Comments Add Comment

माइतीघर मण्डलामा नागरिक खबरदारी, कसले के भने ?

२४ जेठ, काठमाडौं । नागरिक स्वतन्त्रताको माग गर्दै माइतीघर मण्डलामा खबरदारी गरिएको छ । मानवअधिकारकर्मी, नागरिक समाज लगायतले शनिबार बिहान माइतीघर मण्डलामा भेला भएर संविधान पालनका लागि खबरदारी गरेका हुन् ।

लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान गर्न, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन, मानवअधिकार आयोगमाथि हस्तक्षेप नगर्न र न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले लोकतन्त्रलाई खुम्चाउने सरकारको कार्यशैलीविरुद्ध खबरदारी गरिएको बताए । संविधान, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभुत मुल्य मान्यताविरुद्ध सरकारले विधेयकहरु ल्याएकाले विरोधमा उत्रनुपरेको उनले बताए ।

वरिष्ठ पत्रकार हरिहर विरहीले सरकार स्वयम् संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सिमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भुमिकामा देखिएको भन्दै तत्काल संविधान विपरितका कार्य बन्द गर्न चेतावनी दिए । ‘संविधानले दिएका अधिकारहरु उपभोग गर्न नपाइरहेको अवस्था मात्रै छैन । संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सिमित र नियन्त्रित गर्ने, हस्तक्षेप गर्ने काम भएको छ । यसलाई बन्द गरियोस् ’ उनले भने ।

खबरदारी अभियानमा सहभागी चिकित्सक डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई र डाक्टर बिमला शाक्यले लोकतन्त्रका आधारभुत मुल्य र मान्यतालाई विर्सेर अधिनायवादी शैलीमा सरकार हिँडेको आरोप लगाए ।

मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु सरकारले संविधान विपरित ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दै आएका छन् । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment