४ पुस, काठमाडौं । मंसिरको दोस्रो साता नेकपा एमालेको ११औँ महाधिवेशनको लागि प्रतिनिधि छनौट हुँदा रघुवीर महासेठ ‘तटस्थ’ देखिने ध्याउन्नमा थिए ।
त्यसअघि पार्टी राजनीतिका अधिकांश मोडहरूमा केपी शर्मा ओलीको पक्षमा खुलेरै लागेका महासेठ महाधिवेशनको पूर्वसन्ध्यामा किन तटस्थ देखिने प्रयासमा देखिए ? यसको जवाफ खोज्न उनले मधेमा आफूसँगै पार्टीलाई बलियो बनाउन चालेका रणनीतिक कदमहरूको समीक्षा गर्नुपर्ने हुन्छ ।
रणनीतिक मौनताको कुटनीति
महाधिवेशनको पूर्वसन्ध्यामा प्यानलहरूको चर्चा चुलिरहेको बेला महासेठ अप्रत्याशित रूपमा ‘तटस्थ’ देखिन चाहे । यसबीचमा उनी एमाले अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेलको पक्षमा खुल्न सक्ने अनुमान पनि गरे ।
यी कदमहरूलाई धेरैले उनको राजनीतिक अन्योल भनिठाने, तर वास्तवमा त्यो आफ्नो पक्षमा धेरै प्रतिनिधि जित्ने एउटा सुक्ष्म रणनीति थियो । यो कुरा महाधिवेशनको नतिजाले पुष्टि गरेको छ ।
धनुषा लगायत मधेशका जिल्लाहरूमा आफ्ना मान्छेलाई सर्वसम्मत वा चुनावी प्रक्रियाबाट प्रतिनिधि जिताउन उनले पार्टी सत्ताको शक्ति र कुटनीतिक प्रयास दुवैको सहारा लिए ।
नतिजास्वरुप, महाधिवेशनको बन्द सत्रसम्म पुग्दा उनी अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा उनको प्यानलमा मात्र परेनन्, उपमहासचिव पदमा भारी मतका साथ विजयी भए । सातजना उम्मेदवारमध्ये १३६८ मत प्राप्त गरी उनी दोस्रो वरीयतामा निर्वाचित हुन सके ।
उपमहासचिवमा विजयी ओली समूहकै उम्मेदवार लेखराज भट्टले १४५२ मत ल्याउँदा पोखरेल समूहका योगेश भट्टराईले १३४८ मत प्राप्त गरे ।
नवौं महाधिवेशनमा सचिव पदमा पराजय व्यहोरेका महासेठले दशौंमा सचिव जिते भने ११औँ महाधिवेशनबाट उपमहासचिव निर्वाचित हुनसके ।
एमाले राजनीतिका सुख-दुःख
त्यसो त, मधेशमा एमालेलाई ‘कमब्याक’ गराउन भूमिका खेल्न नसकेको भए महासेठलाई पार्टीभित्र भूमिका विस्तार त्यति सहज हुने थिएन । किनकि उनको राजनीतिक यात्रा त्यति सहज थिएन ।
धनुषाको मिथिला विहारी नगरपालिका घर भएका उनी अनेरास्ववियुको सदस्य हुँदै विद्यार्थी राजनीतिमा जोडिएका थिए ।
२०५० सालमा उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष नियुक्त भएका उनको चुनावी राजनीतिको सुरुवात त्यति सुखद् हुन सकेन ।
राजनीति संयोगहरूको खेल पनि हो । जब डा. यादव नेपालको पहिलो राष्ट्रपति निर्वाचित भए, महासेठ २०६५ को उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन सफल भए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनको नतिजा उनको लागि सुखद बनेन । उनी प्रथम राष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादवसँग पराजित हुन पुगे ।
रामचन्द्र झा मधेशको एमाले राजनीतिमा २०६५ सालतिर प्रभावशाली नेता थिए । उनी पार्टीमा छँदा महासेठसँग टसल परिरहन्थ्यो । जब २०६६ सालतिर झा नेकपा माओवादीमा प्रवेश गरे, महासेठका लागि बाटो फराकिलो बन्यो ।
झा बाहिरिएसँगै मधेसमा बढेको एमालेको रिक्ततालाई महासेठले मेहनतका साथ भरे जसबाट उनले आफ्नो शक्ति बढाउनुका साथै एमालेका लागि मधेसमा विकल्पविहीन सारथि जस्तो बने ।
२०७३ सालमा महासेठसँगै उनकी पत्नी जुलीकुमारी महतो पनि एमाले केन्द्रीय सदस्य मनोनीत भए । उनीहरू एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा स्थायी समिति सदस्य बने । २०७८ सालको १० औं महाधिवेशनमा सचिव निर्वाचित भएसँगै महासेठ स्थायी समिति सदस्य बने । जुली भने पोलिटब्युरो सदस्य छिन् ।
पछि महासेठले प्रदेश नं. २ को इन्चार्जको जिम्मेवारी पाए । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभामा मधेसबाट एमालेले ११ प्रत्यक्ष सिट जित्यो भने प्रदेशसभामा २३ सिट ल्याएर पहिलो शक्ति बन्यो भयो ।
यो नतिजाले महासेठ पार्टीमा थप शक्तिशाली बने । उनीप्रतिको पार्टी विश्वास झन् बढ्यो ।
ओलीलाई साथ, ओलीको धाप
एमाले अध्यक्ष ओलीसँगको निकटता नै महासेठको शक्तिको ‘न्यूक्लियस’ हो । संसद विघटनदेखि नेकपा विभाजनसम्मको कठिन समयमा महासेठले ओलीलाई दिएको साथले उनलाई ‘विश्वास पात्र’ बनायो । फलस्वरुप, मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनी र उनकी पत्नी दुवैले पटक-पटक मन्त्री बन्ने अवसर पाए ।
२०७४ सालको निर्वाचनमा मधेशबाट प्रत्यक्ष जित्ने एमालेका दुई सांसदमध्ये एक महासेठ थिए । उनले उक्त निर्वाचनमा धनुषा-४ बाट चुनाव जिते । तत्कालीन प्रधानमन्त्री ओलीले महासेठलाई शक्तिशाली भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिए ।
विवादमा तानिसँगै महासेठबाट ओलीले ४ मंसिर २०७६ मा मन्त्रीको जिम्मेवारी खोसे । नेकपा विभाजनको संघारमा महासेठले ओलीसँग दूरी बढाउन थाले ।
यो सबै बुझेका ओलीले जुलीलाई १० पुस २०७८ मा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनाइदिए । संसद विघटनपछि २१ जेठ २०७८ मा महासेठलाई पनि ओलीले उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी दिए ।
यद्यपि सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएसँगै दुई सातामै महासेठले मन्त्री पद गुमाए ।
पार्टीमा बढ्दो प्रभाव र राजकीय जिम्मेवारीबाट प्राप्त शक्तिको बलमा उनले २०७९ सालसम्म आइपुग्दा उनले कांग्रेसका हस्ती महेन्द्र यादवलाई पराजित गरेर आफ्नो किल्ला सुरक्षित राखे ।
शक्तिको स्रोत के ?
कतिपयले धन्याढ्य महासेठ दम्पतीको शक्ति स्रोत सम्पत्ति रहेको टिप्पणी पनि गर्नेगर्छन् । महासेठ नेपालका धनाढ्य व्यवसायी उपेन्द्र महतोका बहिनी–ज्वाइँ हुन् ।
तर, तीन दशक लामो राजनीतिक यात्रामा उनको आर्थिक हैसियत मात्रै राजनीतिक उपलब्धिको आधार बनेको निष्कर्ष निकाल्न सकिने अवस्था देखिंदैन । यसबीचमा उनले चालेका राजनीतिक कदम र मेहनतले पार्टी र सत्ता राजनीतिमा उनी सधैं हाबी देखिएका छन् ।
सँगै, ओलीसँगको निकटताले उनलाई पार्टीमा शक्ति र भूमिका विस्तारमा थप सहज बनाइदिएको छ । यसरी महासेठ पार्टीमा मधेशबाट एक्लो पदाधिकारी बनेका छन् ।
कतिपय विवाद र पार्टीभित्र आलोचनाका बीच पनि चुनावी अंकगणित र पार्टीको आन्तरिक सत्ता सन्तुलन मिलाउन खप्पिस देखिएका महासेठ एमालेको आगामी राजनीतिमा मधेशको प्रतिनिधित्व र शक्ति सन्तुलनका लागि अब एक अनिवार्य खम्बा बनेका छन् ।
प्रतिक्रिया 4