पाँचवटा स्थायी सदस्य मध्येका हुन् ।

ओलीले एशियामात्र नभएर युरोप–अमेरिकासँगको सम्बन्धलाई पनि महत्व दिएर भ्रमण गरिरहेको नेकपाका नेताहरु बताउँछन् । उनले ०७५ सालमा अमेरिका, कोष्टारिका, भियतनाम र कम्बोडियाको भ्रमण गरे । यो वर्ष जापानमा पनि उच्चस्तरीय भ्रमणको सम्भावना रहेको परराष्ट्र स्रोतले बताउँछ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको जेनेभा यात्रा : अफ्रिकी मुलुकसँग पहिलोपटक श्रम समझदारीको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment