Comments Add Comment

यस्तो छ सञ्चालन तयारीमा रहेको कान्छो पाँचतारे होटल

२३ जेठ, काठमाडौं । काठमाडौंमा पर्यटकको धेरै चहलपहल हुने ठाउँ ठमेल । सगरमाथा र पोखरापछि सम्भवतः बढी ब्राण्डिङ भएको नेपाली पर्यटकीय स्थान पनि ठमेल नै होला । ठमेलको मध्यभागमा ठडिएको छ छायाँ सेन्टर ।

एउटै व्यापारिक कम्प्लेक्सभित्र अनेक सेवा भएकाले यसलाई ‘मिनी ठमेल’ पनि भनिन्छ । १० पुस २०७५ देखि सञ्चालनमा आएको छायाँ सेन्टरमा मल्टिप्लेक्स थिएटर, ब्राण्डेड सामानका पसल, ब्याङ्क्वेट–सेमिनार हल, क्यासिनो, जीम, एयरलाइन्स, ट्राभल कम्पनी, बैंकसहित दजनौं सेवा एउटै छानामुनि उपलब्ध छन् । यहाँ अब आतिथ्य सेवा पनि थपिएको छ ।

अन्तर्राष्ट्रिय चेन होटेल ब्राण्ड मेरियटसँग आवद्ध रहेर ‘अलफ्ट’ ले छायाँ सेन्टरबाट सेवा प्रारम्भ गर्दैछ ।

मेरियट इन्टरनेशनलको छानोभित्र रहेका साढे दुई दर्जन ब्राण्डमध्येको एक ब्राण्ड हो अलफ्ट । ‘अलफ्ट काठमाडौं ठमेल’ नाम दिइएको यो होटल पाँचतारे स्तरको हुने छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेले जानकारी दिए । ‘छिट्टै सफ्ट ओपनिङ हुँदैछ, त्यसपछि पूर्ण रुपमा सञ्चालनमा आउँछ,’ उनले भनेका छन् ।

मेरियटले २ वैशाखमा नक्सालस्थित काठमाडौं मेरियट होटेल सञ्चालनमा ल्याएको थियो । त्यसको दुई महिनाभित्रै अर्को नयाँ पाँचतारे होेटल सञ्चालन गर्न लागेको हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै व्यवसायीले आतिथ्य उद्योगमा लगानी ल्याउन थालेका थिए । उनीहरुको लक्ष्य नै भ्रमण वर्ष २०२० हो । होटल निर्माणमा करीव साढे ५ अर्ब रुपैयाँ खर्च भएको बताइएको छ ।

‘सीटी भ्यू’सहित १७७ वटा कोठा

अलफ्ट काठमाडौं ठमेलमा कूल १७७ वटा कोठा छन् । हरेक कोठाबाट ‘सीटी भ्यू’ देखिनु यस होटलको विशेषता हो ।
निर्देशक पाण्डे भन्छन्, ‘पर्दा लगाएर कोठाभित्र गुम्सिनु पर्दैन, अलफ्टका हरेक कोठाबाट काठमाडौं शहर र यस आसपासका आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।’

१४ तलाको छायाँ सेन्टरमा ६ तलासम्म सिनेमा हल, पसल र कार्यालय अटाएका छन् । त्यसमाथि होटेल शुरु हुनेछ । होटलेका कोठा काठमाडौंका घरभन्दा अग्लो स्थानमा छन् । त्यसैले हरेक कोठाबाट शहरी दृश्यावलोकन सम्भव छ ।

नेपालमा पाँचतारे मान्यता प्राप्त होटेलको संख्या एक दर्जन नाघेको छ । तर, पछिल्लो केही समय पाँचतारे होटेल थपिएका थिएनन् । भैरहवामा दुई वर्ष अगाडि सञ्चालनमा आएको टाइगर प्यालेस रिसोर्ट दशकयता खुलेको नयाँ पाँचतारे होटल थियो । तर, काठमाडौं उपत्यकाभित्र भने मेरियटले एक साथ दुई पाँच तारे होटल सञ्चालनमा ल्याएको छ ।

मेरियटका लक्षित ग्राहक अन्तर्राष्ट्रिय व्यापारीहरु हुन् । पाण्डे भन्छन्, ‘छायाँ सेन्टर जुन अवधारणामा खुलेको छ, त्यसअनुसार हाम्रा मुख्य पाहुना विजनेससँग सम्बन्धित नै हुनेछन् ।’ तर पर्यटकीय मौसममा भने आम पर्यटकबाट होटेल अलग बस्न सक्ने छैन । छायाँ सेन्टरले पर्यटकीय सिजनमा पर्यटक र अफसिजनमा विजनेसम्यानलाई स्वागत गर्ने रणनीति अपनाउँदैछ ।

अन्तर्राष्ट्रिय चेन ब्राण्ड भएका कारण अलफ्ट र मेरियटलाई पाहुनाको त्यति समस्या नहोला । किनकी चेन ब्राण्डको प्रवर्द्धन अन्तर्राष्ट्रियस्तरमै तय हुन्छ ।

छायाँ सेन्टरको १४ औं तलामा स्वीमिङ पुल छ । त्यही तलामा जिमखाना, रेष्टुराँ र बार छ । होटेलले सभा–सम्मेलनका माध्यमबाट पनि विदेशी पाहुना आकर्षित हुने अपेक्षा गरेको छ । पार्टीका लागि ७ सय जनासम्म अट्ने हल निर्माण गरिएको छ भने सभा–सम्मेलनका लागि साढे दुई सय जना अट्ने हल छ ।

छायाँ सेन्टर कुल १५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment