Comments Add Comment

विराटनगरमा पनि भेटिए डेंगुका बिरामी

डेंगु नियन्त्रणका लागि प्रदेश सरकारबाट ८० लाख विनियोजन

२९ जेठ, विराटनगर । विराटनगरमा पनि डेंगुको संक्रमण भेटिएको छ । विराटनगर महानगरपालिका १ र ३ नम्बर वडामा दुई जनामा डेंगुको संक्रमण भेटिएको हो । संक्रमितहरुको विराटनगर अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धरानमा डेंगुको प्रकोप मोरङ र सुनसरीमा फैलिएको छ । गत वैशाख ३१ गतेबाट फैलिएको डेंगु रोगबाट संक्रमितको संख्या ३६८ पुगेको छ । मंगलबार मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८९ बिरामी थपिएको बताइएको छ । डेंगुको संक्रमण इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकामा पनि देखिएको छ ।

केही दिनअघि मोरङको सुन्दरहरैचा नगरपालिकामा संक्रमण देखिएको थियो । लगतै पथरी शनिश्चरे नगरपालिकामा पनि भेटिएको थियो । मंगलबार विराटनगरमा दुई जनामा संक्रमण देखिएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महासाखाका अधिकृत सुवास नेपालका अनुसार महानगरपालिकाले डेंगु नियन्त्रणकालागि स्प्रे गर्ने र डेंगु सार्ने लामखुट्टेको बासस्थान नस्ट गर्ने काम सुरु गरेको छ । मंगलबार संक्रमण देखिएपछि बुधवार विराटनगर- १, २, ३ र १० नम्बर वडामा मालाथिन फगी स्प्रे काम सुरु गरेको उनले बताए ।

बुधवारबाट डेंगुको लार्भा पहिचान टोली पनि परिचालन भएको छ । मोरङको पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेगुका सक्रमित भेटिएका छन् ।

डेंगु नियन्त्रण गर्न प्रदेश सरकारबाट ८० लाख बजेट

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि ८० लाख बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक बर्षकै बजेटबाट धरानबाट फैलिएको डेंगु रोग नियन्त्रणकालागि ८० लाख रुपैयाँ निकासा गरी कार्यन्यनमा पठाउन लागिएको मुख्यमन्त्री शेरधन राईले बताए ।

प्रदेश सभाको बैठकमा उठेको जवाफको उत्तर दिने क्रममा उनले डेंगु प्रभाावितको उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई थान भेन्टिलेटर उपलब्ध गराउने तयारी रहेको बताए ।

डेंगु रोग नियन्त्रणमा आवश्यक कदम चालिसकेको बताउँदै उनले संक्रमण फैलिएपछि ५० लाख रुपैयाँ तत्कालै विनियोजन गरिएको जानकारी दिए ।

डेंगु फैलिएपछि प्रदेशसभाको सामाजिक विकास समितिले प्रभावित क्षेत्रमा आवश्यक स्रोतसाधन परिचालन गर्न, विरामीको उपचारमा खर्च निःशुल्क गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारले डेंगु संक्रमितको उपचार निशुल्क गर्ने बताइसकेको छ ।

के हो डेंगु  ?

डेंगु रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ । एडिज प्रजातिको लामखुट्टे जोखिपूर्ण हुन्छ । गर्मी एवं वषर्ाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाईबाट बच्नु नै हो । यो लामखुट्टे विहानी पख बढी सकि्रय हुन्छ ।

एडिस लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डा खुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

उपचार कसरी गर्ने ?

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु डेंगुको उपचार पद्धती हो । डेंगुको संक्रमण भएको शंका लागेमा स्वास्थ्य परीक्षण गरी चकित्सकको सम्पर्कमा रहनुपर्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

१. सादा भोजन गर्ने । धेरै नुन भएको खानेकुरा सेवन गर्नु हुँदैन्

२. अनार, गहुँको जमराको रस पिउनुपर्छ ।

३. ताजा मौसमी फल सेवन गर्नुपर्छ ।

४. नरिवल पानी र सफा पानी धेरै मात्रामा पिउनुपर्छ ।

५ भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा सेवन गर्ने

६. मेवाको पातको रस बनाएर पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment