Comments Add Comment

पूर्वसैनिक अधिकृतको बोलीमा लगाम लगाउँदै सरकार

बस्न्यात भन्छन्–सिभिलियनलाई केको सैनिक ऐन ?

२९ जेठ, काठमाडौं । अवकाश प्राप्त सैनिक अधिकृतले सरकारको सार्वजनिक रुपमै विरोध गर्न थालेपछि रक्षा मन्त्रालयले नेपाली सेनाको जंगी अड्डालाई कडा निर्देशन दिएको छ । मन्त्रालयको ‘रक्षा निर्देशन समिति’को बैठकले जथाभावी बोल्ने पूर्वसैनिक अधिकृतको निगरानी गर्न निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार जेठ पहिलो साता यो निर्णय गरिएको थियो । निर्णयपछि नेपाली सेनाको जंगी अड्डालाई रक्षा मन्त्रालयले पत्राचार गर्दै पूर्वसैनिक अधिकारीलाई सचेत रहन निर्देशन दिएको छ ।

निर्देशनपछि जंगी अड्डाले भूपू सैनिक आचरण सम्बन्धी कार्यविधि बनाउने समेत तयारी थालेको स्रोतको भनाइ छ । समितिले गरेको निर्णयको चौथो बुँदामा भनिएको छ, ‘सेवाबाट निवृत्त सैनिक अधिकृतले वहालमा रहँदा प्राप्त गरेका गोप्य, सूचना सार्वजनिक गर्न नपाउने विषयलाई स्मरण गराइन्छ ।’

सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा २ सँग सम्बन्धित अनुसूची २ तथा दफा १६ रहेको सपथमा भनिएको छ, ‘आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारीमा आएको कुरा म पदमा वहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अन्य अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।’

यो विषयलाई ख्याल गर्न निर्देशनमा भनिएको छ । अन्यथा, प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

पूर्व तथा वहालवाला सैनिक अधिकृतलाई पुस्तक प्रकाशन गर्न जंगी अड्डाको स्वीकृति अनिवार्य लिन पनि सचेत गराइएको छ ।

सेनाको मर्यादामा आँच आयोः जंगी अड्डा

सेनाको जंगी अड्डाले पनि उच्च तहका सेवा निवृत्त सैनिक अधिकृतले दिएको अभिव्यक्तिले संगठनको मर्यादामा आँच पुगेको ठहर गरेको छ ।

पूर्वसैनिकलाई सन्देश जारी गर्दै सेनाले भनेको छ, ‘विगत केही समययता उच्च तहका सेवा निवृत्त सैनिक व्यक्तिबाट दिइएका भ्रामक अभिव्यक्तिबाट स्पष्ट रुपमा नेपाली सेनको मर्यादामा गम्भीर प्रभाव पर्न गएको देखिन्छ ।’

पूर्वसैनिक अधिकृतबाट संगठन र सरकारको धारणा विपरित आउने लेखन र अभिव्यक्तिले सेनाप्रतिको धारणा निर्माण गर्ने जनाउँदै सेनाले संवेदनशील विषयमा सजग रहन सचेत गराइएको छ ।

त्यस प्रकृतिका लेख तथा अभिव्यक्तिलाई सर्वसाधारणले संगठनको धारणाको रुपमा ग्रहण गर्ने जंगी अड्डाको बुझाइ छ ।

यसअघि २२ चैतमा सेनाले दुई पूवउच्च अधिकृतलाई कारबाही गरेको थियो । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातले सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा सचेत गराइएको थियो । बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको खरो आलोचना गरेका थिए ।

सिभिलियनलाई केको सैनिक ऐन ?: बस्न्यात

रक्षा मन्त्रायलको निर्देशनपछि कारबाहीमा परेका पूर्वसहायक रथी बस्न्यातले चाहिँ अहिलेसम्म जंगी अड्डाको पत्र बुझेका छैनन् ।

उनले अनलाइनखबरसँग भने, ‘अवकास पाइसकेपछि ६ महिनासम्म ऐन ध्यानाकर्षण हुनसक्छ । त्यसपछि म सिभिलियन हुँ ।’

जंगी अड्डाको चिठीसँग सरोकार नभएको बताउँदै उनले आफू भ्रष्टचारविरुद्ध बोल्न नछाड्ने बताए । उनले आफूलाई किन पत्राचार गरिएको भन्ने विषयमा पनि मतलब नभएको टिप्पणी गरे । बस्न्यातले भने, ‘म हिजो पनि बोलिरहेको थिएँ । आज पनि बोलिरहेको छु । शनिबार अर्को कार्यक्रम छ, त्यहाँ पनि बोल्छु ।’ उनले अवकास पाइसकेपछि आफूलाई कारबाही गर्ने भनेको जिल्ला प्रशासन कार्यालय र प्रहरी बताएको बताए ।

‘अहिले मलाई सीडीओ कार्यालयको पूर्जी लाग्छ । तर, रक्षाको लाग्दैन’, उनले सुनाए, ‘हो, राष्ट्रिय खतराको कुरा गर्न पाइन्न । यसमा म सचेत छु । तर, भ्रष्टाचार र बेथितिविरुद्ध आमनागरिक बोल्न पाउँछन् । म पनि पाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment