४ पुस, पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनमा कम चर्चामा आएका सचिव उम्मेदवार हुन्, इन्द्रलाल सापकोटा । जो अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलका ९ जना सचिव उम्मेदवारमध्ये एक थिए ।
बागलुुङका इन्द्रलाल यस्ता व्यक्ति हुन्, जो पार्टीका हरेक आन्दोलन र संकटमा नेकपा एमालेको मूलधारमै बसेर पार्टीभित्र प्रश्न उठाइरहे, नेतृत्वका कमजोरी देखाइरहे । यसपटक पनि उनी जेनजी आन्दोलनको मूल एजेन्डालाई स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए ।
जेनजी पुस्ताले उठाएको सुशासन, नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको मुद्दालाई एमालेले पनि समीक्षा गर्नुपर्छ भन्ने पक्षमा उनी थिए । पटकपटक सत्ताको तालाचाबी पाएको एमालेले जेनजी आन्दोलनले उठाएका मूलभूत प्रश्नबाट भाग्नु हुँदैन भन्ने नेतामध्ये एक हुन्, इन्द्रलाल ।
उनको विगत पनि प्रश्न गर्दै र रुपान्तरणको एजेन्डा उठाउँदै आएको देखिन्छ । २०५४ सालमा नेता वामदेव गौतमले पार्टी फुटाएर एमाले बनाउँदा उनले एमाले नै रोजेका थिए । जतिबेला इन्द्रलाल मालिका गाउँ विकास समितिको अध्यक्ष थिए र एमालेको बागलुङ उपसचिव ।
बागलुङमा एमालेबाट निर्वाचित ३४ जना जनप्रतिनिधि हुँदा माले र एमालेमा ५०/५० प्रतिशतका दरले बाँडिएका थिए । इन्द्रलालले एमाले नै रोजेका थिए ।
नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा भित्र चरम संकट हुँदा इन्द्रलाल गण्डकीको सांसद थिए । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा प्रदेशसभाको रोस्टममा उभिएर त्यसको विपक्षमा आवाज उठाउने एक मात्र एमाले सांसद उनै थिए ।
गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि ओलीको कदमप्रति खुसी थिएनन् तर उनी विरोध गर्ने पक्षमा थिएनन् । नेकपा विभाजनताका एमालेका ‘१० भाइ’ को पक्षमा गण्डकीमा उभिने सांसद उनी एक्ला थिए ।
२०७७ फागुन २३ गते नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टियो । एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनालहरूले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी खोले ।
गण्डकीबाट नेपालको पार्टीमा लाग्नेको संख्या शून्य हुँदा इन्द्रलाललाई तत्कालीन ५ दलीय गठबन्धनबाट रोज्जा मन्त्रालय प्रस्ताव पनि आएको थियो । उनले ओलीले गरेको संसद् विघटन गलत थियो भनिरहे तर विभाजन रोजेनन् ।
पहिले पनि एमाले भित्र गण्डकीमा ओली समूहको सधैं रजगज थियो । ओली समूहबाट नेपाल समूहले सधैं हेपिएको महसुस गर्ने भए पनि धौलागिरिको बागलुङमा भने इन्द्रलालहरूको दबदबा नै थियो । तर उनले विभाजन रोजेनन् र भने, ‘कम्युनिस्ट पार्टी भित्र लोकतन्त्र छ भने नेता फेर्न पनि सकिन्छ र सुधार्न पनि सकिन्छ ।’
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा पार्टी रुपान्तरण हुनुपर्छ, नेतृत्व पनि हस्तान्तरण हुनुपर्छ, पार्टीभित्र प्रश्नलाई जीवित राख्नुपर्छ भन्ने इन्द्रलाल महाधिवेशनमा भने कम मत ल्याउने सचिवहरूमध्ये परे ।
‘हारिन्छ भन्ने थाहा थियो, अप्ठेरोमा छौं भन्ने पनि थाहा थियो । फेरि पनि सम्झौता गरेर सबैभन्दा बढी राष्ट्रवादी तिमी हौ, सबैभन्दा जान्ने तिमी हौ ‘बा’ भनेर भनेको भए एक थान केन्द्रीय सदस्य इन्द्रलालहरूलाई आउँथ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो भन्न सकिएन र जसलाई बनाउने हो केन्द्रीय सदस्य बनाऊ ‘बा’ भनेर हाँसिहाँसी फरक मत राखेको हो । परिवर्तनको विचार बोकेको हो ।’
एमालेको राजनीतिमा यो उनको दोस्रो हार हो । यसअघि उनले २०६६ पुस ११ देखि १३ गतेसम्म सिरहामा भएको युवा संघको सातौं महाधिवेशनमा महेश बस्नेतसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
अजम्बर राई काङमाङ युवा संघको अध्यक्ष हुँदा महासचिव भएर काम गरेका इन्द्रलाल र वाईसीएलसँग जुध्न ओलीको पक्षबाट बनाइएको युथ फोर्सका कमान्डर बस्नेतबीच प्रतिस्पर्धा भएको थियो । बस्नेतलाई ओली र माधवले समेत साथ दिएका थिए भने इन्द्रलाललाई तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालको साथ थियो ।
बस्नेतसँग झन्डै १०० मतले पराजित भएका इन्द्रलाल अहिले सचिवमा त हारे नै केन्द्रीय सदस्यमा समेत गुमाए । ओलीसँग सम्झौता गरेको भए केन्द्रीय सदस्य हुन केही समस्या नहुने बताउँदै उनले फरक विचार र परिवर्तनको प्रश्न उठाएर हार्दा मजा नै भएको बताए ।
यत्रो आन्दोलन र परिवर्तनको आवाज उठ्दाउठ्दै पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म ओलीकै दबदबा हुनुलाई इन्द्रलालले कसरी हेरेका छन् त ?
‘फरक मतको झण्डा बोक्न पाइँदैन, नेतृत्वलाई प्रश्न गर्नै पाइँदैन भन्ने स्पष्ट छैन र ? कम्युनिस्ट पार्टी लोकतान्त्रिक हो भने फरक विचार बोक्नेहरूको पनि आवश्यकता छ भन्ने महसुस गर्नुपर्छ कि पर्दैन ?,’ उनको तर्क छ, ‘इन्द्रलालहरूले गरेको अपराध त के हो र ? केपी कमरेड तपाइँले पार्टी सञ्चालन गरेको शैली, प्रक्रिया ठिक भएन भनेको न हो ।’
एमाले, कांग्रेस, माओवादीमा शीर्ष नेताहरू पटकपटक नीति निर्माणमा बसे, उनीहरूको औचित्य समाप्त भयो भन्ने जेनजी आन्दोलनको मूल मर्मलाई आफूहरूले आत्मसात गरेको उनी बताउँछन् ।
अहिले एमालेभित्र केपी ओली र उनकै समूहलाई महाधिवेशनले अनुमोदन गरे पनि परीक्षा आउँदो चुनावले लिने उनको भनाइ छ । अहिले कब्जा गरे जस्तो आउँदो चुनाव कब्जा गर्न नसकिने र परिवर्तनको माग नबुझ्ने पार्टीले मुलुकको हित गर्न नसक्ने उनको जिकिर छ ।
‘हारेर बोल्यो भन्ने होला । तर विचारको झण्डा उठाउनैपर्थ्यो, हामीले उठाएको विचार सत्यको पक्षमा थियो । हेर्दै जानुहोला आन्दोलनले त्यही जाहेर गर्छ । अहिले पार्टी त कब्जा गर्नुहोला तर फागुन २१ पनि आउला, सरेछ भने केही समयपछि चुनाव आउला, त्यो बेला पनि कब्जा गर्नुपर्ने होला,’ इन्द्रलालले भने, ‘यथास्थितिमा जान हुन्छ, देश जान्छ भन्ने निष्कर्षमा म छैन ।’
इन्द्रलाल गण्डकीको भूगोलको राजनीतिमा पृथ्वीसुब्बा गुरुङ पक्षधर नेता हुन् । पृथ्वीसुब्बा ओलीकै कित्तामा उभिएर लोकप्रिय मतका साथ उपाध्यक्ष जित्दा उनले भने कमजोर मत प्राप्त गरे ।
इन्द्रलाल गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बालाई समेत सचेत गराउने नेता थिए । नेकपा विभाजनपछि पृथ्वीसुब्बाले पनि सरकारलाई टिकाउन प्रदेश प्रमुखसँग मिलेर तत्कालीन संघीय समाजवादी पार्टी भित्र खेलेर टिक्न खोजेको आरोप थियो । तर इन्द्रलालले अल्पमतमा हुँदाहुँदै त्यसो गरे आफूहरूले साथ दिन नसक्ने टेलिफोनमार्फत बताएपछि पृथ्वीसुब्बा पनि पछि हटेको एमालेकै नेताहरू बताउँथे ।
उनले पृथ्वीसुब्बालाई सधैं साथ दिइरहे । यसपटक पनि उनलाई महासचिव बनाउने गरी इन्द्रलालले कसरत गरेका थिए तर ओलीले दिएको उपाध्यक्षमै पृथ्वीसुब्बाले चित्त बुझाए ।
एमालेको जिल्ला सचिव प्रमुख हुने प्रणाली हुँदा बागलुङको नेतृत्व गरेका उनले जनआन्दोलन २०६२/०६३ मा पनि नेतृत्वदायी भूमिका खेलेका थिए । अध्यक्ष प्रणालीमा गएपछि निर्वाचनमार्फत उनी नै अध्यक्ष चुनिएका थिए भने नेकपा हुँदा पनि उनले नै बागलुङको नेतृत्व गरेका थिए ।
२०४२ सालदेखि विद्यार्थी आन्दोलनमार्फत राजनीतिक यात्रा थालेका इन्द्रलाल २०४४ सालमा राज्यविरुद्धको कसुरमा हिरासतमा परे । २०५२ सालमा युवा संघको जिल्ला कोषाध्यक्ष हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै केन्द्रीय सदस्यसम्म भएका उनी अब भने एमालेप्रति खासै उत्साही सुनिएनन् ।
उनले ओली र उनकै समूहलाई मात्र महाधिवेशनले अनुमोदन गरेर प्रश्नलाई निषेध गर्ने काम भएको महसुस गरेका छन् । ‘यो मैले हारें भनेर होइन, म कमजोर नै थिएँ हुँला । मुख्य कुरा पार्टीले परिवर्तनको मागलाई महसुस गर्यो कि गरेन भन्ने हो,’ उनको तर्क छ ।
प्रतिक्रिया 4