Comments Add Comment

वायुसेवा निगमको जापान उडान स्थगित, यात्रु नपाएको दावी

१६ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ । कम्पनीले उडान सुरू गर्ने नयाँ मिति पनि तय गरेको छैन ।

आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो । तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा यात्रु नपाएपछि तत्काल जापानमा उडान नथालिने भएको हो ।

‘जापानमा विद्यार्थी जाने सिजन जुन महिनामै सकिएको छ । साथै नेपाल आएका जापानिज पर्यटक पनि लगभग फर्किसकेका छन्,’ निगममा प्रवक्ता नवराज कोइरालाले भने,’यसै कारण टिकटको बुकिङ राम्रो आएन ।’

उनले यात्रु नै नभरी उडान गर्दा वित्तीय संकट आउने अवस्था रहेकाले तत्काल जापानमा सेाव नथाल्ने निश्कर्षमा पुगेको बताए । ‘अहिले यात्रु नभएपनि जोखिम लिएर उड्ने सक्ने अवस्थामा निगम छैन,’ उनले भने,’घाटा हुने भएपनि अहिले नउडाउन खोजिएको हो ।’

उनले अगस्टको अन्तिम र वा सेप्टेम्बर महिनाबाट भने जापानमा उडान थाल्नेबारे छलफल भइरहेको बताए । नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडान थाल्ने गरी प्रक्रिया अघि बढाइरहेकाले सेप्टेम्बरसम्म सबै विषय टुंगो लाग्ने कोइरालाले बताए ।

यसअघिका महाप्रवन्धक सुगतरत्न कशांकारले जापानमा नारिता विमानस्थलमै उडान भर्ने गरी कागजी प्रक्रिया अघि बढाएका थिए । तर, निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पुरानो योजना स्थगित गरेर जबरजस्ती ओशाका उडान अनुमति मागे ।

नेपाल एअरलाइन्सले काठमाण्डौ-ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो । सन् १९९४ देखि २००७ सम्म निगमले जापानमा उडान गरिरहेको थियो । तर, विमान संख्या कम भएपछि उडान बन्द भएको थियो । १२ वर्ष पनि उडान थाल्न लाग्दा निगमले यात्रु नै नपाउने अवस्था आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारी जापान जस्तो गन्तब्यमा पनि यात्रु नपाएको भन्दै उडान स्थगित गर्नुपर्ने अवस्था लाजमर्दो भएको बताए ।

‘बल्ल बल्ल जापानमा उडानका लागि वातावरण बनाइयो, अब वाइडबडी थन्क्याएरै राख्ने योजनाका साथ यो कदम चालियो,’ ती अधिकारी भन्छन्,’यात्रुलाई आकषिर्त गर्दै टिकट विक्री गर्न योजना पनि हुनुपर्छ । यो निगमको व्यवस्थापकीय कमजोरीको नमूना हो ।’

जापानले हप्ताको ३ वटा राउन्ड ट्रिप उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति दिएको छ ।

जापान, वाइडबडी आएपछि निगमले विस्तार गरेको पहिलो नयाँ गन्तब्य थियो । निगमले कोरिया, चीन, साउदीमा पनि उडान विस्तार गर्न प्रयास गरिरहेको छ । तर, ती देशले सुरक्षा लगायतका सवाललाई उठाएकाले निगमले सेवा विस्तार गर्न पाएको छैन ।

नेपाल वायुसेवा निगमले नयाा गन्तब्यमा जान नसकेपछि वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको दुई किस्ताको रकम बुझाएको छैन ।  कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष किस्ता बापत तिर्नुपर्ने बक्यौता डेढ अर्ब नाघेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर दुई वटा वाइडबडी विमान किनेको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियारले छानविन गरिरहेको छ भने विमान ल्याएको ११ महिना हुँदा पनि नयाँ गन्तव्यमा उडान गर्न सकेको छैन ।

जबकी विमान ल्याउनुअघि दक्षिण कोरियाको सोल, जपान, साउदी लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, गन्तब्य विस्तारमा ढिलाइ हुँदा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान भर्ने गन्तब्यमै सीमित छन् ।

अधिकारीहरुका अनुसार वाइडबडीलाई दैनिक १६ घण्टासम्म उडाउन सके निगमले ३० करोडसम्म कमाउन सक्छ । अझ टाढा गन्तब्यसम्म उडाउँदा त्यो भन्दा निकै उच्च कमाइ हुन्छ ।

यसले नियमित गन्तब्यहरुमा न्यारोबडी र वाइडबडी विमान आलोपालो उडाउनु पर्ने बाध्यता छ । वाइडबडीले दोहा, दिल्ली, बैंगलोर लगायतका गन्तब्यमा उडान गर्छ । तर, वाइडबडीले छोटा गन्तब्यमा उडान भर्दा वायुसेवा निगमलाई नाफा हुँदैन ।

केही समयअघि संस्था वित्तीय संकटमा फसेको भन्दै सरकारसँग अनुदान सहयोग मागेको थियो । तर, सरकारले निगमलाई अहिलेसम्म त्यस्तो सहयोग गर्न चाहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment