Comments Add Comment

३ वर्ष ढिलाइ हुँदा तामाकोशीको लागत २६ अर्ब बढ्यो, पुसभित्र सकिएला ?

२८ जेठ, काठमाडौं । २०६५ सालमा निर्माण थाल्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोशीको लागत निर्माण अवधिको ब्याजसहित ४७ अर्ब ५० करोड अनुमान गरिएको थियो । तर, पछिल्लो समयमा अनुमानित लागत आकाशिएर ७३ अर्ब ६८ करोड पुगेको छ । हालसम्मको प्रक्षेपण अनुसार आयोजना सकिदासम्म २५ अर्ब ८९ करोड  थप लागत लाग्ने देखिएको छ ।

४५६ मेगावाट क्षमताको यो आयोजना २०६५ सालमा सुरु हुँदा ब्याज बाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान गरिएको थियो । तर, निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेक लागत ५१ अर्ब ५४ हाराहारी पुग्ने देखिएको छ ।

सुरुमा यो आयोजना आर्थिक वर्ष ०७३/७४ भित्रै सम्पन्न गर्ने लक्ष्य थियो । त्यसपछि नयाँ भाका तोकियो, २०७५ असार । त्यस अवधिमा पनि भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि २०७६ को पुससम्म सक्ने नयाँ लक्ष्य राखेर काम गरिँदैछ । आयोजनाको बाँधस्थल तयार भएर परीक्षणको क्रममा छ ।

भूकम्प र नाकाबन्दीका कारण निर्माणमा विलम्ब भएको बताउँछन् तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ । तर, त्यति मात्रै हैन, अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि आयोजनाको लागत बढेको उनको भनाइ छ ।

साथै हाइड्रोमेकालिकल तर्फको भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम सम्पन्न नगर्दा आयोजनाको लागत थप बढ्ने अवस्था आएको श्रेष्ठले बताए ।

भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपर्‍यो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए । यसबीचमा आयोजनाले डिजाइन पनि परिवर्तन गर्‍यो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो ।

निर्माण अवधि ३ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दावी छ ।

आयोजना निर्माणका लागि भएका सम्झौतामा केही भुक्तानी डलर र युरोमा गर्ने व्यवस्थाले पनि लागत बढाएको हो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आँकलन गरिएको थियो । तर, अहिले ११० भन्दा माथि पुगेको छ । यसैका कारण मात्रै कम्पनीलाई ७ अर्ब ६ करोड अतिरिक्त भार थपिएको छ ।

हालै प्रकाशित तामाकोशी हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक प्रतिवेदनअनुसार आगामी पुससम्म काम सकिएमा आयोजनाका लागि उठाएको ऋणमा २१ अर्ब ७४ करोड रुपैयाँ ब्याज मात्रै खर्च हुनेछ । सुरुआतमा १२ अर्ब ५० करोड ब्याजमा खर्च हुने अनुमान थियो । तर, गत असारसम्म आयोजनामा १५ अर्ब ८ करोडको ब्याज पुँजीकरण गरिसकिएको छ ।

आयोजनामा थप ढिलाइ हुन नदिन नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका छन् । उनको उपस्थितिले कामको गति पछिल्लो सयममा केही बढेको छ ।

माथिल्लो तामाकोशी आयोजना निर्माणका लागि चार वटा विदेशी कम्पनीले जिम्मा लिएका छन् । ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दै गर्दा लागत वृद्धि हुँदै गएको छ । समयमै आयोजना सम्पन्न नहुँदा प्रशासनिक खर्च पनि बढेको छ ।

यो स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो । आयोजनामा कर्मचारी सञ्चयकोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब लगानी छ । सरकारको ११ अर्ब आठ करोड लगानी छ । १० अर्ब ५९ करोडको स्वपुँजीसहित यो आयोजना सुरु गर्दा ४१ अर्ब ६७ करोडको वित्तीय स्रोत सुनिश्चित गरिएको थियो । तर, आयोजना नबन्दै ठूलो वित्तिय भार कम्पनीमाथि थपिएको छ ।

आयोजनामा ऋण लगानी गरेको नेपाल सरकारसहित कर्मचारी सञ्चय कोषले उच्च ब्याजदर कायम गरेका थिए । गत वर्ष १२ प्रतिशतसम्म पुगेको सञ्चय कोषको ब्याजदरलाई हाल ११ प्रतिशतमा झरिएको छ । नेपाल सरकारले दिएको ऋणको ब्याजदर पनि उच्च भएको भन्दै प्राधिकरणले ब्याजदर घटाउन पहल गरिरहेको छ ।

आगामी पुस मसान्तमा एउटा युनिट परीक्षण गर्ने गरी आयोजना बनिरहेको छ । आयोजना पुसभन्दा पछि धकेलिए अझै वित्तिय भार थपिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment