Comments Add Comment

एन्फामा धेरै गणेश थापा जन्मिए, त्यसैले म बाहिरिएँ

२८ जेठ, काठमाडौं । कर्माछिरिङ शेर्पा टिमले अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध चलाएको ‘चेन्ज एन्फा’ अभियान चलाउनेमध्ये एक थिए नवीन पाण्डे ।

सुरुमा सानो समूहमा रहेको यो अभियान विस्तारित मात्र भएन, एन्फाको नेतृत्वमा समेत आयो । तर वर्ष दिन वित्नासाथ अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिका प्रमुख पाण्डेले राजीनामा दिएपछि नयाँ तरंग आएको छ ।

किन एन्फा छाड्नुपर्‍यो भन्ने प्रश्नमा पाण्डेले अनलाइनखबरसँग भने, ‘हिजो जे गलत भयो भनेर विरोध गरेर आयौं, त्यही गल्ती गर्न थाल्यौं । हिजो एउटा गणेश थापा थिए, अहिले १६/१७ जना गणेश थापा हुन खोजे । त्यसैले अलग भए ।’

प्रस्तुत छ पाण्डेको धारणा जस्तोको त्यस्तै :

अखिल नेपाल फुटबल संघ (एन्फा) मा परिर्वतन हुनुपर्छ भन्ने सिद्धान्तबाट हामी निर्देशित थियौं । सामूहिक नेतृत्व, पारदर्शीता, सुशासनको नाराले हामी सबैलाई आकर्षित गर्‍यो । म पनि त्यो मध्ये एक हुँ ।

कुनै एक व्यक्ति भन्दा पनि सबैको योगदान छ, महत्वपूर्ण भनेको कर्माछिरिङ शेर्पाले छरिएर रहेकाहरुलाई एक ठाउँमा ल्याउनुभयो । हामी पनि कसरी कर्माछिरिङलाई नेतृत्वमा लैजाने भनेर लाग्यौं । हामी जति धेरै मान्छे भए पनि नेतृत्व नभएको भए त केही हुँदैनथ्यो नि । त्यसैले उहाँलाई हामीले आफ्नो नेता मान्यौं । अहिले पनि उहाँ हाम्रो नेता हो । म एन्फामा हुनु र नहुनुमा फरक पर्दैन ।

तर एन्फाको नेतृत्व लिएपछि समस्या सुरु भयो । कर्माछिरिङ शेर्पा, सबैलाई मिलाएर लैजानुपर्छ भन्नुहुन्छ । मेरो प्रश्न, सबैलाई मिलाएरै लैजानु थियो भने गणेश थापासँगै मिलेर काम गरेको भइहाल्थ्यो नि । यत्रो लडाई किन गर्नु पर्थ्यो र ?

उहाँसँग आज पनि व्यक्तिगत दुश्मनी छैन । तर सबैलाई मिलाएर जाने नाममा हिजो आफूले उठाएका पारदर्शीता, सुशासन जस्ता एजेण्डा छोड्न सक्दिनँ । हिजो राष्ट्रिय टिममा कसलाई छान्नेदेखि कसलाई जागिर दिने हरेक कुरामा मापदण्ड हुनुपर्छ ।

भोलि कसैले प्रश्न गर्दा जवाफ दिन सक्ने त हुनुपर्‍यो नि । पारदर्शिता, जवाफदेहीता नहुने हो भने हामी आउन किन जरुरी भयो ? फुटबल त हिजो पनि चलेकै थियो । टेक्निकल सेन्टरहरु बनेकै थिए । एउटा निश्चित समयसम्म लिगहरु पनि भइरहेकै थिए । हिजो पनि ग्रासरुट फुटबल भएकै थिए । हामी आएपछि त्यसमा के परिर्वतन भयो त ?

हिजो गणेश थापाले जुन कस्मेटिक कुरा गर्थे, आज हामी पनि त्यही गरिरहेका छौं । ४५ जिल्लामा ग्रासरुट फुटबल छ, यो छ, त्यो छ । तर मेरो प्रश्न, सबै जिल्लामा नियमित भइरहेको छ कि छैन ? प्रभावकारी छ कि छैन ? भन्ने हो ।

हिजो गणेश थापा हुँदा जे गलत भयो भनेर विरोध गरेर आयौं, त्यही गल्ती हामीले पनि गर्न थाल्यौं । हिजो एउटा गणेश थापा थिए, अहिले १६/१७ जना गणेश थापा हुन खोजे । यो मलाई स्वीकार्य भएन, त्यसैले अलग भए ।

अहिले बालगोपाल महर्जनलाई टेक्निकल डाइरेक्टर बनाएर फिफाको कार्यक्रममा सिफारिस गरिएको छ । मेरो बालगोपालसँग समस्या होइन तर, उनलाई के आधारमा पठाइयो ? मापदण्ड त चाहियो नि । किनकी उनी त टेक्निकल डाइरेक्टर होइनन् । हो भने कुनै सम्झौता त भएको हुनुपर्ने हो । त्यो नियुक्ति गर्दा मापदण्ड होला । तर सबैलाई मिलाउने नाममा कागजमा मिलाएर पठाइयो ।

उपेन्द्रमान सिंह एन्फा उपाध्यक्ष हुन् । हालै मात्र गोवामा गएर इन्स्ट्रक्टरको कोर्ष गरेर आउनुभयो । यसमा पदाधिकारी जाने होइन होला नि । हामीसँग अरु क्षमतावान व्यक्ति नभएर हो त ? त्यो पनि होइन । यो त पदको दुरुपयोग भएन र ?

खेलाडीहरुको कथा सबैलाई थाहा छ । तीन जना खेलाडी बन्द प्रशिक्षण छोडेर बाहिर निस्कदा पनि कुनै कारवाही गर्न सकेनौं । मैले त्यतिबेला भनेको थिएँ कि ओलम्पिक सहभागिता मात्र हो, त्यसैले उनीहरुलाई कारबाही स्वरुप त्यता नपठाउँ र हरेक दिन ३/४ घन्टा फिटनेश गर्न लगाऊँ । साफ आउँदै थियो । उनीहरु फिट हुँदा त राष्ट्रिय टीमलाई नै फाइदा पुग्थ्यो । अध्यक्षले कारबाही गर्छु भन्नु भएको पनि थियो तर खोइ किन हो कारबाही भएन ।

मेरो बुझाइमा राष्ट्रिय टीमको प्रदर्शन अपेक्षित नहुनुमा एन्फाको पनि कमीकमजोरी छ ।

यसमा खेलाडी छनोटदेखि प्रभाव परेको छ । टेक्निकल कमिटीमा पुरानै मान्छे भएकाले जमेर काम भएको छैन । अनुशासनमा पनि कमी छ । केही सुधार पनि भएका छन् । खेलाडीले हिजो पनि दालभात पाउँथे । आज एउटा केरा बढी दिइन्छ । फिटनेस उपकरण, विदेशी प्रशिक्षक ल्याइएको छ । समयमा प्रशिक्षण हुन्छ । तर कमजोर कमजोर देशसँग प्रतिस्पर्धा गराउने लक्ष्य लिएर त भएन नि । राम्रो हुने हो भने त आफू भन्दा राम्रोलाई हेर्नु पर्छ ।

पारदर्शितासम्बन्धी अर्को उदाहरण हेरौं । हिजो गणेश थापाले निर्णय पुस्तिका पढ्न दिएनन् । मनलाग्दी निर्णय गरे भनेर विरोध गर्‍यौं । विधान अनुसार १५ दिन भित्र कार्यकारी समितिलाई निर्णय पुस्तिका पठाउनु पर्छ । तर अहिले पछिल्लो बैठकको मात्रै निर्णय आएको छ । त्यो भन्दा अगाडि के निर्णय भयो थाहा छैन ।

ए डिभिजन लिग खेल्ने क्लबहरुलाई तयारी खर्च समयमै दिइएन भनिन्थ्यो । अहिले पनि खेल सकिएको दुई तीन महिनापछि पाउँछ भने त कसरी भयो परिवर्तन ?

हिजो घोषणा गरिएका पुरस्कार समयमै दिन सकिएन भनियो । तर यो वर्ष पनि उत्कृष्ट खेलाडीहरू पुरस्कार पाउन सकिरहेका छैनन् । पैसा रोकिएको प्रायोजकको कारणले होला । तर जिम्मा त एन्फाले लिनु पर्‍यो नि । त्यो त खेलाडीको समस्या होइन । बरु कार्यकारी समितिको बैठक खर्च कटाएर दिएको भए के हुन्थ्यो ?

जस्तो फ्रेन्चाइज लिग गर्ने भनिएको थियो । खै कहाँ भयो त ?

हामीले आर्थिक नियमावली, कर्मचारी नियमावली बनायौं । अडिट कम्प्लाइनस् कमिटी बनेको छ तर, अडिटर राख्न भर्खर ओके भनेछन् । फेरि अडिटर कम्प्लाइनस् कमिटीमा पनि महासचिव राख्नुर्छ भन्न थालेका छन् ।

एउटा क्लबको महासचिव रेफ्री कमिटीमा हुनुहुन्छ । रेफ्री भनेको त सबैको हुनुपर्ने होइन र ? अनुशासन समितिबाट विजयनारायण श्रेष्ठले राजिनामा गरिसक्नु भएको छ । कसैलाई वास्ता छैन ।

त्यसैले बालगोपाल वा कुनै गोपालसँग मेरो व्यक्तिगत समस्या होइन । तर जो मान्छेले अहिले पनि हिजोकै जस्तो गतिविधि गरिरहेका छन्, उनीहरुसँग समस्या हो ।

पात्र फेरियो प्रवृत्ति फेरिएन । पद्धति हिजो कै रह्यो ।

यस्तो किन भयो भनेर फर्किएर हेर्दा हामीलाई एन्फाको तत्कालीन नेतृत्व जसरी पनि हटाउनु थियो । त्यसका लागि सबैलाई आफूतिर आउन भनियो र सहमति गरियो । शायद त्यसबेला हामी जित्यौं, त्यसपछि यसरी काम गर्छौं भन्ने सोचिएन । यसका लागि हामी सबै उत्तिकै जिम्मेवार छौं, म कर्माछिरिङलाई मात्र दोष दिन चाहन्नँ ।

तर अध्यक्ष भइसकेपछि कर्माछिरिङको पहिलो प्राथमिकता फुटबल र एन्फा हुनुपर्ने हो । हरेक कुरामा मिलाएर जानुपर्छ भनेर सम्झौता गर्न थालेपछि विग्रियो । हिजो गणेश थापा हुँदा जे गलत भयो भनेर विरोध गरेर आयौं, त्यही गल्ती हामीले पनि गर्न थाल्यौं । हिजो एउटा गणेश थापा थिए, अहिले १६/१७ जना गणेश थापा हुन खोजे । यो मलाई स्वीकार्य भएन, त्यसैले अलग भए ।

कर्माछिरिङसँग चित्त नबुझेको अर्को कुरा छ, चुनावमा सबैलाई समेट्दा धेरै शक्तिकेन्द्र बनेका छन् । तर कुन चाहिँ नेपाली फुटबलको विकासका लाागि नभई नहुने हो, छुट्याउन पर्‍यो । त्यो उहाँले सक्नु भएन । हिजो शुद्धिकरण अभियान चलाउनहरू छायामा परे, पछि आएकाहरुलाई मात्र म्यानेज गर्नेतिर लाग्नुभयो ।

उहाँ बारम्बार सबैलाई मिलाएर लैजानुपर्छ, हिलो सफा गर्दा अलिअलि लाग्छ भन्नुहुन्छ । एक वर्षम्म यो सुन्दासुन्दा म अघाएँ । त्यसैले एन्फाबाट अलग भएँ ।

अहिले हेर्दा हामी चलाएको शुद्धीकरण अभियान पुरा भएको रहेनछ, हामी छिटो आएछौं भन्ने पनि लाग्छ । तर परिवर्तन भनेको प्रक्रिया हो । सत्तामा आउनु मात्रै ठूलो कुरा होइन ।

एन्फाको नेतृत्वमा इच्छाशक्ति हुने हो भने म मात्र होइन, म जस्ता अरुले पनि सहयोग गर्छन् । भोलि वातावरण राम्रो भयो भने कर्माछिरिङ शेर्पालाई सहयोग नगर्ने भन्ने छैन ।

अहिले एन्फामा भएको कमीकमजोरी सुधार्न आवश्यक छ । नजिकको तीर्थ हेला भने जस्तै । म त्यही बसेर भन्दा नसुनिने भयो । त्यसैले बाहिर बसेर आवाज उठाउन सकिन्छ भनेर आए । एन्फाबाट राजीनामा दिनुका अर्थ म फुटबलबाट बाहिर जाने त होइन । एन्फालाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा निरन्तर लागिरहन्छु ।

बाहिर बसेर निरन्तर खबरदारी गरिरहन्छु । हिजोकै शुद्धिकरण अभियानलाई निरन्तरता दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment