Comments Add Comment

जापानमा यसरी लगिँदैछ नेपाली कामदार, पहिलो चरणमा नर्समात्रै

परीक्षा कहिले ?

२६ जेठ, काठमाडौं । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् ।

अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश पठाउने आश्वासन दिएर ठगी गरेका तथ्यहरु पनि बाहिर आएका छन् । सम्झौता भइसकेको विषयलाई पनि गुपचुप राख्दा जापान जाने आशामा बनेका धेरै युवा ठगिने क्रम बढेको हो ।

सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरु हुन्ः कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग ।

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग -एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग -एसएसडब्लू -आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

यसबाहेक समझदारीका अन्य विषयहरुलाई गोप्य राखिएको छ । सबैलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? यस विषयमा हामीले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई  प्रश्न गर्‍यौं । जसमा भुसालले खुलाए कि पहिलोपटक जापानले पहिलो लटमा नर्सहरुलाई मात्रै लैजानेछ ।

भुसालसँग गरिएको छोटो संवादः

जापान पठाउने नाममा बजारमा ठगी व्याप्त हुँदा वैदेशिक रोजगार विभाग के हेरेर बसेको छ ?

शैक्षिक परामर्श केन्द्र र भाषा सिकाउने संस्थाहरुको नियमन शिक्षा मन्त्रालयले गर्छ । समस्या देखिएपछि शिक्षा मन्त्रालयलाई यसबारे ध्यानाकर्षण सहित अनुगमनका लागि अनुरोध गरिरहेका छौं । हामीले पनि कसैलाई जापानको नाममा ठगिन नदिन सचेतनामूलक जानकारी र सूचनाहरु दिइरहेका छौं । सरकारले कोही पनि युवाले त्यसरी ठगिन नपरोस् भनेर टुंगो लागेका सबै विषय पारदर्शी ढंगले बाहिर ल्याइरहेको छ । जापानसँग भएको ‘सहकार्यको समझदारी’ ले पनि धेरै हल्लालाई चिरेको छ ।

तर, जापानी भाषा परीक्षाबारे व्यापक अन्योल त छ कायमै छ नि ?

हिजो कति कुरा कुटनितिक महत्वको भएकाले तत्कालै बाहिर ल्याउन असजिलो भएको पनि हो । अब त्यस्तो अवस्था रहँदैन । हामीले जापानको भाषा परीक्षाबारे बजारमा रहेका अन्योल चिर्न सुरु गरिसकेका छौं । अब कसैले भाषाकै अन्योलका कारण ठगिने अवस्था आउने छैन । जापानी भाषा परीक्षाबारे जापान सरकारले हामीलाई पनि भर्खरै स्पष्ट गरेको छ । अब यो सूचना र सन्देश सबैमाझ पुर्‍याइनेछ ।

जापानको भाषा परीक्षा कोरियन भाषा परीक्षा जस्तै सबै क्षेत्रको लागि एकैपटक हुन्छ कि हुँदैन ?

जापानको हकमा कोरियाको भन्दा फरक हुन्छ । भाषा र सीप परीक्षा १४ ‘क्याटेगोरी’ का लागि अलग-अलग हुन्छन् । सबैको एकैपटक नहुने भनिएको छ ।

परीक्षा कसरी सञ्चालन गरिन्छ ?

जापान फाउन्डेसनले कामदारको आधारभूत भाषा परीक्षा लिन्छ । परीक्षा अहिलेको कोरियन जस्तो कागजमा हुँदैन, कम्प्यूटरमा आधारित हुन्छ । प्रोमेटि्रकले जाँचको व्यवस्था गर्छ । त्यसमा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ ।

यो वर्ष कुन-कुन क्षेत्रमा कहिले-कहिले परीक्षा होला त ?

सम्भवतः आगामी अक्टोबर (असोज १५ देखि कात्तिक १५) मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुन्छ । यसलाई ‘नर्सिङ केयर जापाजिन ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ भनिनेछ । साधारण जापानीमा लेख्न र बोल्न गर्न सक्नेले यो जाँचमा भाग लिन सक्छ ।

२० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए-नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ ।

जापानी भाषाको परीक्षा कुन तहको हुन्छ?

हामीलाई प्राप्त अनौपचारिक जानकारी अनुसार ‘एन-४’ तहको भाषा परीक्षा लिइन्छ ।

एकपटक गएपछि जापानमा कति वर्ष काम गर्न पाइन्छ ?

काम गर्न पाउने अवधिबारे कार्यावधि बन्नेछ । विस्तृत विवरण जापानको श्रम मन्त्रालयको वेबसाइटमा हुन्छ । असल कामदारहरुले अर्को ५ वर्ष काम गर्न पाउँछन् ।

जापान जान कामदारलाई खर्च कति लाग्ला ?

भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुन्छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने हुँदा अहिले यकीन भन्न सकिने अवस्था छैन ।

कुन योग्यता पुगेका र कति वर्षसम्मका व्यक्ति जान पाउने हो ?

शैक्षिक योग्यता तोकिएको छैन । उमेर १७ वर्ष माथि हुनुपर्छ ।

यो बर्ष नर्सिङ क्षेत्रमा कति जना जान पाउलान् त ?

जापानले अबको ५ वर्षमा ६० हजार नर्स भित्र्याउने भनेको छ । नेपालबाट कति लैजाने  भन्ने संख्या निश्चित छैन । समानुपातिक हिसाबले पनि बढीमा १३०० जना नर्स एक बर्षमा जान पाउँछन् कि भन्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment