३० भदौ, काठमाडौं । संखुवासभालगायत देशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभा, भक्तपुर, मकवानपुर, उदयपुर, दैलेख र जाजरकोटको सीमा क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको चाँगुनारायण स्टेशनमा १११ मिलिमिटर वर्षा मापन भएको छ । यो दुवैलाई धेरै भारी वर्षा भएको मानिन्छ ।
यस्तै, मकवानपुरमा ८४.४, उदयपुरमा ५९ र दैलेख-जाजरकोटको सीमा क्षेत्र कट्टी स्टेशनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।
आज पनि देशभर मौसम बदली हुने र केही ठाउँमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया 4