Comments Add Comment

धरानको डेंगु मोरङमा फैलिने डर, नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

डेंगु के हो ? यसबाट कसरी बच्ने ?

२४ जेठ, बिराटनगर । धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थालेको भन्दै प्रदेश सांसदहरुले चासो प्रकट गरेका छन् । धरान उपमहानगरपालिका– १५ मा गत बैसाख ३१ गते देखिएको डेंगु सुनसरीका इटहरी, रामधुनीस“गै मोरङमा पनि देखा परेको प्रदेश १ को संसदीय समितिले दाबी गरेको छ ।

सुनसरीमा तीन सातायता फैलिएको डेंगुको प्रकोप अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्रमितको संख्या १८५ पुगेको छ । दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएपछि प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको छ ।

डेंगु प्रभावित क्षेत्रको अनुगमनपछि फर्किएपछि समितिले सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको हो ।

डेंगुको संक्रमण इटहरी, रामधुनीस“गै मोरङको सुन्दरहरंैचा नगरपालिकामा पनि देखिएको अनुगमनमा गएका सांसदहरुको दाबी छ ।

धरानमा मात्रै १८५ जनामा डेंगुको संक्रमण देखिएको छ भने इटहरीमा २, रामधनुीमा २ र मोरङको सुन्दरहरैचामा १ जनामा संक्रमण देखिएको समितिको रिपोर्टमा उल्लेख छ ।

संक्रमण फैलँदै गएपछि नियन्त्रण, रोकथाम र सर्तकताका लागि कदम चाल्न निर्देशन दिएको सामाजिक विकास समितिकी सभापति सरिता थापाले अनलाइनखबरलाई जानकारी दिइन् ।

समितिले डेंगु नियन्त्रणमा आवश्यक स्रोत साधन उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमितको उपचार निशुल्क गर्न र जोखिमयुक्त क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको हो ।

समितिले प्रकोप प्रभावित स्थानको स्थलगत अध्ययन पनि गरेको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत बैशाख ३१ गतेदेखि जेठ २२ गतेसम्मको अवधिमा ४४२ विरामी जचा“उन आएका थिए । जसमा १८५ जनामा डेंगु देखिएको थियो । तीमध्ये २६ जना अझै अस्पतालमै उपचार गराइरहेका छन् । एकजना गम्भीर बिरामीलाई बिराटनगरमा सारिएको छ ।

डेंगु के हो ?

यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे जोखिपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाईबाट बच्नु नै हो । किनभने यसको टोकाई एवं संक्रमण निकै घातक हुन सक्छ । एडिस लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डा खुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

डेंगु लागेको कसरी थाहा पाउने ?

– डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ ।

– एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ ।

– ज्वरो आउँछ । तर, आम ज्वरोभन्दा यो फरक हुन्छ । किनभने डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।

– कमजोरी अनुभव हुन्छ । साथै चक्कर लाग्छ । कतिपय चक्कर लागेर बेहोस समेत हुन्छ ।

– जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ ।

– पखाला लाग्छ ।

– टाउको तथा कम्मर दुख्छ ।

– गंभिर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।

कसरी सर्तक रहने ?

१. घरको आसपास एवं टोल छेउछाउ पानी जम्मा हुन नदिने ।

२. नीमको पात बालेर त्यसको धूँवा घरमा फैलाउने ।

३. पानी राखिएको भाँडा बर्तन खुला नराख्ने ।

४. भान्सा र वाथरुमलाई सुख्खा राख्ने ।

५. झ्याल ढोकामा जाली लगाउने ।

६. शरीर पूरा ढाक्ने पहिरन लगाउने ।

७. सुतेको समयमा मच्छरदानी प्रयोग गर्ने ।

८. घर आसपासमा लामखुट्टे मार्ने औषधी छर्ने ।

के छ उपचार ?

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । उल्लेखित लक्षण देखिनसाथ अस्पताल जानुपर्छ । चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।

डेंगु भएपछि शरीरमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

१. सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खानेकुरा सेवन गर्नु हुँदैन । मसलेदार चटपटे खाना बन्द गर्नुपर्छ ।

२. अनार, गहुँको जमराको रस पिउनुपर्छ ।

३. ताजा मौसमी फल सेवन गर्नुपर्छ ।

४. नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ ।

५ भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा सेवन गर्नुपर्छ ।

६. मेवाको पातको रस बनाएर दिनमा दुई तीनपटक पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment