Comments Add Comment

तिनाउ नदी उत्खननमा स्थानीयको बिरोध

'तीन हजार घर र पुल जोखिममा पर्दा उपमहानगर रमिते'

२३ जेठ, बुटवल । तिनाउ नदीमा भइरहेको ढुंगा र गिट्टी उत्खनन्मा स्थानीय बासिन्दाले विरोध गरेका छन् ।बुटवल उपमहानगरपालिका-१७ रानीगंजतर्फ बुटवल उपमहानगरपालिकाको स्वीकृतिमा भइरहेको उत्खनन्ले तीनहजार घरधुरी रहेको बस्ती र निर्माणाधीन पुल जोखिममा पर्ने भन्दै स्थानीय अवरोधमा उत्रेका हुन् ।

बुटवल उपमहानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वसाम कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई तिनाउको मिलनचोकघाटबाट १७ हजार सात सय २७ दशमलव ८ सय १६ घनमिटर नदीजन्य पदार्थ उपलब्ध गराउने अनुमति दिएको छ ।

बिहीबार बिहानै सयौंको संख्यामा आएका बासिन्दाको अबरोधपछि ढुंगा गिटी ढुवानीका लागि भरिएका टिपरहरु उत्खनन् स्थलमै रोकिएका छन् ।
नदी उत्खनन् गर्ने हेभी इक्युपमेन्ट र टिपरहरुलाई प्रहरीले सुरक्षा दिएको छ ।

नदीको पश्चिम रानीगंजतर्फ कटान रोक्न लगाइएको तारजालीको १८ मिटरको फाउण्डेसनको माथिल्लो सतहभन्दा तल उत्खनन् गर्न नपाइने प्रावधान बिपरीत झण्डै दुई मिटर गहिराइ बढी उत्खनन् भएकोले स्थानीयले अबरोध गरेका वडानम्बर १७ का अध्यक्ष सन्तराम रानाले बताए ।

अहिले भइरहेको उत्खनन् नरोक्ने हो भने नदीको धार पश्चिमतर्फ जाने र करोडौं खर्च गरेर गरिएको तटबन्ध भत्किनुका साथै बुटवलको मगरघाट र रानीगंज जोड्ने गरी निर्माणाधीन पुलमुनि रहेको नदी पुल भन्दा बाहिर पश्चिमतिर जाने स्थानीयको भनाइ छ ।

पुरानो तिनाउ पुलको विकल्पमा निर्माणको अन्तिम चरणमा रहेको मगरघाट पुल उत्खनन्ले जोखिममा पर्ने देखिएको छ ।

उत्खनन् गर्दा नदीको पूर्व र पश्चिम दुबैतर्फ निश्चित बिन्दु छुट्याउनु पर्नेमा वडानम्बर ११ तर्फमात्र छुट्याइएको वडानम्बर १७ तर्फ मात्रै नदी कटान हुनसक्ने भएकाले पनि अवरोध गर्नुपरेको सत्तारुढ नेकपाको बुटवल १७ का वडा अध्यक्ष गंगा ढकालले बताए ।

प्राविधिकको उपस्थितिमा उत्खनन् गर्नुपर्नेमा तयो पनि नभएको वडा अध्यक्ष रानाले बताए । ‘उपमहानगरपालिकाले पुनः प्राविधिक जाँच गरेर दुबैतर्फको सिमा छुट्टाएर स्थानीयको चित्त नबुझाएसम्म उत्खनन् हुन दिन्नौं,’ ढकालले भने ।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको नाममा अनुमति लिएपनि तोकिए भन्दा कैयौं गुणा बढी मात्रा उत्खनन् गरी बीचबीचमा अन्यत्रै जम्मा गरेर करोडौं रुपैयाँ बराबर राज्यको कर छली भइरहेको स्थानीय राजकुमार हितंगाले दावी गरे । ‘विमानस्थलका लागि भनेर भनिएको छ तर रानीगंजकै हरिलाल न्यौपाने,बलराम पाण्डेको घर नजिकै, देवीनगर रंगशाला छेउमा थुप्रो बनाएर राखिएको छ,’ हितंगाले भने, ‘विमानस्थलका लागि हो भने सिधै विमानस्थलमा पुर्‍याउनुपर्छ,बीचमा जम्मा गर्न पनि हामी दिन्नाैं ।’

राष्ट्रिय गौरवका आयोजनाका नाममा मिलेमतोमा तोकिएभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरेर अर्बौं रुपैयां राज्यलाई नोक्सान भइरहँदा पनि अनुमति दिने बुटवल उपमहानगरपालिका रमिते बनेको स्थानीय एकराज भट्टराईले दावी गरे ।

नदीजन्य पदार्थ ढुवानीका लागि चार दर्जन टिप्परलाई उपमहानगरले अनुमति दिएको छ । ‘जनप्रतिनिधि,कर्मचारी र केही दलका मान्छेको कमाई खाने थलो नै नदीनाला भएका छन्,’ आक्रोशित हुंदै भट्टराईले भने, ‘मनपरी नदी उत्खनन्मा भइरहेको बद्मासीमा अख्तियारले छानवीन गर्नुपर्छ ।’
बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले भने वातावरणीय प्रभाव मूल्यांकन गरेर नै उत्खनन् गर्न दिइएको बताए ।

रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले पनि राष्ट्रिय गौरवका आयोजनाका नाममा तिनाउ नदी उत्खनन्का क्रममा ठूलो अनियमितता गरी राज्यलाई अर्बौं रुपैयाँ नोक्सान पुगिरहेको बताउँदै आएका छन् ।

रुपन्देहीमा नदीजन्य पदार्थको कारोबार गर्ने क्रेसर उद्योगमा सत्तारुढ नेकपाका नेतासमेत संलग्न छन् ।

आर्थिक चलखेलका आधारमा नदीको जथाभावी उत्खनन्ले वातावरणमा गम्भीर असर पुर्‍याइरहेको र नदीको वहाव क्षेत्र खुम्चाएर बगरमै घडेरी बनाएर वस्ती विकास गरिंदासमेत बुटवल उपमहानरपालिका मौन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment