Comments Add Comment

अपडेट : हावाहुरीबाट ज्यान जानेको संख्या २ पुग्यो, करिब १०० घाइतेको उपचार हुँदै

हुरीले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

२४ जेठ, काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । १०० भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु डगौराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

जनजीवन प्रभावित

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएकाे पीडितहरुले बताएका छन् ।

सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानकाे सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

हुरीले कैलालीमा विद्युतका पोलसमेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार, टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

कञ्चनपुरमा पनि हुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ । क्षतिको यकिन विवरण प्राप्त नभए पनि कैयन स्थानबाट घरको छाना उडाएको, रुख भाँचिएको तथा बिजुलीको पोल ढलेको जानकारी प्राप्त भएको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment