Comments Add Comment

हिन्दी फिल्म चलाउन नेपाली फिल्मको बलि !

सञ्चारमन्त्री भन्छन् : हलवालाको मनोमानी नीतिगतरुपमै रोक्छौं

तीन हप्ता अगाडि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रैजात्रा’ दर्शकहरुले खुबै मन पराए । समीक्षकहरुले पनि तारिफ गरेको यस फिल्ममा तेस्रो सातासम्म पनि भिड घटेको छैन । तर, बुधबारबाट एकाएक मल्टिप्लेक्सहरुले ‘जात्रैजात्रा’लाई थोरै शोमा खुम्च्याइदिएका छन् ।

जात्रैजात्राको शो अचानक घटाउनुको कारण हो, बलिउड फिल्म ‘भारत’ । सलमान खान अभिनित यो फिल्म इदको अवसर पारेर बुधबार भारत र अन्य देशहरुमा रिलिज भयो । नेपालमा भने कुनै पनि नयाँ चलचित्र शुक्रबार मात्र रिलिज गर्ने प्रचलन छ । तर, यो प्रचलन तोड्दै मल्टिप्लेक्सहरु बुधबारै ‘भारतमय’ भए । नेपाली चलचित्रलाई बलि चढाएर हिन्दी चलचित्र लगाउँदा हलवालाहरुले न जितको अनुभूति गरेका छन् ।

जात्रैजात्राले मंगलबारसम्म क्यूएफएक्स चेनमा १२ शो पाइरहेको थियो । सबै शोहरु लगभग हाउसफुल नै थिए । तर बुधबार जात्रैजात्राको शो घटाएर ६ वटामा सिमित गरिएको छ । अझै बढि अन्याय त ‘कुम्भकर्ण’ लाई भएको छ । यो चलचित्र गत शुक्रबार रिलिज भएको हो । क्यूएफएक्समा यसलाई ३ शो मात्र दिइएको थियो, त्यो पनि ‘भारत’ आएपछि खोसियो ।

केही दिन अगाडि बलिउड फिल्म ‘कलंक’ लाई मल्टिप्लेक्सहरुले बुधबार रिलिज गर्न खोज्दा चलचित्र विकास बोर्डले हस्तक्षेप गरेर रोकेको थियो । शुक्रबार मात्रै नयाँ चलचित्र रिलिज गर्नुपर्ने भन्दै उसले हलहरुलाई पत्र पठाएपछि हलवालाहरु तीन दिन पर्खिन वाध्य भएका थिए । त्यसैले भारत पनि बुधबार रिलिज हुन नसक्ने अवस्था थियो । तर, अदालतको स्टे अर्डर ल्याएर हलवालाहरु बोर्डलाई नै चक्मा दिन सफल भएका छन् ।

‘भारत’ लाई बुधबार रिलिज गर्न पाउनुपर्ने माग गर्दै केही मल्टिप्लेक्स सञ्चालकहरु काठमाडौं जिल्ला अदालतमा गुहार माग्न पुगे । अदालतले पनि बडो हतारमा ‘व्यवसायिक अधिकार हनन हुने गरी फिल्म रिलिज नरोक्न’ हचुवा आदेश जारी गरिदियो । हलवालाले सोमबार हालेको रिटमा अदालतले बडो अत्यावश्यक ठानेर त्यही दिन आदेश जारी गर्‍यो । यसैबाट थाहा हुन्छ कि नेपालमा हिन्दी फिल्मलाई कहाँ-कहाँबाट संरक्षण भइरहेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई हलवालाहरुले अदालतलाई ‘मिसगाइड’ गरेर हिन्दी फिल्म रिलिज गराउन सफल भएको बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘उहाँहरु ‘भारत’ लाई बोर्डले सेन्सरको सिफारिसपत्र नदिइएको भनेर अदालत जानुभयो । जबकि उहाँहरु मंगलबार मात्रै सेन्सरमा जाने प्रक्रियामा आउनुभएको हो ।’

कुनै पनि भारतीय फिल्मलाई नेपालमा ल्याउनुअघि वितरकले तोकिएको रकम भारतीय निर्मातालाई पठाउनुपर्छ । यसका लागि राष्ट्र बैंकको अनुमति चाहिन्छ । राष्ट्र बैंकको अनुमतिका लागि चलचित्र विकास बोर्डले सिफारिसपत्र दिनुपर्छ । खरिद गर्ने कम्पनीको सबै रेकर्डहरु हेरेर बोर्डले एक पटकमा ३० लाखसम्मको सिफारिस गर्न सक्छ । पैसा भारत पुगेको डकुमेन्ट आएपछि बोर्डले सेन्सरका लागि सिफारिसपत्र दिन्छ ।
भट्टराईका अनुसार ‘भारत’ को नेपाली वितरकले ले ७५ लाख भारुमा ‘भारत’ खरिद गरेको बताएको छ । बोर्डबाट वितरकले शुक्रबार, आइतबार र सोमबार क्रमशः ३० लाख, ३० लाख र १५ लाख गरी ७५ लाख भारुका लागि सिफारिस लगेको भट्टराईले जानकारी दिए । त्यसपछि मंगलबार मात्र उनीहरु सेन्सरका लागि पत्र माग्न आएको उनको भनाइ छ ।

भट्टराईले भने ‘उनीहरु मंगलबार सेन्सरका लागि सिफारिस माग्न आए, तर सोमबार नै अदालतमा हामीले सिफारिस दिएनौं भनेर मुद्दामा गइसकेका थिए । अदालतले पनि हामीसँग कुनै सोधखोज नगरी एकतर्फी रुपमा फिल्म रिलिज नरोक्ने ठाडो आदेश दियो । यो बिडम्बनापूर्ण छ । अदालतले आदेश दिइसकेकाले हामीले केही गर्न सक्ने स्थिति रहेन ।’

त्यसो त शुक्रबार मात्र नयाँ फिल्म रिलिज गर्ने भनेर कुनै लिखित विधान छैन । नेपाली फिल्मले हलमा पालो पाउनै नसक्ने स्थिति पैदा भएपछि करिब १२ वर्ष अगाडि निर्माताहरु आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला उनीहरुले ४३ दिनसम्म हलहरुमा नेपाली फिल्म चलाउन रोकेका थिए भने विदेशी फिल्म पनि प्रदर्शन हुन दिएनन् । त्यसपछि तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष युवराज लामाको पहलमा नेपाली फिल्मको प्रदर्शन व्यवस्थित गर्ने विषयमा हलवाला र निर्माताहरुबीच सहमति भएको थियो ।

तर, उक्त सहमतिका बाबजुद मल्टिप्लेक्सबाट निर्माता पिडित हुने क्रम रोकिएन । विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने क्रम जारी रह्यो । एउटा भारतीय फिल्मले दशौं करोड रुपैयाँ नेपालबाट लगिरहँदा नेपाली फिल्म निर्माताहरु भने हल नै नपाएर छट्पटिनुपर्ने अवस्था विद्यमान रह्यो, जुन अहिले पनि छ ।

यस सम्वन्धमा गत वर्ष निर्माता संघ र चलचित्र संघ (हलवालाको संगठन) बीच नयाँ सहमति भएको थियो । तर, सहमतिका बुँदाहरु लेख्दा हलवालाहरुले बदमासी गरे ।

भट्टराई भन्छन्, ‘त्यतिबेला म आफैं निर्माता संघमा थिएँ, चार अवसर -दशैं, तिहार, नयाँ वर्ष र तिज) मा बाहेक अरुबेला शुक्रबार मात्रै फिल्म रिलिज गर्ने भनेर हलवाला र निर्माताबीच सहमति भएको थियो । तर, त्यसलाई लिखित ड्राफ्ट गर्ने बेलामा त्यो बुँदा नै टाइप गरिएनछ ।’

उक्त सहमतिको अर्को महत्वपूर्ण बुँदा थियो, दर्शक घटे पनि एक हप्ता हलमा राख्नैपर्ने । तर, सहमतिपत्रमा या पनि छुट्यो । यसमा चलचित्र संघले गलत नियत राखेको भट्टराई बताउँछन् ।

उनले भने, ‘त्यतिबेला भुलबस टाइप गर्न छुटेको उहाँहरुले भन्नुभयो । अधुरो सहमतिपत्र आज सार्वजनिक नगर्ने र भोलीपल्ट पूर्णता दिने हामीबीच सल्लाह भएको थियो । तर, उहाँहरुले तत्कालै फेसबुकमा राखिदिनुभयो । त्यसपछि छुटेका बुँदा थप्नलाई मैले लगातार फलोअप गर्दा उहाँहरु यसमा कुरै गर्न चाहनुहुन्न ।’

क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन भने कुनै पनि फिल्म चाहेको बेला प्रदर्शन गर्न पाउने हलबालाको व्यवसायिक अधिकार हुने बताउँछन् । शुक्रबार मात्रै नयाँ फिल्म रिलिज गर्ने समझदारी विदेशी फिल्मका हकमा लागू गर्न नसकिने उनको भनाइ छ ।

उनले अनलाइनखबरसँग भने, ‘ठूला विदेशी फिल्म चाहे बलिउड वा हलिउडका हुन्, विश्वभर एउटै डेटमा रिलिज हुन्छ । दर्शकहरु उक्त फिल्म हेर्नलाई शुक्रबारसम्म पर्खेर बस्न सक्दैनन् ।’

उनले नेपाल बहुभाषिक देश भएको भन्दै हिन्दी बोल्ने र बुझ्ने जनसंख्या ठूलो भएकाले उनीहरुले बलिउड फिल्म रिलिज हुनेवित्तिकै हर्न पाउनुपर्ने बताए ।

‘यदि भारतीय फिल्मलाई फलानो दिन मात्रै रिलिज गर्न दिने भनिन्छ भने त्यो समावेशीताको सिद्दान्त विपरित हुन्छ,’ उनले दावी गरे ।

तर, हाउसफुल चलिरहेको ‘जात्रैजात्रा’ लाई हटाएर हिन्दी चलचित्र लगाउँदा ‘विदेशीलाई काखा स्वदेशीलाई पाखा’ भएन र ? भन्ने प्रश्नमा उनले भने, ‘जात्रैजात्रालाई हटाइएको छैन, शो मात्रै घटाइएको हो । अर्को गतिलो फिल्म नआउँदा यो फिल्मले शो ओगटिरहेको थियो ।’

उनले बाहिर चर्चा भएजस्तै जात्रैजात्रा हाउसफुल नभएको पनि दावी गरे ।

  यता जात्रै जात्राका निर्माता रवीन्द्र सिंह बानियाँ भने मल्टिप्लेक्सबाट आफ्नो फिल्म अन्यायमा परेको बताउँछन् । हाल अष्ट्रेलियामा रहेका उनले बुधबार फेसबुकमा स्टाटस लेख्दै मेरिटअनुसार आफ्नो फिल्मले शो नपाएको गुनासो गरेका छन् ।

उनको स्टाटस यस्तो छः

‘आ-आफ्नो व्यापार व्यवसाय हो । आफूखुशी गर्न पाइएला । तर व्यवसायिक धर्म भन्ने पनि त हुन्छ होला । हामीले जति डिजर्भ गर्छौं त्यति मागेका हौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुले मेरा भारत महान भनेको पनि देखियो । हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मन खुशी शो राखे पनि दर्शकको मन खुश नहुँदा कुन हालत भयो, देखेकै हो । हल कब्जा गरेर एक दिन होला । तर हल कब्जा त दर्शकले गर्नुपर्ने होला । मेरिट अनुसार पाउनुपर्ने शो नपाए पनि हामीले पाउनुपर्नेभन्दा धेरै माया दर्शकबाट पाएका छौं । अन्तिम सत्य दर्शक नै हुन् ।’

सलमान खानको स्टार पावरका कारण ‘भारत’ ले पहिलो दिन भिड बटुले पनि यो फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छैन । भारत र पाकिस्तानबीचको सम्वन्धमा केन्दि्रत रहेको हुनाले नेपालीहरुलाई फिल्मको विषयवस्तुले छुँदा पनि छुँदैन । त्यसैले दोस्रो दिनबाटै नेपालमा भारतको व्यापार खस्किएको छ । यो फिल्म एक अर्ब २५ करोडको लागतमा बनेको हो । समिक्षकहरुले फिल्मलाई मिश्रति प्रतिक्रिया दिए पनि भारतीय वाहेकका दर्शकले खासै मन पराएका छैनन् ।

बोर्ड पुनरावेदनमा जाने

विकास बोर्डका अध्यक्ष भट्टराई जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाने बताउँछन् ।

‘भारत त रिलिज भइहाल्यो, त्यसलाई केही गर्न सक्ने कुरा भएन । तर, भविष्यमा फेरि यस्तो स्थिति नआओस भनेर हामी अदालतमा पुनरावेदनमा जाने तयारीमा छौं । यसबारे भोली बोर्ड वैठकले निर्णय लिन्छ,’ उनले भने । नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य भएकाले विदेशी उत्पादनलाई पूर्ण बन्देज लगाउन नसकिए पनि सकारात्मक विभेदको सिद्दान्त लिएर स्वदेशी फिल्मलाई संरक्षण दिन सकिने उनको तर्क छ ।

‘हामी अदालतको आदेशविरुद्ध जान त सक्दैनाैं, तर कुनै पनि विदेशी फिल्मलाई रिलिज हुन दिने/नदिने कुरा अदालतको कार्यक्षेत्रमा पर्छ । अदालतले आगामी दिनमा यो तथ्य मनन गर्ने अपेक्षामा छु,’ उनले भने ।

कहिलेसम्म खुल्ला छोड्ने ?

नेपालमा विदेशी फिल्महरुलाई कुनै किसिमको बन्देज छैन । त्यसैले अरबौं बजेटमा बन्ने विदेशी फिल्मसँग ठाडै जुध्नुपर्दा नेपाली फिल्म क्षेत्र नै धराशयी बनिरहेको छ । वर्षमा करिब एक सयवटा फिल्म बन्दा ४-५ फिल्मले मात्रै लगानी उठाउँछन् । फिल्ममार्फत वर्षेनी अरबौं रुपैयाँ नेपालबाट भारत गइरहेको छ ।

हरेक देशमा शक्तिशाली सेन्सर बोर्ड हुन्छन् जसले विदेशी फिल्मको सुक्ष्म अवलोकन गरेर मात्रै प्रदर्शन अनुमति दिइन्छ । तर, नेपालको सेन्सर बोर्डले केवल औपचारिकता मात्रै निभाउँछ । भारतको महिमामण्डन गर्ने र अन्य देशको छवि बिगार्ने खालका ‘राष्ट्रवादी’ फिल्महरु पनि नेपालमा निर्वाध प्रदर्शन भइरहेका छन् । कतिपय नेपाल र नेपालीहरुको बेइज्जति गर्ने विषयवस्तु भएका फिल्मलाई समेन कुनै रोकावट छैन ।
अर्कोतर्फ भारतीय फिल्मले नेपाली समाजमा गरिरहेको सांस्कृतिक अतिक्रमणको पाटो अझै डरलाग्दो छ । हिन्दी फिल्ममार्फत भारतीय भाषा, संस्कृतिको बढ्दो प्रभाव नेपाली समाजभित्र देखिएको छ ।

सञ्चारमन्त्री भन्छन्ः विदेशी फिल्म नियन्त्रण गर्छौं

सञ्चारमन्त्री गोकुल बास्कोटा हलवालाहरुले मनोमानी गरिरहेकाले त्यसलाई रोक्न सरकारले नीतिगत तयारी गरिरहेको अनलाइनखबरलाई बताए ।

‘हो, नेपाली चलचित्र विदेशी फिल्मबाट पिडित छ । अब हामी वर्षमा यति दिन नेपाली फिल्म चलाउनैपर्छ भन्ने खालको नयाँ नियम ल्याउँदैछौं, यसको कार्यान्वयनमा हामीलाई सबै पक्षले साथ दिनुपर्छ ।’

उनले हलवाला मोटाइरहेको र चलचित्रका निर्माताहरु दुब्लाइरहने परिस्थिति लामो समय नरहने पनि बताएका छन् ।

बास्कोटा भन्छन्, ‘हामीले काठमाडौंमा बक्स अफिस लागू गरेपछि सिनेमाको व्यापार पारदर्शी भएको छ, र हलवालाले हचुवा रिपोर्ट दिने सिलसिला अन्त्य भएको छ । बक्स अफिसलाई काठमाडौं बाहिर पनि बिस्तार गर्दैछौं । नेपाली फिल्मको संरक्षण गर्नै दायित्व र अधिकार सरकारको हो । विदेशी फिल्म रोक्न मिल्दैन, तर स्वदेशी फिल्म उद्योगलाई संरक्षण गर्न अवश्य मिल्छ । हामी त्यो बाटोमा जान्छौं । वर्षमा निश्चित दिनसम्म नेपाली फिल्म चलाउनैपर्ने नीति बनाउँदैछौं । यसमा आउने बाधा अवरोधलाई छिचोल्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment